सन्जीव राईको कविता तिमीबिनाको काठमाडौं


सन्जीव राईको कविता तिमीबिनाको काठमाडौं

तिमी नभएको मौका छोपेर
खुब हेप्न थालेको छ अचेल
काठमाडौंले मलाई ।

तीनपाने रक्सीभन्दा कडा
तिम्रो सम्झनाको मातले
दिउँसै टन्न मातेर
मनभरि लर्खराउँदै
त्यो अग्लो धरहरा हेर्छु,
स्वाभिमान र पवित्रताको प्रतीक
त्यो सोझो स्तम्भ पनि
अहिले नै ग्वार्लम्म ढलेर किचुँलाझैँ गर्छ मलाई ।

रत्नपार्कको मान्छेको यो घुइँचो
कति रमाइलो हुन्थ्यो
सँगै हिड्न नसकेर भीडमा
तिमीकहाँ म कता पुग्दा
बस, ट्याक्सी ट्राफिक पुलिस
यो भीडको ठेलमठेल
यी फुटपाथका पसलहरू
रमाइलो मानेर हेर्दै
पार्क रेष्टुरेन्टको छतमा
सिमसिम पर्ने पानीलाई पनि राम्ररी छेक्न नसक्ने
बडेमानका रङ्गीन छातामुनि
अलिअलि भिजेको
हाम्रो पारदर्शी मनको हरेक अङ्ग चियाउदै
उत्तेजित बनेको तरुनी साँझमा
तिम्रो यौवन छचल्किने कविता पाठसँगै
सुरूप सुरूप पिएको तातो कफी
सबै सबै भयानक अट्टास लगाउँदै
उडाइरहेछन् खिल्ली मेरो यतिखेर ।

बाँधेर राख्छ घण्टौ घण्टौसम्म
स्मृतिको फलामे साङ्लाले
बिना कसुर मलाई
भृकुटीमण्डपको चिया पसलले
कुनै वाहन चढेर
कहिँ जानू छैन मलाई र पनि
पुरानो बसपार्क, सहिदगेट र काठमाडौं मलले
व्यथैमा अल्झाएर
फगत ठिङ्ग उभ्याइरहन्छ मलाई ।


अत्याधिक भयभित हुन्छु
जब सपिङ गरिरहेका प्रत्येक मान्छेमा
तिम्रै अनुहार देखाइदिन्छ मलाई
खिचापोखरीले ।
काठमाडौंबाट आजित भएर
उदासीको अँध्यारो कोठामा
छामछाम छुमछुम गर्दै खोजिरहेछु
तिमीले छाडेर गएका शुन्यताहरू ।

साँच्चै भनेको
तिमीबिनाको काठमाडौं
काठमाडौं जस्तो छैन अचेल


सन्जीव राई


(सन्जीव राई समकालीन नेपाली कविता लेखनका क्षेत्रमा सक्रिय कवि हुन् । भक्तपुर निवासी कवि सन्जीवको जिन्दगी, कहर र स्वप्निल फूलहरू कविता कृति प्रकाशित छ । उनी सांगीतिक क्षेत्रमा पनि सक्रिय रहेका छन् ।)