राष्ट्रिय कविता महोत्सव २०७८ का लागि रचना माग


राष्ट्रिय कविता महोत्सव २०७८ का लागि रचना माग

काठमाडौं । वैशाख २५
नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव २०७८ का लागि नेपाली कविहरूलाई रचना पठाउन सूचना जारी गरेको छ। प्रतिष्ठानले उक्त महोत्सवका लागि समसामयिक विषयमा आधारित, मौलिक एवम् अन्य कतै प्रकाशित नभएको, १५० शब्द सम्मको कविता माग गरेको छ । प्रतिष्ठानले कविहरूले आफ्नो कविता यही जेष्ठ २५ सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा पठाउन अनुरोध गरेको छ । प्रतियोगी कविहरूले हालसालै खिचिएको एक प्रति पासपोर्ट साइजको फोटोसँगै सम्पर्क ठेगाना र सम्पर्क नम्बर अनिवार्य रुपमा कविता पृष्ठमा संलग्न गरेर पठाउनु पर्ने जनाइएको छ ।

कविता महोत्सवमा प्राप्त कविता मध्येबाट प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई स्वर्ण, रजत र कास्यपदक सहित क्रमशः पचास हजार, चालिस हजार एवम् तीस हजार नगद रकम प्रदान गरिने छ । नेपाल प्रज्ञा प्रतिष्ठानको आफ्नो ६४ औं वार्षिकोत्सवको अवसरमा यही २०७८ असार ९ गते कविता महोत्सव सम्पन्न हुन गइरहेको छ ।