चूडामणि रेग्मीको लेख झर्राेवाद: आफ्नै अनुभूति


चूडामणि रेग्मीको लेख झर्राेवाद: आफ्नै अनुभूति

सङ्खुवासभा जिल्लाको चैनपुर (त्यतिखेर पूर्व ६ नं. इलाकाको मुख्य ठाउँ) को ‘जनसांस्कृतिक सभा’ नामको सम्स्थाबाट २०१३ सालमा प्रकाशित ‘नौलो पाइलो’ भन्ने पत्रिकामा घोषित साहित्यिक आन्दोलन नै झर्रोवादी आन्दोलन हो । विराटनगरका बालकृष्ण पोख्रेल त्यसका मुख्य प्रवर्तक हुन् । प्रमुख सहयोगी तारानाथ शर्मा, कोषराज रेग्मी (मेरा दाजु) का साथै हामी केही थियौं−जसमा बल्लभमणि दहाल र म लगायत शिव प्रसाद भट्टराई, भेषराज शर्मा, माधव भँडारी, पोषराज निरौला, देवमणि ढकाल, जय प्रसाद ढकाल, वीरेन्द्र खुँजेली, पासाङ गोपर्मा आदि धेरै मित्रहरू थिए । श्याम प्र शर्मा, शशिकला शर्मा, वासुदेव लुइटेल, कमल दीक्षित, कृष्ण प्र पराजुली, केशवनाथ न्यौपाने लगायत ठुलो दल झर्रो नेपाली समर्थकका रूपमा नेपालमा थियो । झर्रोवादका मुख्य अनुयायी चार जना र एक म गरी ५ जना हौँ । ती ४ हुन् – १. बालकृष्ण पोखरेल २. कोषराज रेग्मी ३. बल्लभमणि दाहाल ४. तारानाथ शर्मा । ‘नौलो पाइलो’ २०१३ बनारसबाट नभई चैनपुरको अवधारणा हो । कतिपयले यसलाई वनारस भनेर लेख्दै र पढ्दै आएका छन् तापनि यसको प्रकाशक जन सांस्कृतिक सभा चैनपुर नै हो, म पनि २८ वर्षको उमेरमा वानाबाट हिँडेको हुँ र झापाबाट नै झर्रेवाद हुर्काउन, बढाउन सकिन्छ भन्दै निरन्तर लागिपरेको छु तथापि जीवनको ठुलो हिस्सा झापामा बिते पनि म वानाकै हुँ । इतिहास कसैले मेटेर मेटिने चिज हुँदै होइन । तसर्थ झर्रोबाद सङ्खुवासभा, चैनपुरकै अवधारणा हो, बनारसको होइन ।

झर्रोवाद भनेको के हो ?
छोटकरीमा भन्नुपर्दा अनावश्यक रूपमा अड्ग्रेजी, हिन्दी घुसाउने र अत्यधिक सम्स्कृत शब्दहरूको प्रयोग गर्ने अङ्ग्रेजीवाज, हिन्दीवाज र सम्स्कृतवाजको विरोध गर्दै ठेट नेपाली शब्द र वाक्य प्रयोग गर्नु नै झर्रोबादको मूल उदेश्य थियो । हामीले तद्धित प्रत्यय लगाई शब्द बनाएर भएपनि शब्दको खाँचो टार्ने उपाय गरेको हो । भारतीय सीमाना नजिक भएकाले त्यतिखेर नेपालीमाथि हिन्दीको वेसी नै थिचोमिचो पनि थियो । त्यसैले यो तत्कालमा राष्ट्रवादी तथा प्रगतिशील दृष्टिकोणले जन्मेको थियो । झर्रो शिरोमणि बालकृष्ण पोखरेलले अरुले नबिटुलेको भाषालाई अर्थात् हिन्दीले, संस्कृतले र अङ्ग्रेजीले नकिचेको नेपाली भाषालाई झर्रो भन्नुभयो । उहाँले भनेको सिद्धान्त झर्रोवाद भयो । त्यो सिद्धान्त मान्नेलाई झर्रोवादी भनिन्छ । नेपाली प्रकृतिको बोलाइ र लेखाइ नै झर्रो हो ।

झर्रोेवादको सिद्धान्त र प्रयोग आज ककसले पालना गरेका छन् त ? भनेर मलाई धेरै मित्रहरुले सोध्ने गर्छन् । यसमा मैले के भन्न्ने गरेर्को छु भने घरभित्र ‘डेडी, ममी’ र ‘बक्सियोस््’ आदि प्रयोग ककसका घरमा भित्रिएको छ−म जान्दिनँ, अड्कल चाहिं गर्छु । अड्कलका भरको कुरा सार्वजनिक हुन सक्तैन । विदेशी संस्कृति र भाषाको आक्रमण २०१३ भन्दा यता बढी छ, झर्राे नेपाली आन्दोलन फेरि थालिनु पर्ने कुरा हामी देखिराखेका छौं । सिद्धान्तमा झर्रोवादीहरु कसैले लत्तो छाडेका छैनन् । जानी−नजानी घस्रिने बिचरो म पमि एक हुँ । ‘झर्राे नेपाली घर’ भनेर नेपाली घरको नाउँ राखेर भए पनि झर्रो नेपाली आन्दोलनका भाका जीवित राख्ने प्रयत्न गरेको छु । मैले प्रकाशन गरेको ‘युगज्ञान’ साप्ताहिकमा −बालकृष्ण पोखरेल, तारानाथ शर्मा, माधव भँडारी, मोहनराज शर्मा, श्यामप्रसाद शर्मादेखि अहिले होम सुवेदी सम्मका लेखक हरुका लेखनबाट झर्रोवादी पद्धतिले टेवा पायो । त्यसो त झापाकै श्यामकृष्ण उपाध्यायले पनि ‘युवक’ र ‘आलोक’ साप्ताहिकहरुका माध्यमबाट झर्रो नेपाली लेखनलाई उचालेकै पाइन्छ । विराटनगरबाट कोशराज रेग्मीले ‘जनवार्ता’द्वारा र विपिनदेव ढुङ्गेलले ‘हिमालचुली’, इलामबाट माधव भँडारी आफ्ना कथा, निबन्ध र साप्ताहिक पत्रिका ‘सौगात’ द्वारा झर्रो लेखन बढाउँदै थिए। पोषराज निरौला (हाल धरान) का झर्र्रोका झटाराहरू बेला−बेला ‘प्रकाश’ साप्ताहिकमा पढ्न पाइँदैछन् । ‘समकालीन’का जनार्दन आचार्य जस्ता पत्रकार पनि झर्रो मन पराउँछन्, तर आयामेलीहरूमध्ये कतिपयले नेपाली भाषाका लेखनमा बढाएको विचलन भने झर्रो विरोधी छ, तर इन्द्रबहादुर राईबाट झर्रोको प्रयोग गरेको पनि पाइन्छ ।

झर्राेबादी आन्दोलन तत्कालमा राष्ट्रवादी तथा प्रगतिशील दृष्टिकोणले जन्मिएको थियो तथापि तपाईँका बनारसकालीन साथीहरूमध्ये कतिपयमा प्रगतिवादबाट वितृष्णा जागेको देखिन्छ, तर तपाईं सधैं एकरूपताका साथ प्रगतिवादमै दृढ रहिरहनुभएको छ । यसरी प्रगतिवादप्रति तपाईंको अडान रहिरहनाको कारण के होला ? भन्ने प्रश्न पनि मलाई बारम्बार आइरहने गर्छ । यो प्रश्न धेरै कडा छ र यसको राम्रो उत्तर दिन निक्कै गाह्रो छ । राजनीतिमा को इमानदार छ र को बेइमान छ ? भन्न नै नसकिने भयो । बहुदल प्राप्तिपछि हाम्रो इतिहासमा स्वर्णाक्षरले लेखिने नेताहरूका पनि इतिहास ‘खड्गबहादुर’ र ‘मरिचमान’का जस्ता भए भने के गर्ने त ? म बारे अरू गुरू नै भनुन्, जे छु विचार गरियोस् । भ्रममा मेरो आदर र अनादर नहोओस् । मैले पारिजात तथा युद्धप्रसाद मिश्र जस्ता कतिपय त्यागी चरित्रबाट ऊध्र्वोन्मुखी प्रणालीको विचार लिनुपर्छ भन्ने शिक्षा लिएको छु । आउँदा दिन राम्रै काम गर्ने विचार छ−यति चाहिँ भन्छु ।

प्रगतिवादका आदर्श लेखकको सूची लामो हुन्छ । विधाको कुरा पनि गाँस्नुपर्छ । समग्रमा प्रगतिवादी क्षेत्रमा हाम्रा जीवित हस्ताक्षरहरूमा−श्याम प्रसाद शर्मा, कुलमान सिंह भण्डारी, आनन्ददेव भट्ट, देवी प्रसाद किसान, गोविन्द भट्ट, जनक प्रसाद हुमागाईं, भवानी घिमिरे, कुन्ता शर्मा, मंजुल, नरेश शाक्य, रविलाल अधिकारी, खगेन्द्र सङ्ग्रौला, ऋषिराम न्यौपाने, मोदनाथ प्रश्रित, लीला उदासी, सरोज ओली, तेजराज खतिवडा, यज्ञराज प्रसाईं, रुद्र खरेल, गङ्गा प्रसाद उप्रेती, विमल निभा, कविताराम श्रेष्ठ, राजेन्द्र सुवेदी, घनश्याम ढकाल, होम सुवेदी, रामहरि पौडेल, मोहन दुलाल, अनिल पौडेल, ऋषिराज बराल, आहुति, विष्णु प्रभात, नकुल सिलवाल, ललिजन रावल, गोविन्द वर्तमान, वासुदेव अधिकारी, सञ्जय थापा, नारायण ढकाल, निनु चापागाईं, विशेष उल्लेख्य छन् । प्रगतिवादी साहित्यको विकास भइरहेको छ । यसमा उत्साह, लहर, वेदना, कलम, जनमतजस्ता साहित्यिक पत्रिका र दृष्टि, छलफल, प्रकाश, जस्ता साप्ताहिक अखबारको पनि योगदान सरनी गर्न योग्य छ । यहाँ विशेष कुरा औंँल्याउन के चाहन्छु भने बेला−बेलामा प्रगतिवादहरुका बिच आलोचनाको यस्तो कडा प्रवाह हुन्छ−त्यो सीमातीत हुन्छ । यसको एउटा परम्परा नै भएको छ । एक त वस्तुवादी हुनुपर्ने आलोचना, दोस्रो आफू−आफूमा गाली वा निन्दा । यो एउटा अचम्मको कुरा लाग्छ मलाई । यो अत्यन्त चिन्तनीय विषय हो ।

मैले माथि नै भनिसकेँ म झापाबाट नै झर्रोवाद हुर्काउन, बढाउन सकिन्छ भन्दै निरन्तर लागि परेको छु । झापाको कुरा गर्दा, म झापा आएका बेला यहाँ राम्रो काम गर्नेलाई प्रतिकूल वातावरण थिएन । मैले देख्दादेख्दै युद्ध स्तरमा यहाँका शिक्षा प्रेमीहरूले शिक्षाको नपत्याउँदो विकास गर्न योगदान दिनुभयो । यसै गरी, यहाँ पत्रकारितामा कम्मर कसाइ आयो भने पुस्तकालयको पनि अलिअलि विकास भयो । पहिले औल्याहा (औलो लाग्ने) यो ठाउँ बिस्तारै औलो उखेलियो (उन्मूलन) पनि । स्वास्थ्य क्षेत्रमा पनि निक्कै वृद्धि भयो । राजनीतिका अनेक दल बढेझैँ साहित्यमा प्रगतिशील विचार, भोक आन्दोलन, लीला लेखन आदि विचार पलाए, हुर्किए । म आएपछि यो झर्रो आन्दोलनले उभ्याएका कुरा क्रमशः बढ्दै गए । विशेष गरी भद्रपुरको मेची बहुमुखी क्याम्पसको बौद्धिकताका साथै काकरभिट्टा, सुरुङ्गा, धरमपुर, गौरादह, दमक, शनिश्चरे, विर्तामोड आदि ठाउँमा बसेका निकै नै सामाजिक, शैक्षिक व्यक्तिहरूका कारण झर्रोको विकासमा योगदान रह्यो । औपचारिक रूपमा आफ्नै प्रकारका झर्रा सम्पादक श्याम कृष्ण उपाध्यायको ‘युवक’ नाउँको साप्ताहिक निस्किन्थ्यो । सो साप्ताहिकको २०२१ साल फागुनमा निस्केको विशेष अङ्कमा तारानाथ शर्मा (आफ्नो निजी कामले मेरो डेरामा केही दिन बस्नु हुँदा) को ‘छुट्टिन नसक्ने दुई मीत’ लेख र मेरो ‘धूला र शीत’का गीत निबन्धबाट नै झापामा औपचारिक झर्रो लेखनले प्रवेश पायो । त्यसपछि २०२३ र ०२४ मा नेपाली साहित्य परिषद्को वार्षिक मुखपत्रको सम्पादक मैले झर्रो विषयका धेरै लेख छापेर झर्रोवादी आन्दोलनको दोस्रो चरण नै प्रारम्भ भएको देखिन्छ । यसै समयमा झर्रो शैलीका गतिला लेखक मोराश (मोहनराज शर्मा) झापा ८ वर्ष जति प्राध्यापन गरी झापा बस्दा झर्रो जुरुक्क उठ्न सक्यो । यसमा पहिले मेरै सम्पादनमा निस्केको ‘युगज्ञान’ साप्ताहिक (२०२६–२०४८) को अभूतपूर्व जस्तो झर्रो उठाउने काम भएको धेरैले मानेको पाइन्छ । यसमा छापिएका र पछि मेरै सम्पादनमा छापिएका ‘जुही’ (२०३९) त्रैमासिक र ‘यथार्थ कुरा’ पाक्षिक २०५२ ले झर्रोको धेरै ठूलो स्तर बढाएको छ । ‘जुही’ (२०३९–२०७०) ‘यथार्थ कुरा’ (२०५२–२०६२) प्रकाशन भएपछि यिनमा प्रकाशित वर्ण विन्यासले झर्रोको अर्को चरणमा पाइला हालेको चर्चा भएको छ ।

झर्रोवादको उदेश्य नेपाली भाषामा एक रूपता ल्याउनु भए तापनि यो कठिन हुनुको पछाडि धेरै कुराले अवरोध गरेको छ । एकरूपता आकाशको फल आँखा तरी मर भएको छ । हामी नेपालीमा हाम्रो समुन्नतिका धेरै पक्ष उराल्नुपर्छ भन्ने सोच नै छैन अहिले पनि । पछि परेका तर यता अघि बढेका मुलुकले के गरी चारैतिर विकास गरे भनेर हेर्ने गतिलो चस्मा लगाएकाको राष्ट्रमा गतिलो बल पसिना लगाए पो गतिलो परिणाम पाइन्छ । हप्कीदप्की अथवा फुस्ल्याउने नीतिले वा ज्यादै करायो भने मुखमा बुजो कोच्ने प्रवृत्तिले पटक्कै देश बन्दैन । यस्तै लोसे हुतीहारा काइदाले देशका प्रमुख अङ्ग खुम्चिन्छन् । देश अघि बढ्छ भने पनि थोरैमा मात्र बढ्छ– उफ्रँदैन ।

नेपाली वर्ण विन्यासमा मेरा आफ्नै मान्यता छन् । यहाँ म सप्पै सप्पै लेख्न असमर्थ छु । केही बुँदा मात्र लेख्छु– पत्रपत्रिकामा प्रचलित भाषा हेरेर पनि मैले नियम बनाएको हुं । मेरा नियममा सरलताको मात्रा निकै छ र बुझिने खाले थोरै अपवाद छन् । कुन अव्यय वा शब्दका अन्त्यमा ‘इ’, ‘उ’ ह्रस्व लेख्ने र कुन अव्यय शब्दान्तको ‘ई’,‘ऊ’ दीर्घ लेख्ने जस्ता नबुझिने नियम मेरा नियममा छैनन् । अहिले उकारान्त विशेषण ह्रस्व र इकारान्त दीर्घ जस्ता थुप्रै अस्पष्ट नियम छन् ‘विशेष’भनेर विशेष लेख्नु झन् अस्पष्टता हो । यस्ता अस्पष्टता को मात्रा घटाउनु पर्छ र लेखनमा सरलता आउँछ । यस धारणाले सरलता छ मेरो प्रस्तावमा ।
– पहिले नयाँ वर्ण विन्यासको नाउँ ‘प्रस्तावित नयाँ वर्ण विन्यास’ थियो ।
–जे जे कुरा छाड्नुपर्ने भयो, ती छाडेर पछि लेख्तै जाँदा २०६६ को चन्द्रगढी घोषणापत्र (२०६६) जस्ता केही भेलाको निर्णय पछि मात्र होइन नेपाल प्रज्ञा–प्रतिष्ठानको बृहत् नेपाली शब्दकोशको सहयोग समेतका आधारमा लेखिने नयाँ वर्ण विन्यास तल लेखेका आधारमा लेखिन्छन् ।
– भरिसक्के शब्द छुट्याएर लेख्ने–विभक्ति जोड्ने– रामहरू, रामलाइर्, रामले आदि ।
दुई दुई शब्दका शब्द जोड्ने । साहुमारा, शिक्षानीति आदि यस्तै ।
–संस्कृतका लामा शब्द भरिसक्के अलग लेख्ने– परिवार नियोजन शाखा, त्रिभुवन विश्व विद्यालय, विज्ञान विभाग, कीर्तिपुर । मदन पुरस्कार गुठी, ललितपुर, परीक्षा नियन्त्रण कार्यालय । जनक शिक्षा सामग्री केन्द्र । पाठ्य पुस्तक विक्रेता समूह आदि ।
–उकारान्त ह्रस्व र ईकारान्त दीर्घ प्रायः ।
साहु, सासु, आमाजु, फुपु, भिनाजु, सोलुखुम्बु, तिर्खालु, आदि ।
दिदी, वहिनी, साली, मादी, चौधरी, छेत्री जैसी आदि ।
– ङ् न्, म् को साटो शिरविन्दु नचलाउने–चङ्ख, सन्च, सम्म आदि ।
–तद्भव र आगन्तुक शब्दको हिज्जे नियम एउटा नै ढङ्गले लेख्ने – मिठो, गरिब, तितो, इन्जिनियर, कानुन, सहर, दसैँ, स्कुल, अप्रेसन, कर्पोरेसन, कम्युनिस्ट, अस्ट्रेलिया, रजिस्टार आदि ।
–शिरविन्दु र चन्द्रविन्दु– काठमाडौँ, अँगार, ल्वाँठ, लन्ठ, आँप आदि
–क्रियापदमा – हुनु पर्ने, हुनु हुन्छ, हुनु होला, हुँदै छ, हुने छ, हुने छैन, भएको छ, खोक्तै हिँड्छ, खोक्तो छ, पर्दै छ, रहे छ, रहेन छ, जानु भएको, खानु भएको आदि ।
–फ्।याँक्, गर्, काट्, क्।क, ख्।ख, ग्ग, घ्घ, ट्।टा, फ्।याँक, क्यावात, अड्।डा, धन्न, अड्यो, टुट्।टा, कुद्।यो गर्छ, गर्यो ।
यस्ता शब्दहरूमा अखबारहरू नौलोतिर झुकेका छन् । विज्ञले मिलाउन सक्छन्, मिलाउँदा ।
–काम अनुसार माम देउ, तँ भन्दा म के कम, सखारै सखारै, जान्छु जान्छु इत्यादि छुट्याएर लेख्ने ।
–सङ्क्षेपमा परिवर्तनका रूपमा ओर्लिसकेको वर्ण विन्यासलाई पुरानामा नै थुन्ने अभियान नै नयाँ वर्ण विन्यास मन नपराउनेको ढिप्पी हो । अरू उचालपछार म जान्दिनँ । त्यो मेरो विषय पनि होइन ।

नेपाली भाषाका चिन्तकहरुले नेपाली व्याकरणको सुधार र एक रूपता हुनु पर्छ भनी फलाकेको धेरै वर्ष भयो । राणाकाल गयो, प्रजातन्त्र काल गयो, पञ्चायत काल पनि गयो, र पुनःप्रजातन्त्र काल पनि पुरानिदै गएको छ− तर भाषिक चिन्तनमा सही रूपमा ध्यान दिने सरकार पाइएन । दुःखको कुरा छ− मोदनाथ प्रश्रित जस्तो महाकवि पछि लगभग ४ दशक पछि महाकवि रूपको शिक्षा मन्त्री हुँदा पनि शिक्षा मन्त्रालयले पुरस्कारको रुचि नभएकालाई पुरस्कार दिनमा ध्यान दियो, तर एक रूपताको नयाँ व्याकरण र त्यस्तै नयाँ शब्दकोश बनाउन विद्वान्हरुको समिति बनाउने काम गर्ने ध्येय राखेन । नेपाली भाषाका चिन्तकहरूले लिएका चिन्तनका रूपमा नै व्यञ्जनको सरलता साथै वर्ण विन्यासका सरल पद्धतिका रूपमा मैले नयाँ वर्ण विन्यासको प्रस्ताव राखेको हुँ । कम्प्युटर प्रणालीले भरिसक्के सरल व्यञ्जन लेख्ने र सरल वर्ण विन्यासको प्रयोग गर्ने प्रचलन बढेरै जाने हुनाले प्रस्तावित वर्ण विन्यासको भविष्य उज्यालो छ । यो प्रस्तावित वर्ण विन्यास झर्रो नेपालीको नै पछिल्लो रूप हो भन्ने मेरो ठनाइ छ ।

झर्रोवादसँग अभिन्न रूपमा गाँसिएको छ प्रगतिवाद । नेपाली साहित्यमा प्रगतिवादको भविष्य उज्वल नहुने प्रश्नै उठ्तैन । सन्देशात्मक उत्तर दिन त सकिंदैन, तर सबैले रूप र वस्तुको सुन्दर समन्वयतिर ध्यान दिनुपर्छ । प्रतिक्रियावादी विचार बाहेक विचारमा उदारता स्वीकार गर्नु पर्छ । पारिजातबाट जसरी परिपक्वता आयो, नरेश शाक्य जसरी परिपक्व छन्, कुन्ता शर्मामा जुन प्रवाहमयता छ−यी मात्र उदाहरणबाट लेखकले खेलेकोे भूमिका रूप र वस्तुको सन्तुलनमा छ भन्ने बुझिन्छ− तर प्रगतिवादी साहित्यमा बराबरजसो गालीपन्थी समालोचकको विशेष भूमिका चाहिं मैले बुझेको छुइनँ । वस्तुवादी समालोचना गरेमा गाली गरिरहनुपर्दैन भन्ने मलाई लाग्छ ।

काठमाडौं उपत्यकामा बस्ने साहित्यकारका सापेक्षतामा ठगिएका क्षेत्रहरू कुन कुन देख्नु भएको छ ? भनेर पनि मलाई साथीहरुले बेला बेलामा सोध्ने गर्छन् । वास्तवमा, ठग्ने भनेको ठुलाले सानालाई हो । साना अर्थात् शोषित सर्वत्र छन्−काठमाडौंमा पनि र बाहिर पनि । शोषक काठमाडौंमा पनि छन् र बाहिर पनि । यसो भए तापनि शोषण गर्ने ठाउँ विशेष रूपमा काठमाडौं भएकाले बढी शोषक काठमाडौंमा छन् । यी कोही पण्डा भएर बसेका छन् भने कोही जुका । काठमाडौं बाहिर पनि ती पण्डा र जुकाका गुमस्ता धेरै छन् भने धुपौरे पनि मनग्गे छन् । काठमाडाँैंमा केही दरा रकमवाला सम्स्था छन् र पत्रिका छन् । तिनबाट रकम हडप्नेको ताँती छ । शोषित त नजिकैका भक्तपुर र काभ्रेका त छन् भने मेची वा गण्डकी आदिका साहित्यकारहरु कति शोषित होलान्, स्पष्ट छ ।

परम्परागत प्रचलित नेपाली व्याकरणका मान्यतालाई अस्वीकार गर्ने कवि मुकुन्द शरण उपाध्याय र तपाईंका व्याकरणमा के कति भिन्नता छन् ? भनेर मलाई बेला बेलामा सोधिने गर्छ । मुकुन्द शरण उपाध्याय धेरै विद्वान् व्यक्ति हुन् र कवि पनि हुन् । उनको योग्यतामा शङ्का गर्ने ठाउँ छैन । उनले र मैले प्रज्ञा प्रतिष्ठानको एक भाषिक योजना ‘नेपाली प्रयोगावली’मा सँगै काम पनि गरेका हौं । सामान्यतया शब्दहरू छुट्याएर लेख्ने कुरामा हामीमा निक्कै समानता छ । उनका सूत्रहरू छन्−जसका अनुसार ह्रस्व र दीर्घ लेख्ने कुरा छ, छुटिन्छ । यो सहमति र असहमतिको कुरा भन्दा पनि यो एउटा उनको प्रस्ताव हो जसको व्यापक छलफल हुनु आवश्यक छ । उनको यो मौलिक चिन्तन हो । मेरो चिन्तन चाहिं परम्परामा आधारित छ । नेपाली भाषाविद्हरुको चिन्तनको एकीकृत रूप हो भने हुन्छ यो चिन्तनलाई । मैले जुही त्रैमासिकका ३४, ३५, ३६ र आफ्नो पुस्तक नेपाली भाषा र व्याकरणका केही विषय ः केही छलफल (२०५२) मा निकै कुरा भनेको छु । तत्सम शब्दको वर्ण विन्यासको मेरो अध्ययन स्वल्प रूपमा मात्र बाहिरिन पाएको छ, विशेष रूपमा अध्ययन गरेको छु । मौका परे प्रकाशमा आउने नै छ, तर लेख वा पुस्तक नमागी म छाप्न दिन्न । अरुले शोषितलाई हेर्दैनन्, शक्ति म सँग छैन ।

झर्रोवाद सम्बन्धमा, आउने पुस्ताका भाषा साहित्यमा समर्पितहरूलाई म पहिले के भन्न रुचाउँछु भने लेखक हुन इच्छा गर्नेले नेपाली शैली के हो ? चिन्नु पर्छ । नेपाली भाषा नजानिकन गणेशका भरमा लेखक हुनु राम्रो होइन । यहाँ नेपाली भाषा व्याकरण नजानी लेखक भएर डुक्रनेको सङ्ख्या पगितो छ । यसो हुनुमा हाम्रो नेतृत्व पङ्क्ति नै फितलो हुनु हो । अघि माथि पनि भनें– योग्यलाई अघि नसारी राष्ट्र अघि बढ्दैन । कला, संस्कृति, साहित्य, भाषाका घाघडान विशेषज्ञकै बल पसिना खर्च नभई राष्ट्र सम्पन्न हुँदैन । काठमाडौंमा घर ठड्याउँदैमा र कुनै ठुलो पदमा दाइँ गर्दैमा कोही महान् हुँदैन । नेपालमा कति नेता थिए, ती, खोइ ? त्यस्तै कति कवि, कति प्रशासक थिए ? अव तिनको स्थिति के छ ? त्यो वुझ्ने कुरा छ । सङ्क्षेपमा, अबको जुगमा हरेक क्षेत्रमा विशेषज्ञ हुनु खाँचो छ । नेपाली लेखकले अङ्ग्रेजी, संस्कृत र हिन्दीको उल्था लेख्ने होइन । नेपाली शैलीमा मौलिक लेख्ने हो । मैले यसको नाउँ जुराएको छु–झर्रो शैली ।

नेपाली भाषा र साहित्यका प्रेमीहरुलाई मेरो मन्तव्य छ, सुझाव चाहिँ छैन । मन्तव्य के छ भने−साधकको साधना लक्ष्ययुक्त हुनु पर्छ । साधक आस्थावान् र दृढनिष्ठ हुनु पर्छ । खालि पत्र पत्रिकामा चर्चा खोज्ने, पुरस्कारका लागि हिरिक्क हुने र समालोचकहरुबाट राम्रो लेखकका रूपमा बराबर मूल्याङ्कित हुनु हुन्न । ‘पण्डा’ र ‘जुका’को गुमस्ता त कुनै हालतमा पनि हुनु हुन्न र शोषितले धुपौरे बन्नु अधःपतन हो ।


(चूडामणि रेग्मी नेपालको पूर्व झापामा रहेर नेपाली साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिने सष्टा हुनुहुन्छ । नेपाली साहित्यमा झर्रोवाद अत्यन्त चर्चित छ । यसै सन्दर्भमा यस लेखमा झर्रोवादका प्रमुख व्यक्तित्व चुडामणि रेग्मीका विचार यस लेखमा प्रस्तुत गरिएको छ । यो लेख मकालु सौरभ नामक पत्रिकाको वर्ष १ अङ्क १, २०७७ मा प्रकाशित भइसकेको छ ।)