रह शर्माको कविता, भयो माई


रह शर्माको कविता, भयो माई

तिम्रो अन्तर्भाव मिश्रित ममता
पानी जस्तो लेप लगाएको देखियो
प्यार रीतिपरम्परा जस्तो अनुभूत भयो
वात्सल्य प्रेम त
‘माईको काख अरुको लाख’ को
नक्कली स्वरुप बोकेर
आएको नक्कली किस्सा पो भयो ।

तिमी मेरी साँच्चिकै माई हौ
या ख्याल ख्यालकी नै हौ ।
मेरो चेत खुलेदेखिको
तिम्रो र मेरो अन्तरसम्बन्धबाट
ऐले म झस्किनुपर्ने भयो ।

त्यसैले भयो
माई तिम्रो मायाबाट
जब म मुक्त हुन चाहन्छु,
र पवित्र वात्सल्य भाव बोकेको
साँच्चैकी माईको खोजीमा
ताकती बनिरहन
निरन्तर लागिरहन
मनमा अठोट जागृत भएको छ ।

(रह शर्मा भरतपुर, चितवनमा बसोबास गर्दै नेपाली साहित्यका विभिन्न विधामा लेखन गरिरहनुभएको छ । हालसालै उहाँको विभावना नामक निबन्ध कृति प्रकाशित भएको छ ।)