लुम्बिनीको घटनाले बढायो जनता समाजवादी पार्टीको अन्तरकलह


लुम्बिनीको घटनाले बढायो जनता समाजवादी पार्टीको अन्तरकलह

काठमाडौं । वैशाख १७
जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशका चार सांसद पदमुक्त भएपछि राजनीतिक गर्मी बढेको छ । कोरोनाको संक्रमणले जनता आजित भएको बेला जनता समाजवादी पार्टीको आन्तरिक कलहले यस पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई समेत पिरोलेको छ । केन्द्रमा प्रधानमन्त्री ओलीका पक्षमा जोरदार किसिमले लागेका ठाकुरलाई लुम्बिनीमा आफू पक्षधर सांसदको पद खोसिएपछि धेरै चिन्ता बढेको छ । यसै क्रममा आज उनी लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भन्दै निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगमा आफै पुगेका ठाकुरले गैरकानुनी पत्रका आधारमा भएको कारवाहीलाई मान्यता नदिन लिखित आग्रह गरेका छन् । उनले आफ््नो पार्टीका बैठक पुस ७ पछि हालसम्म नबसेको जानकारी दिँदै चार सांसदलाई निष्कासन गर्र्ने कार्य अवैध रहेको बताएका छन् ।

जनता समाजवादी पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको निर्णय भनेर पठाएको पत्रका आधारमा प्रदेश सभाले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई पदमुक्त गरेको थियो ।

रिट दायर भएन 
लुम्बिनीका जनता समाजवादी पार्टीका चार निष्कासित सांसदको आफूलाई नियमविपरित हटाइएको भन्ने रिट शुक्रवार दर्ता हुन सकेन । उनीहरु आफूलाई हटाइएको विरोध स्वरुप सर्वोच्च अदालत पुगेका थिए । जनता समाजवादी  पार्टीको उपेन्द्र यादव एवम् बाबुराम समूहले पार्टी नीति विपरित लुम्बिनी प्रदेश सरकारमा गएको आरोप सहित यी चार जनालाई सांसद पदबाट हटाइएको पत्रका आधारमा लुम्बिनी प्रदेश सभाले निजहरूलाई हटाएको हो ।

शुक्रवार रिट लिएर गएका उनीहरूलाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र कोरोना महामारी बाहेकका सुनुवाइ तथा रिट दर्ता वैशाखसम्म स्थगित गरिएको भन्दै फर्काएको थियो । सर्वोच्चको वैशाख १४ को पूर्ण बैठकले यी दुई बाहेकका रिट दर्ता र सुनुवाइ नगर्ने निर्णय गरेको हो । उनीहरूले आफ््नो रिट दर्ता गराउन सर्वोच्चको अर्को फूल कोर्टको निर्णय पखर्नुपर्ने देखिन्छ ।