निषेधाज्ञामा यात्रु चाप घटेन, हवाई उडान बन्द गर्नुपर्ने निस्कर्ष: सीसीएमसी सचिवालय


लेखक : लेखापढी      १६ बैशाख २०७८, बिहीबार १२:४७ मा प्रकाशित     
निषेधाज्ञामा यात्रु चाप घटेन, हवाई उडान बन्द गर्नुपर्ने निस्कर्ष: सीसीएमसी सचिवालय

काठमाडौँ- सरकारले घोषणा गरेको निषेधाज्ञा लागु हुने पूर्वसन्ध्यामा बुधबार दिउँसो सीसीएमसी सचिवालयको एउटा टोली त्रिभुवन विमानस्थलमा अनुगमनका लागि पुगेको थियो । अनुगमन टोलीले त्यहाँको दृश्य अवलोकन गर्नुका साथै तस्बिरहरु खिच्यो । अन्ततः विमानस्थलको दृश्य हेरेपछि सीसीएमसीको सचिवालय आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।

‘विमानस्थलमा यस्तै भिड भइरहने हो भने अब आन्तरिक उडान तत्काल बन्द गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं’ सीसीएमसीमा आवद्ध एक सुरक्षा अधिकारीले रातोपाटीसँग भने, ‘विमानस्थलमा भिडभाड बनाएर निषेधाज्ञा सफल हुँदैन । विमान चढ्न जाने र ओर्लनेहरुका कारण सडकमा पनि सवारी साधनको पनि मोबिलिटी बढ्छ र यसबाट संक्रमण फैलने डर हुन्छ ।’

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा गरे पनि आन्तरिक र बाह्य हवाई उडान भने यथावतै राख्ने निर्णय गरेको छ । हवाई उडान बन्द नभएपछि उपत्यका आवत–जावत गर्नेहरुको भीड विमानस्थलमा बढेको सीसीएमसीका अधिकारीहरु बताउँछन् ।

अहिलेको अवस्थामा सीसीएमसीको सचिवालयले चाहेर मात्रै हवाइ उडान रोकिँदैन । यसमा मन्त्रिपरिषदले नै चासो राख्नुपर्ने हुन्छ । सचिवालयका अधिकारीहरु आन्तरिक हवाई उडान तत्काल बन्द गर्न सीसीएमसी निर्देशक समितिमार्फत प्रधानमन्त्रीलाई अनुरोध गर्ने तयारी भइरहेको बताउँछन् ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबावु तिवारीका अनुसार आज विहीबार अन्तर्राष्ट्रियतर्फ २० उडान र २० अवतरण हुने सेड्युल छ ।

 आन्तरिकतर्फ भने बुधबारको भन्दा केही उडान घटेको छ । बुधबार १४७ उडान र १४७ अवतरण थियो भएको थियो । आज निषेधाज्ञा लागेको दिनमा पनि १०५ वटा आन्तरिक उडानको सेड्युल छ । यो संख्या शुक्रबार पनि नघट्ने तिवारीले विश्लेषण सुनाए ।

‘निषेधाज्ञाको त्रासले सर्वसाधारणहरू जतिसक्दो चाँडो उपत्यका छाड्न चाहिरहेका छन् । यसको चाप हवाई सेवामा परेको छ’ कर्णले भने, ‘बुधबार मात्रै डोमेस्टिक सेवामा अधिकतम १४८ फ्लाइटको सेड्युल बनेको थियो ।’ प्रवक्ता कर्णका अनुसार ह्वातै यात्रुहरूको चाप बढेपछि हवाई कम्पनीहरुले बुधबार २० फ्लाइट थपेका थिए ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!