रञ्जन घिमिरे ‘कल्पित’का दुई लघुकथा


लेखक : लेखापढी      १७ बैशाख २०७८, शुक्रबार २१:३१ मा प्रकाशित     
रञ्जन घिमिरे ‘कल्पित’का दुई लघुकथा

विभेद


गए राति सपनामा मैले देशका उच्च सरकारी व्यक्तिहरूबिच शुभकामना सन्देशको आदानप्रदान गरिरहेको र आलिसान महलमा बसेर ब्रेकफास्ट, डिनर वा के–के हो–को मजा लिइरहेको देखेको थिएँ ।

अर्को पनि मेरो सपनामा देखिएको दृश्य थियो—कुपोषणले खिइएका, गोली, बम र बारुदको धुवाँमा दिशाहीन भइरहेका, मातापिता गुमाएका कलिला केटाकेटीहरू, कतिपयका आमा–बा ऐया–ऐया भन्दै चिच्याइरहेका अनि प्राकृतिक प्रकोप तथा एम्बुसमा परी घाइते र घरबारविहीन भएकाहरू, शरीरमै गोली बोक्न बाध्य भएकाहरूको कारुणिक दृश्य ।

विगतका उत्सवहरूमा जस्तै यस पटक पनि सरकारी सञ्चारमाध्यमद्वारा राष्ट्र प्रमुखबाट बाँडिएको शुभकामना सन्देशले मेरो मनमा द्विविधा उब्जिरहेको थियो— “शुभकामना केका लागि र किन होला ?

झसङ्ग भई बिउँझिएँ । समाजको वास्तविक चित्र पनि सपनाजस्तै थियो ।

विगतका उत्सवहरूमा जस्तै यस पटक पनि सरकारी सञ्चारमाध्यमद्वारा राष्ट्र प्रमुखबाट बाँडिएको शुभकामना सन्देशले मेरो मनमा द्विविधा उब्जिरहेको थियो— “शुभकामना केका लागि र किन होला ?

उत्सव मनाइएको दिनभरिको समाचार बेलुकी विभिन्न टेलिभिजनहरूले देखाइरहेका थिए ।

एकातर्फ सडक बालबालिका, घरबार गुमाएका मानिसहरू, हातमुख जोर्न नपाएको पीडा पोख्दै थिए भने दोहोरो भिडन्तमा दर्जनौँ नागरिकले ज्यान गुमाएका र सयौँ बालबालिकाले अभिभावक गुमाएका समाचारका अतिरिक्त एम्बुस पड्केर गोलीका छर्राले शरीर क्षतविक्षत बनाएका अनि तिनै गोली शरीरमा बर्सौँदेखि लिएर जीवन गुजार्न बाध्य भएका निर्दोष जनताहरूको विभत्स तस्विरहरू टेलिभिजनका पर्दामा देखिएका थिए अर्कातर्फ उच्च पदस्थ अधिकारीहरू मोजमस्तीमा धुमधामसँग उत्सव मनाइरहेका देखिन्थे ।


शान्ति


देशमा हत्या, हिंसाजस्ता दुःखद घटना घटित भइरहेको क्षण इतिहासमै मोजमस्ती गरेर कुनै राष्ट्रप्रमुख हिँडेको थाहा थिएन तर आज किन यस्तो भइरहेछ, त्यो सोच्न सकिरहेको छैन ।

मेरा हजुरबाले खाना खाँदै गर्दा देशको वर्तमान दुर्दशाबारे मेरो विचार जान्न हो वा किन हो सोध्नुभयो— “के भएको यस्तो  ? कलि बहुलाएको हो कि के हो ?

उहाँ पाठ गर्दै हुनुहुन्थ्यो— “ॐ शान्ति, ॐ शान्ति ।”

मेरो मानसपटलमा पनि “के साँच्चै मेरा हजुरबाले भन्नुभएको जस्तै कलि बहुलाएर यस्तो हत्या, हिंसा, आतङ्क फैलिएको हो जस्ता अनुत्तरित प्रश्नहरू उब्जिरहेका थिए ।

हजुरबा नित्यपूजा गर्न लागिसक्नुभएको थियो । उहाँ पाठ गर्दै हुनुहुन्थ्यो— “ॐ शान्ति, ॐ शान्ति ।” अनायासै “ड्याङ्गड्याङ्ग ….. डुङ्गडुङ्ग” आवाज आयो । त्यो बन्दुक पड्केको आवाज थियो ।

हजुरबाले पाठ गरिरहेको शान्तिको स्वर दबेको थियो । अगि सुनिएको शान्ति पाठको स्वर अहिले टाठो र तगडा थिएन । हजुरबाको ओठ काँपिरहेको थियो ।


रञ्जन घिमिरे


(रञ्जन घिमिरे नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ । उहाँ नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउनुका साथै सम्पादनका क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । उहाँको २०७७ सालमा सम्मोहन नामक लघुकथा कृति प्रकाशित भएको छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!