राष्ट्रपतिबाट सदनको अधिवेशन आव्हान ः प्रधानमन्त्री ओलीले विश्वासको मत लिने


लेखक : लेखापढी      १९ बैशाख २०७८, आईतवार २०:४३ मा प्रकाशित     
राष्ट्रपतिबाट सदनको अधिवेशन आव्हान ः प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज वैशाख १९ गतेको मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १०० को उपदफा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकोले सोही प्रयोजनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २७ गते सोमवारका दिन प्रतिनिधि सभाको अधिवेशन आव्हान गरेकी छिन् । सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरे अनुसार यो बैठक बोलाइएको हो । आज प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट गर्न शीतल निवास  पुगेका थिए ।

आज बसेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका थिए । त्यस्तै उनले आजै बसेको पार्टीको स्थायी समितिको बैठकमा पनि विश्वासको मत लिने बताएका थिए । सर्वोच्च अदालतले नेकपा बदर गरेपछि प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिने दबाव भएपनि उनले यस बेला आफू अनुकुल हुने सक्ने विश्वासमा विश्वासको मत लिन चाहेका हुन् ।

नेकपा (माओवादी केन्द्र) ले हालसम्म वर्तमान सरकारमाथिको समर्थन कायम राखेको छ । नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस एवम् जनता समाजवादी पार्टी भित्रको बाबुराम भट्टराई–उपेन्द्र यादव समूह यस सकारको विकल्पको खोजीमा रहेका छन् । जनता समाजवादी पार्टीभित्रको महन्थ ठाकुर पक्षले वर्तमान सरकारलाई समर्थन गर्ने भएको छ । जनता समाजवादी पार्टीको विभाजित मानसिकतासँगै नेकपा (एमाले) भित्रको कन्तरकलहका बिचमा ओली सरकार रहने, नरहने अहिले निश्चित छैन ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उनको निर्णयलाई सर्वोच्च अदालतको फागुन ११ गतेको निर्णयले उल्टाइदिइपछि उनमाथि विश्वासको संकट थपिँदै आएको थियो ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!