सरकारले अलोकतान्त्रिक काम गरेको देउवाको आरोप


सरकारले अलोकतान्त्रिक काम गरेको देउवाको आरोप

काठमाडौं । वैशाख २५
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अलोकतान्त्रिक काम गरिरहेको आरोप लगाएका छन् । आज नेपाली कांग्रेस संसदीय दलको बैठकमा देउवाले सरकारका असंवैधानिक कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले समेत साथ दिएको बताएका छन् ।

उनले सरकारले लोकतान्त्रिक मूल्य विपरित काम गरिरहेको छ । यसैले यो सरकारको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको छ । विश्वासको मत फेल गराएर, अविश्वासको प्रस्ताव पास गराउने कुरा बताए ।

आज पार्टीका सांसदलाई पछिल्लो राजनीतिक अवस्थाबाट जानकारी गराउने क्रममा उनले कानुनविद र अन्य दलसँग छलफल गरेर आफूले आवश्यक कदम चाल्ने बताएका छन् । देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए चुनावको घोषणा गर्ने संकेत गरेपनि उनलाई यो अधिकार नभएकोले सरकार गठनको सबै प्रक्रिया पुगेर मात्र चुनाव हुने बताए ।

उनले प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ को १ देखिका दफाहरू सक्रिय भएर ७६ (२) अनुसार गठबन्धन सरकारका लागि पहल भइरहेको जानकारी दिए ।