प्रभादेवी पौडेलका दुई लघुकथा—अनुभूत, सन्तान


लेखक : लेखापढी      १८ बैशाख २०७८, शनिबार २०:५० मा प्रकाशित     
प्रभादेवी पौडेलका दुई लघुकथा—अनुभूत, सन्तान

अनुभूत

ऐया आमा ! मरेँ नी । हे भगवान् भन्दै सुधा भित्र बाहिर गरेपछि आनन्दले आत्तिएर पत्नीलाई हस्पिटल लग्यो । त्यहाँ आकस्मिक कक्षमा जाँच गरेपछि तुरुन्त प्रसुति कक्षमा पठाईदिए । चेक जाँचपछि भर्ना लिइयो ।

डाक्टरले भने “उहाँलाई प्रसुति व्यथा लागेजस्तो छ ।”

आनन्दले भन्यो “तर डाक्टर साहेब ! महिना पुग्न त अझै दस दिन बाँकी छैन र ?”

“त्यो त हो तर कहिलेकाहिँ हप्ता दस दिन बढीघटी भैहाल्छ नी आनन्दजी ।”

सुधालाई तारैतार सुत्केरी व्यथाले च्यापेपछि आनन्द यताउति छट्पटायो । ऊ कहिले पत्नीको टाउकोतिर गएर कपाल मुसार्दथ्यो, कहिले ढाडमा तेल लगाएर बेसरी माडिदिन्थ्यो । कहिले दूधमा मिश्रिको काडा बनाएर पिलाउँथ्यो त कहिले तातो सुप । पत्नीको चित्कार सुनेपछि उसलाई असहृय पीडा हुन्थ्यो । पीडा पनि किन नहोस्, उसले आफुलाई भन्दा पनि बढी माया गथ्र्यो सुधालाई । यति सम्मकी पत्नी र आमाको सानो मनमुटावमा मुखभरिको जवाफ लाएर घरै छोडेर डेरामा बस्दै आएको थियो ऊ । सुधा व्यथालेआत्तिएको झोँकमा बल गर्दा आनन्दको सर्टको पुरै टाँक चुँडियो । उसले एक्लै व्यवस्थापन गर्न नसकेर आफ्नी सानीमालाई खबर गर्यो ।

सानीमा आएपछि डाक्टरको नजिकै गएर सोध्यो “डाक्टर साहेब ! सुधालाई मात्रै हो की अरुलाई पनि यस्तै पीडा हुन्छ बच्चा जन्माउँदा ?”

यो सुनेर डाक्टरले भने “कहाँ आमा बन्न त्यति सजिलो छ र आनन्दजी ? सबै महिलाहरुको प्रसव पीडा एउटै हो, कालको मुखमा पुगेर फर्कनुपर्छ, कोहि खप्न सक्छन् त कोहि सक्दैनन् ।”

यसो भन्दैगर्दा प्रसुती कोठामा च्याँहाच्याहाँको आवाज आयो । एकैछिनमा सानीमाले अंगालाभरिको घुतुमूने छोरो ल्याएर आनन्दको काखमा राखिदिईन्

उसले छोरोको ओठमा आफ्नो ओठ मिलाउँदै चुम्बन गर्यो । प्रेमको भाव बर्साउँदै हर्षका दुई थोपा आँसु झार्यो र आफ्नी आमालाई सम्झियो । अन्तरआत्माले आमासँग माफी माग्दै तुरुन्तै घरमा फोन लगायो ।

फोनको पहिलो घन्टी पनि पुरै नसकिँदै आमाले फोन उठाउँदै भनिन् “बुहारी दुई जीउकी छ भन्ने थाहा पाएर सुत्केरी र नवजात शिशुको लागि चाहिने सबै चिजको जोहो पहिले नै गरिसकेकी थिएँ । बहिनीले फोन गर्ने बित्तिकै हिडिहालेँ । म बाटोमा छु बाबु । आएपछि कुरा गरौंला है ।”

सन्तान
“आमा ! भोलिदेखि यो फ्ल्याटमा मान्छे बस्न आउँदैछन्, आफ्नो सामान भण्डारको आडको कोठामा सार्नु है ।” भन्दै छोरो अफिस गयो । भारी मन लिएर सावित्रीले सामान सारिन ।

भोलिपल्ट बिहान एउटा पुरानो टालो लिएर भुइँ पुछेको देखेर बुहारीले भनी “आज त बाटैमा फुस्काएको रहेछ नी, कति सहनु यो बुढो पिसाब ।”

बिचरा साबित्री अक्क न बक्क भईन् र भनिन्।् “के गर्नु बाबै ! पाईखाना टाढा भएर रोक्दारोक्दै झरिहाल्यो ।”

छोरो पनि त्यही बेलामा टुप्लुक्क आईपुग्यो र भुइँतिर हेरेर बाझ्न लाग्यो । तीनै भाइ जम्मा भए ।
“अहँ, मैले मात्रै पाल्न सक्तिन । मेरी मात्रै हुन र आमा ।” माहिलो जंगियो ।

“मेरी श्रीमती रोगी छ, मैले त काम गर्न सक्तिन भनेर मान्छे राखेको छु । उसैको सेवा गर्नुपर्छ ।” कान्छोले भन्यो ।

दुवै भाइले आमालाई राख्ने कुरामा हात झिकेपछि जेठोले भन्यो “बाबु हो ! मैले उमेरमा कमाएर तिमीहरुलाई पढाएँ । संचय कोष पनि भनिनँ । जागिरबाट निस्कँदा खालि हात निस्किएकी हुँ । तिमीहरु सम्पन्न छौ । आमालाई सबै कुराको सुबिधा हुन्छ भनेर पो मैले तिमीहरुकोमा राख्न बल गरेको हुँ त । भैगो मैसँग बस्नुहुन्छ आमा ।” भन्दै जेठाले आमालाई घर लग्यो ।

उसले पहिला आमाका इच्छालाई प्रथमिकता दिन्थ्यो । एकदिन सप्ताहमा जाँदा आमाको भेट बाल सखासँग भयो । उनले निक्कै कर गरेर घरमा ल्याइन्् । आउँदा बाटोमा छोराहरूका घर चिनाउँदै भनिन् “यो झुप्रो माहिलाको, यो झुप्रो कान्छाको ।” यो सुनेर साथी दंग परिन् र मनमनै सोचिन् “हैन ! तीन तलाको घरलाई झुप्रो भनेकीले आफू बस्ने त भव्य महल होला सम्झेर पछि लागिरहिन् । केही पर पुगेपछि खुसी हुँदै झुपडीतिर देखाउँदै उनले भनिन्् “यही हो मेरो दरबार ।” जहाँ छोराबुहारी हँसिलो अनुहार बनाएर आमाको बाटो हेरिरहेका थिए ।

(प्रभादेवी पौडेल भरतपुर ९, चितवनमा बसोबास गर्छिन् । नेपाली साहित्यका विभिन्न विधामा उनको कलम चल्ने गरेको छ । पछिल्ला समयमा अत्यन्त शक्तिशाली लघुकथा लेख्ने गर्छिन् । यसपटक उनका दुई लघुकथालाई यहाँहरू समक्ष प्रस्तुत गरेका छौ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!