लुम्बिनीमा जनता समाजवादी पार्टीको द्वन्द्व चरम अवस्थामा


लेखक : लेखापढी      १६ बैशाख २०७८, बिहीबार २१:५२ मा प्रकाशित     
लुम्बिनीमा जनता समाजवादी पार्टीको द्वन्द्व चरम अवस्थामा

बुटवल । वैशाख १६
लुम्बिनीमा जनता समाजवादी पार्टीभित्रको सत्ता संघर्ष चरम अवस्थामा पुगेको छ । लुम्बिनी सरकार विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर एकाएक सरकारमा सामेल हुन पुगेका चार जना सांसदलाई पदमुक्त गरेपछि यो अवस्था सिर्जना भएको हो ।

वर्तमान ओली सरकारको पक्षमा रहेका पार्टी महन्थ ठाकुरले आज लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र पठाउँदै लुम्बिनीका चार सांसदलाई केन्द्रबाट कुनै कारवाही नभएको पत्र लेखेका छन् । उनले लुम्बिनी प्रदेशमा जसपाको छ सदस्यीय संसदीय दल रहेकोले यसैलाई स्वायत्तता दिई प्रदेश सभा सम्बन्धी सबै कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न, गराउन निर्देशन पठाएको र त्यसैलाई मान्यता दिइने स्पष्ट पारेका छन् ।

आजै जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको कार्यालयको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई प्रदेश सभा सदस्यबाट निष्कासन गर्ने निर्णय भएको थियो ।

यसै बिच कारवाहीमा परेका सांसद सन्तोषकुमार पाण्डेयले आफूहरूलाई पदेश सभा सदस्यबाट पदमुक्त गरेर प्रदेश सभाले गैरकानुनी काम गरेको आरोप लगाएका छन् । उनले आफुहरू छिट््टै कानुनी उपचारमा जाने समेत बताएका छन् ।

केन्द्रमा नेकपा विघटनसँगै सत्ताका लागि राजनीतिक संघर्ष बढेको छ । यसको प्रभाव विभिन्न प्रदेशमा पनि देखा पर्न थालेको छ । एक निश्चित राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने सांसदका निष्ठा बदलिएका छन् । सत्ता स्वार्थका लागि राजनीतिक संगठनमा विभाजन आउने र एकले अर्कालाई आरोप लाउने क्रम पनि बढेको छ । विगतमा संसदीय राजनीतिमा मौलाएको भेडाबाख्रा प्रवृत्तिको नयाँ संस्करण विभिन्न रुपमा देखिन लागेको सन्दर्भमा यी घटना अस्वभाविक भने होइनन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!