राष्ट्रिय आविष्कार केन्द्रका बैज्ञानिक महाबिर पुनले मागे खालि अक्सिजन सिलिण्डर


राष्ट्रिय आविष्कार केन्द्रका बैज्ञानिक महाबिर पुनले मागे खालि अक्सिजन सिलिण्डर

 नेपालमा काेराेना संक्रमण दर बढेसँगै राष्ट्रिय आविष्कार केन्द्रले खाली अक्सिजन सिलिन्डर बटुल्न थालेकाे छ।

साेमबार युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत् हिमाल चढ्ने र ट्रेकिङ कम्पनीहरुसँग रहेकाे खाली अक्सिजन सिलिन्डर आविष्कार केन्द्रलाई उपलब्ध गराउन आग्रह गरेका हुन्।उनले जम्मा भएकाे खाली सिलिन्डर भरेर काेराेना संक्रमितलाई दिने बताएका छन्।

‘हिमाल चढ्नेहरुले प्रयोग गर्ने खाली अक्सिजन सिलिन्डरहरुमा ४ केजी अक्सिजन जाने रहेछ र २ समयमा अक्सिजन दिँदा ६ घण्टा जति पुग्ने रहेछ। ती सिलिन्डरहरुमा अक्सिजन भरेर कोरोना बिरामीहरुलाई उपलब्ध गराउने छौं,’ उनले लेखेका छन्। नेपालमा केही दिनयता कोरोना संक्रमण दरले कीर्तिमान कायम गर्दै आएकाे छ। सोमबार हालसम्मकै धेरै सात हजार ३८८ जनामा संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा पीसीआर परीक्षण गरिएकामध्ये ४४.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। यो दैनिक संक्रमणदर हालसम्मकै उच्च हो। यसअघि आइतबार ४४.२० प्रतिशतमा संक्रमण पुष्टि हुँदा पहिलो लहरको कीर्तिमान तोडिएको थियो। आज आइतबारभन्दा ०.१५ विन्दुले संक्रमणदर बढेको छ। सरकारले संक्रमणको दर अझ बढ्ने आकलन सार्वजनिक गर्दै सतर्कता अपनाउन सबैमा अपिल गर्दै आएको छ।

भारतमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे र नेपालमा पनि उस्तै अभाव सिर्जना हुनथालेपछि अक्सिजन अभाव हुने आकलन गरिएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उद्योगमा अक्सिजन आपूर्तिमा रोक लगाउन निर्देशन दिएका छन्। सोमबार देशबासीलाई सम्बोधन गर्दै उनले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिएको पनि जानकारी दिए।