लघुकथा : डस्टबिन


लघुकथा : डस्टबिन

देशको अवस्थाबारे चिन्तित केही युवा विद्वान्हरूले जमघट भएर देशको अबस्था र विकासको बारेमा छलफल चलाए । उनीहरू कुनै राजनीतिक दलसँग आबद्ध होइनन । स्वतन्त्र रुपमा निष्पक्ष भएर देशको कायापलट गर्नुपर्छ भनि लागिपरेका युवा हुन । उनीहरूको मनमा कुनै निजी स्वार्थ थिएन । उनीहरू मिलेर घनीभूत छलफल गरेर सुदृढ, कार्यान्वन योग्य, राष्ट्रको सम्मुनत गर्ने आधार सहित योजना तथा प्रस्ताव तयार गरी सरकार समक्ष उपस्थित भए ।

सरकारलाई पनि उक्त प्रस्ताव तथा योजना चित्त बुझे जस्तो गरी समर्थन भाव ब्यक्त गरे ।

त्यहाँ उपस्थित सबै युवा विद्वानहरूले पेश गरेको योजनाको सम्बन्धमा एक एक गरी स्पष्ट पारे र देश र जनताको उन्नतिको आधारशिला हुने तर्क पेश गरे । सरकारलाई पनि उक्त प्रस्ताव तथा योजना चित्त बुझे जस्तो गरी समर्थन भाव ब्यक्त गरे । त्यही साँझ सरकारले सल्लाहकारसँग छलफल गरे ।

आर्थिक सल्लाहकार : यस्तो प्रस्ताव पास भए त हाम्रो खल्तीको हालत बिग्रिन्छ त सरकार !

राजनीतिक सल्लाहकार : अर्को पार्टीसँग आवद्ध युवाहरुको यो प्रस्ताव स्वीकृत भए भने हाम्राे राजनीतिको अवस्था त कोमामा पुग्छ !

योजना बिज्ञ : यस्ता महत्वकाँक्षी योजना बनाएर देशको हालत उभो लाग्ला त सरकार !

सबै सल्लाहकारको सल्लाह सुनिसकेपछि सरकारले युवा विद्वानकाे विचारले सुसज्जित योजना सहितको कागज कच्याङकुचुङ गरी पोको पारी मिल्काइदिए डस्टबिनमा ।

——————-


 अङ्कुर चन्द
कञ्चनपुर