अख्तियार पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश


लेखक : लेखापढी      २४ बैशाख २०७८, शुक्रबार १७:५७ मा प्रकाशित     
अख्तियार पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटार जग्गा प्रकारणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले केही दिनअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिटसमेत दायर गरेका थिए ।

बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको घटनामा संलग्नको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उनी सरहका अरु प्रतिवादीहरु साधारण तारिखमा वा धरैटीमा छुटेको भन्दै सर्वोच्च अदालतले मानवीय दृष्टिले अनुचित हुने भन्दै धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । आरोपित बस्न्यात ६९ वर्षको जेष्ठ नागरिक भएको, उनमा मुटुको समस्या, उनी र परिवारका सदस्यहरुसमेत कोभिडबाट संक्रमित भई उपचार गराइरहेकाले थुनामुक्त गर्न आदेश दिएको हो ।

मंसिर २८ गतेदेखि उनी डिल्लीबजार कारागारमा पुर्पक्ष थुनामा छन् । डिल्लीबजार कारागारमा रहेका बेलामा उनलाई मुटुमा समस्या देखिएपछि चावहिलको ओम अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनलाई कोरोना संक्रमण पनि देखिएको छ । उनीमात्रै होइन, परिवारका सबै सदस्य कोरोनाबाट संक्रमित छन् । यही अवस्था देखाउँदै उनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका थिए ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!