लक्ष्मी उप्रेतीको नियात्रा जीवनगीत


लेखक : लेखापढी      १७ बैशाख २०७८, शुक्रबार १२:४१ मा प्रकाशित     
लक्ष्मी उप्रेतीको नियात्रा जीवनगीत

स्वप्निल झझल्का र
बिपनीमा बुनेका
काल्पनिक अभीप्सा छचल्किदै बग्छन्
सुस्तरी मिसिएर अनुभूतिमा
झन्कृत  स्मृतितका ध्वनितरङ्ग
प्रतिध्वनित हुन्छन् शब्दहरूमा–अक्षरहरूमा
र सौन्दर्यित दृश्य परिदृश्यहरूमा
खुशीको रंगले रंगिएको सरगम
आहा ! यो जीवनगीत गुञ्जनको मधुरिमा
समय फूलमा भरिने मनमोहक प्राप्ति
जीवन एउटा अनुपम यात्रा ÷अनुपम अनुभूति ।

जहाँ खुसी एउटा मृगतृष्णा भएर रहन्छ मनभरि र जीवन एउटा धमिलो प्रतिबिम्ब बन्छ घाइते सपनाहरूका ।

विभिन्न चाहना बोकेर आँखामा कैंयौ सपना आइरहन्छन्, गइरहन्छन् । कहिले सम्भावनाको आकाशभन्दा टाढा, निकै टाढा । कहिले जीवनवृत्तको सहयात्री भएर, नजिक, एकदम नजिक । विपनीमा कतिपय कल्पनाहरू, अभिप्साहरू मनको अन्तरकुनामा आफ्नै जस्तो बनेर गाँसिएका हुन्छन् । कतिपय सपना र कल्पनाहरू पूरा हुन्छन् विपनाकै एक अंश बनेर । कुनै कुनै त अपूरो अधुरो रहेर हराउँछ आँखाका स्वप्निल सहरमा र अनायास परास्त हुन्छ जीवनयुद्धमा । जहाँ खुसी एउटा मृगतृष्णा भएर रहन्छ मनभरि र जीवन एउटा धमिलो प्रतिबिम्ब बन्छ घाइते सपनाहरूका ।

जीवनमा देखिने सपना र कल्पनाका अंश हरेक खालका हुन्छन्, विभिन्न रङका, रूपका । ती अंशहरूमा कुनै सुन्दर सहरको रङ्गीन र सुखद् घटनाभित्रका मानव नियति अर्थात् सृष्टिका सम्भव र असम्भव समागमका स्वनिल भावचित्र आदि–इत्यादि । ती सपना र कल्पनाहरू कति यथार्थभन्दा टाढा, कति यथार्थका नजिक भई हरेक दृश्य,परिदृश्यहरू समयको क्यानभासमा पोतिएका हुन्छन् जीवनका धमिला उज्याला रङ भरेर ।

वर्षाैंदेखि सपनाको सहरमा जाने मेरो मनको एउटा अभिप्सा यस पटक पूरा भयो ।

कहिलेकाहीँ सपनामा सजाएको सहरमा पुग्ने अनुकूल वातावरण बन्नु पनि सुखद् संजोग मिल्नपर्छ सायद । वर्षाैंदेखि सपनाको सहरमा जाने मेरो मनको एउटा अभिप्सा यस पटक पूरा भयो । मैले इच्छाएको सपनाको सहर थियो लन्डन ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दोस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन यस पटक (२०११) लन्डनमा हुने भयो । यो सम्मेलनमा म पनि आमन्त्रित भएँ । यस च्याप्टरमा सम्बद्ध रहेका भाइ खगेन्द्र पाठकको नेपाल आगमनपश्चात् मलाई त्यो अवसर जुर्यो ।

अभि सरसँग पनि परामर्श गरेपछि छोरा सलिल सुवेदीलाई केही पत्रहरू बनाउन जिम्मा लगाएँ ।

यही सिलसिलामा निमन्त्रणा–पत्र प्राप्त भयो । हर्षित हुँदै छोराछोरीलाई फोनबाट जानकारी दिएँ । त्यसपछि भिसाको तयारीमा लाग्नुभन्दा पहिला दिदी बिन्दु सुवेदीलाई सुनाएँ । बिन्दु दिदी पनि खुसी हुनुभयो । ‘बहिनी, तिमी भोलि बिहानै आउनू ।’ उहाँले रमाउँदै मलाई घरमा बोलाउनुभयो । अभि सरसँग पनि परामर्श गरेपछि छोरा सलिल सुवेदीलाई केही पत्रहरू बनाउन जिम्मा लगाएँ । सलिलले पनि अति खुसी भएर पत्र तयार गरेर भोलिपल्ट नै दिए । मोहन शिवाकोटी दाइ र डा. जगमान गुरूङ दाइको पनि सहयोग बिर्सिनसक्नु छ । विन्दु दिदी र अभि भिनाजुले भित्री हृदयदेखि नै मलाई सहयोग गरिरहनुभयो । मेरा गुरु दधिराज सुवेदी पनि मेरो यो यात्रामा उत्साह थपेर रमाउनुभयो ।

राजदरबारसँग नजिक रहेर उनी आफ्नो परिवारका साथ पहिले यहाँ सुखी थिए भन्ने सुनेकी मात्र थिएँ तर उनीसँग भेटघाट र चिनाजान थिएन ।

निकै वर्ष पहिले नेपाल छाड्न बाध्य खगेन्द्र आफ्ना परिवारका साथ लन्डनमा जीवनयापन गरिरहेका थिए । दरबार हत्याकाण्डपछि नेपाल छाडेर लन्डनमा खगेन्द्र पलायन भएको कुरा त्यसैबेला सुनेकी थिएँ । सुरूका दिनहरूमा नेपाललाई चटक्क छाडेर लन्डनलाई कर्मथलो बनाउनु उनलाई सजिलो थिएन । राजदरबारसँग नजिक रहेर उनी आफ्नो परिवारका साथ पहिले यहाँ सुखी थिए भन्ने सुनेकी मात्र थिएँ तर उनीसँग भेटघाट र चिनाजान थिएन । पहिलो भेटमा नै आत्मीय र सहयोगी भएको पाएँ ।

हिंसाको पनि अनेक रूप हुँदोरहेछ । दरबार हत्याकाण्ड नेपालको इतिहासमा भयावह र अविस्मरणीय कालखण्ड बनेर रह्यो । जुन घटनाले नेपाली माटो रक्ताम्य पार्यो । अहिले जुन घटना भएको दश वर्ष बितिसक्यो तर पनि त्यो घटना देशकै एउटा आलो घटना बनेर स्मृतिमा बल्झन्छ । त्यो कहालिलाग्दो क्षण सम्झँदा एउटा नरमाइलो अनुभूति हुन्छ । अकल्पनीय जुन घटना भयो, त्यो हुनु हुने थिएन, तर भयो । उफ सम्झदा पनि अत्यासलाग्दो स्मृतिले दुखाउँछ भित्र कतै ।

छ महिनाका लागि भिसा लागेको देखेर एकप्रकार खुसी पनि भएँ भने ढिलो भिसा लागेका कारण सम्मेलनमा सहभागी हुन नपाउनुको पीडाले खिन्न पनि भएँ ।

खगेन्द्र केही दिनका लागि नेपाल आएका बेला उनैले मेरा लागि चाहिने कागजातहरू लन्डन च्याप्टरबाट मगाएर सहयोग गरे । त्यो सम्मेलनमा जान म तयार भएर भिसाको लागि आवेदन गरेँ तर ब्रिटिस राजदूतावासको नियम र विभिन्न प्रक्रियाका कारण सम्मेलनको समय नाघेर भिसा आयो । छ महिनाका लागि भिसा लागेको देखेर एकप्रकार खुसी पनि भएँ भने ढिलो भिसा लागेका कारण सम्मेलनमा सहभागी हुन नपाउनुको पीडाले खिन्न पनि भएँ ।

सम्पूर्ण तयारीका साथ आमन्त्रण गरिएको सम्मेलनमा भिसा विलम्ब भएका कारण सहभागी हुने सम्भावना नै भएन । खगेन्द्र भाइ भने बारम्बार मेरो सम्पर्कमा भई नै रहे । त्यसैले अर्काे विकल्पका लागि खगेन्द्रलाई नै सबै कुराको जानकारी दिएँ । उनले ‘छ महिनाभित्रमा समय मिलाएर कुनै कार्यक्रमको आयोजना गर्छाैं, दुःखी नहुनुस् ।” भनेर मलाई आश्वस्त गराए । उनले त्यसो भनेपछि अब कार्यक्रम कहिले हुने हो भन्ने उत्सुकतासँगै अशान्तिले मडारिंदै मन उद्वेलित भइरह्यो । लन्डनको सौन्दर्यमा रमाउने आतुरताले मन तरङ्गित र उद्वेलित हुनु स्वभाविक थियो ।

बगेको समय दिन र रातको पछ्यौरीमा लुकामारी गर्दै बार अनि गतेमा बढ्दैे, छुट्दै गए ।

एउटा नदी जस्तै भएर समय अविराम बगिरह्यो । बगेको समय दिन र रातको पछ्यौरीमा लुकामारी गर्दै बार अनि गतेमा बढ्दैे, छुट्दै गए । समयको गतिशील पाइला नरोकिई, नअडिई आफ्नो गतिमा बढिरह्यो ।

भारतको मुम्बईमा किङफिसर हवाई विभागमा कार्यरत मेरो छोरा संजय र बुहारी पूजाको सामीप्यको सुख रोजेर त्यसबेला मुम्बई आएर उत्साह र उमङ्गका साथ दिन बिताउन थालें । प्रतीक्षारत लन्डन यात्राका लागि म व्यग्र भइरहें ।

अधीर प्रतीक्षाले एउटा रोमाञ्चक क्षण भएर मलाई चिमोटी रह्यो, छोइरह्यो तरङ्गित पारिरह्यो ।

यात्रामा सधैं उत्साहित हुने र रमाउने मेरो मन लन्डन यात्राको कल्पनाले फुरुङ्ग थियो । लन्डन कस्तो होला ? मभित्र उत्सुकताको पहाड चुलिंदै थियो । अधीर प्रतीक्षाले एउटा रोमाञ्चक क्षण भएर मलाई चिमोटी रह्यो, छोइरह्यो तरङ्गित पारिरह्यो । लन्डन पुग्ने आतुरतामा मनभरि मीठा र मृदु अनुभूतिहरू खेलिरहे । आँखामा इन्दे्रनी सपनाहरू नाचिरहे । मन माथिमाथि बादल जस्तै भएर उडिरह्यो ।

यस्तैमा चाडबाडले झ्याप्प छोप्यो । तीज आयो, मुम्बईको बसाई छ । सासू–बु्हारी र छोरोसँगको सान्निध्यले रमाइलो नै भयो । दशैंको प्रहर सुरू हुनअघि नै छोरा–बुहारीलाई पछि आउनु भनेर म घर काठमाडौं फर्किएँ ।

काठमाडौं पुगेपछि खगेन्द्र भाइले एक दिन अचानक फोन गरेर “दिदी, महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२ औं जन्मजयन्तीको अवसरमा लन्डन च्याप्टरले विशेष कार्यक्रम गर्दैछ । त्यस कार्यक्रममा तपाईंंलाई अतिथिका रूपमा निमन्त्रणा गर्दैछौं । समय निश्चित भएपछि तपाईंंलाई फेरि खबर गर्छु । तपाईंं तयारी भई राख्नुहोला ।” भन्दै सुखद् समाचारको सूचनासहित मलाई तयारी हुन आग्रह गरे । यस खबरले म अत्यन्तै खुसी भएँ । मेरो मन बल्ल ढुक्क भयो । लाग्यो, अब मेरो लामो प्रतीक्षाको अन्त्य हुने दिन आएछ ।

मेरो जीवनमा उत्साहको मीठो धुन गुञ्जन थाल्यो । समयको प्रतीक्षा जीवन सङ्गीत बन्यो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा सबैका आदर्श स्रष्टा । नेपाली भाषा साहित्यका सर्वाेच्च नायक । त्यस्ता महान व्यक्तिको जन्मजयन्तीको कार्यक्रममा सहभागी हुने अवसर जुट्नु मेरो लागि सौभाग्य थियो । मेरो जीवनमा उत्साहको मीठो धुन गुञ्जन थाल्यो । समयको प्रतीक्षा जीवन सङ्गीत बन्यो । मनले देवकोटा सम्झें । ‘कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ?’ उनको यात्रा कविता सम्झें । ‘मानिस ठूलो दिलले हुन्छ जातले हँुदैन’ उनको कृति मुनामदन सम्झें । सुन्दर देश लन्डन सम्झे. र सम्झें, जातीय द्वन्द्वमा लडिरहेका मेरो प्रिय देश ।

दशैंको धमाधम, यसै पनि व्यस्त समय । दशैंमा त झन् व्यस्तता बढ्ने नै भयो । जेठी छोरी सविना र कुमार ज्वाइँको घरमा यसपटक दशैंमा टीका नलगाए पनि दशैंको बिदा हामीसँग नै बिताउने निर्णय गर्नुभयो । यो निर्णयले नातिनी कोमल र नाति कुशल पनि रमाएर आमाबुबालाई छाडेर विराटनगरबाट जहाजमा औंसीकै दिन काठमाडौं आइपुगे । केही दिनपछि छोरी–ज्वाइँ आउनुभयो । छोरा–बुहारी सप्तमीको दिन आइपुगे ।

परिवारको जमघटले घरमा एउटा बेग्लै रौनक छायो । केही अभाव खड्किए तापनि मन प्रफुल्लित नै भयो ।

त्यसपछि परिवारको जमघटले दशैं अझ रमाइलो भयो । मनभरि खुसीका फूलहरू फूले । धेरैपछि यो पारिवारिक जमघट भएको थियो तर पनि मनको एक कुनामा कान्छी छोरी सरिता र कान्छा ज्वाइँको अभाब भने खड्किरह्यो । र पनि दशैंको टीका लगाउन आउने र आफू आफ्ना अग्रजकामा टीका लगाउन जाने समयको तालमेल मिलाउनु पर्ने भएकाले दशैं व्यस्ततामा नै बित्यो । परिवारको जमघटले घरमा एउटा बेग्लै रौनक छायो । केही अभाव खड्किए तापनि मन प्रफुल्लित नै भयो । रमाइलो परिवेश र वातावरणसँगै टीका लगायौं । क्रमशः कोजाग्रत पूर्णिमाको अघिल्ला दिनसम्ममा छोराछोरीका परिवार आ–आफ्नै घरतिर लागे । त्यसपछि फेरि शून्यता छायो । म एक्लो नितान्त एक्ली भएँ । फेरि शून्यता मेरो साथी भयो ।

मनमा प्रस्फुटित भावलाई अक्षर र शब्दहरूमा रूपान्तरण गरेर म सिर्जनाका सघन आकाशमा हराइरहेंं । माथिमाथि बादल भएर मन उडिरह्यो ।

सधैंझै यो एकाकीपनमा स्मृतिचित्रसँगै कल्पनाका भाव बल्झाउने क्रम फेरि चल्यो । आफूभित्र तरङ्गित विचार, अनुभूतिलाई कलाको रङ भर्दै कलम र कपीलाई साथी बनाएँ । मनमा प्रस्फुटित भावलाई अक्षर र शब्दहरूमा रूपान्तरण गरेर म सिर्जनाका सघन आकाशमा हराइरहेंं । माथिमाथि बादल भएर मन उडिरह्यो । यसरी हराउँदा कहीँ रमाएँ, कहीँ दिक्दारी र खिन्नताको परिधिमा भावहरूले सुरेली खेलिरह्यो । आफूभित्र कतै हर्ष, कतै विस्मातका भावचित्रहरू कोरिन थाले । त्यसरी नै मेरो एकान्त बाँड्ने साथी शब्दलाई रोजेर अल्मलिंदा त्यही क्रममा अल्झाएर समय बिताउन थालें ।

कोजाग्रत पूर्णिमाको साँझ अचानक खगेन्द्र भाइको फोन आयो – “२०१२ अक्टोवर २२ तारिख शनिवार कार्यक्रम गर्ने निर्णय भयो दिदी । तपाईंंलाई निमन्त्रणा नेटमा पठाउँछौं । देवकोटासम्बन्धी केही तयार गरेर ल्याउनुहोला ।” संक्षिप्तमा कार्यक्रमबारे जानकारी दिँदै उनले ममा एउटा जिम्मेवारी थपिदिए ।

यति थोरै दिनमा मैले के लेख्नु ? कसरी लेख्नु समस्या आफ्नै ठाउँमा थियो तर पनि भाइले विश्वास गरेर एउटा जिम्मेवारी सुम्पिएको थियो ।

कार्तिक ५ गते कार्यक्रम हुने, असोज २४ गते खबर आयो । त्यसपछि नीरवता र एक्लोपन, सोच्ने फुर्सद नै भएन । जाने दिन नजिक आउँदै थियो तर तयारी केही थिएन । झन् “देवकोटाबारे एउटा आलेख तयार गरेर ल्याउनु होला दिदी । ” भनेर खगेन्द्र भाइले भनेपछि त म अझ व्यस्त भएँ । यति थोरै दिनमा मैले के लेख्नु ? कसरी लेख्नु समस्या आफ्नै ठाउँमा थियो तर पनि भाइले विश्वास गरेर एउटा जिम्मेवारी सुम्पिएको थियो । जिम्मेवारी दिएपछि त्यसलाई वहन गर्नु मेरो कर्तव्य सम्झेर त्यसैमा लागिपरें । आफ्नो क्षमताअनुसार देवकोटासम्बन्धी एउटा आलेख तयार गरें । गोष्ठी–पत्रको प्रारूप अग्रजको सुझावबाट संशोधन गरेर म ढुक्क भएँ ।

त्यसपछि पैसा साट्नु, उपहार किन्नु आदि कार्य सम्पन्न गरें । यसरी नै हतारिँदा हतारिँदै एक दिन आखिर लन्डन यात्राका लागि काठमाडौं छाड्ने दिन पनि आयो र एउटा लामो प्रतीक्षा धैर्य र अधीरताको अन्त्य भयो ।


लक्ष्मी उप्रेती


(लक्ष्मी उप्रेती नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउनु हुन्छ । उहाँ लेखन, साहित्यिक संगठन एवम् सम्पादनका माध्यमबाट साहित्यिक विकासमा निरन्तर सक्रिय हुनुहुन्छ । यस नियात्रामा उहाँले आफ्नो बेलायतको लण्डन भ्रमणसँग सम्बन्धित अनुभूतिको प्रस्तुति गर्नुभएको छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!