तीर्थराज भट्टको कविता जीवन संयोग


लेखक : लेखापढी      २० बैशाख २०७८, सोमबार २२:५७ मा प्रकाशित     
तीर्थराज भट्टको कविता जीवन संयोग

मान्छे भैकन जन्मनु जगतमा यो चेतना पाउनु। 
मान्छे मित्र हुनू र प्रीत रहनू संगीत यो गाउनु।।
यो संयोग कथा छ दुर्लभ सखे ! यो फेरि पाईन्छ  कि ?
अर्को जन्म भएर मानिस यही के प्रीत लाइन्छ कि !!१!!

बग्छन छङ्छङ बेगमा नदनदी  बोकेर पञ्चामृत ।
फुल्छन सौरभ बागमा वनमहाॅ पार्ने यि रोमाञ्चित ।।
मेरा सुन्दर डेउडा र करखा यी गीत गाइन्छ कि !
अर्को जन्म भएर मानिस यही के प्रीत लाइन्छ कि !!२!!

नाच्छन् रोहिणि कृतिका रजनिको चक्मन्न आकाशमा ।
पार्छन् दिव्य प्रकाश नै रवि-शशी प्रभातमा साँझमा ।
भै नक्षत्रसरी  अपार खुसिमा के नित्य नाचिन्छ कि ?
अर्को जन्म भएर मानिस यही के प्रीत लाइन्छ कि !!३!!

बर्सिन्छिन् झरि  हर्षसाथ लयमा आषाढका पन्ध्रमा ।
देखी सुन्दरता जलन्  प्रकृतिको गर्ने स्वयं चन्द्रमा ।।
पस्कूॅ की म संस्कृतिका विविधता, या दृश्य चाहिन्छ कि ?
अर्को जन्म भएर मानिस यही के प्रीत लाइन्छ कि  !!४!!

बाआमा, सहगामिनी र घरका बाजेबजै, सन्तति,
मामा औ ससुरालका स्वरुपमा हो दृढ यो सम्पति ।
बग्ने  नित्य यही कुटुम्बसरिताको साथ चाहिन्छ कि ?
अर्को जन्म भएर मानिस यही के प्रीत लाइन्छ कि  !!५!!

रात् दिन्  शीतलता छरेर रहने मेरा बरै-पीपलु
भोकै पो बसुँला नि बिर्सुॅ कसरी प्यारो छहारी बरु !
फुल्दो यौवनकासॅगै प्रणयको उद्गार हालिन्छ कि ?
अर्को जन्म भएर मानिस यही के प्रीत लाइन्छ कि !!६!!

यस्तो उत्तम जन्मको भुवनमा चाहिन्छ बाँच्ने कला
सम्हालेर विवेकसाथ सुखका या शोकका यी पल ।
बर्षाको जलबिन्दुझैँ पलकमा फेरिन्छ जो जीवन
बाँचौ प्रीति कसेर आपसमहाॅ फुल्नेछ यो जीवन  !!७!!


तीर्थराज भट्ट


(तीर्थराज भट्टको जन्मस्थान बैतडी जिल्ला हो । हाल उहाँ काठमाडौंमा रहेर अध्यापन कार्यमा सक्रिय हुनुहुन्छ । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने भट्टको कविता आज हामीले प्रस्तुत गरेका छौं ।)
100% LikesVS
0% Dislikes
Spread Your Love !!!