सीईडीबी हाइड्रोपावरको आईपीओ भोलि निस्कासन


लेखक : लेखापढी      १६ बैशाख २०७८, बिहीबार २०:२६ मा प्रकाशित     
सीईडीबी हाइड्रोपावरको आईपीओ भोलि निस्कासन

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शुक्रबार (भोलि)देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।

कम्पनीले जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।

कम्पनीले आईपीओ बिक्रीका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त आईपीओमा सर्वसाधारणले छिटोमा वैशाख २१ सम्म र सो अवधिमा पूर्ण रूपमा बिक्री नभएमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि बढीमा मागेजति आवेदन दिन सक्नेछन् । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनी आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी आईएस रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

कम्पनीका चारवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् भने तीनवटा आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको स्यागेखोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालन छन् ।

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दीखोला जलविद्युत् लिमिटेड तथा खारेखोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजनाहरु निर्माण भइरहेका छन् । साथै, कम्पनीको लगानी रहेको संखुवासभाको मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजना पनि निर्माणको क्रममा रहेको छ ।

सन् २००९ मा स्थापना सीईडीबी हाइड्रोपावर लिमिटेडको चालु आवमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५ पैसा र प्रतिसेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा रहेको छ । कम्पनीले आव २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, आगामी आवमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ ।

साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्रीपश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।
-१२खरी 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!