गण्डकीका एमाले जिल्ला अध्यक्ष पार्टी एकताको पक्षमा


गण्डकीका एमाले जिल्ला अध्यक्ष पार्टी एकताको पक्षमा

पोखरा । वैशाख २४
नेकपा (एमाले) का गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरू पार्टी एकताको पक्षमा उभिएका छन् । अहिले भइरहेको अन्तरसंघर्षले पार्टी कमजोर भइरहेको भन्दै उनीहरूले एकताबद्ध एमालेका पक्षमा उभिएका छन् । उनीहरूले नेकपा (एमाले) जीवन्त पार्टी भएको, कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको विचार व्यक्त गरेका छन् । पार्टी अध्यक्षहरूले विगत वर्षहरूदेखि भएका अन्तरविरोधका कारण पार्टीलाई क्षति पुगेको महसुस गरेको बताएका छन् ।

गण्डकीका पार्र्टी अध्यक्षहरूले आदर्श, मूल्यमान्यतामा रहेर पार्टी एकताका पक्षमा उभिन, कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्ता र जनताप्रतिको जवाफदेहितालाई आत्मसात गर्दै हाम्रा आदरणीय नेताहरूलाई एकताबद्ध भएर पार्टीलाई जोगाउन अनुरोध गर्दछौं भनेका छन् ।

नेकपा (एमाले) को पार्टी एकता जोगाउन अन्तिम पहल भइरहेका बेला जिल्ला अध्यक्षहरूको विज्ञप्ति आएको छ ।