चुनौतीभित्र लुकेको अवसर (बाल निबन्ध)


लेखक : लेखापढी      १५ बैशाख २०७८, बुधबार १८:१७ मा प्रकाशित     
चुनौतीभित्र लुकेको अवसर (बाल निबन्ध)

कोभिड १९ कोरोना महामारीले दोस्रो रूप लिएर आयो । यस महामारीबाट हामी आफैले सावधानी अपनाउनुको विकल्प छैन । यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्दा सङ्क्रमण बढ्छ र झनै भयावह स्थिति आउन सक्छ । त्यसैले सङ्क्रमणको भयावह स्थितिबाट बच्न र स्थितिलाई सामान्य बनाउन विद्यालय बन्द गर्नु नै उत्तम उपाय हो ।

यसको दोहोरो असर विद्यार्थी भाइबहिनीहरूमा परेको छ । एकातिर अन्तिम परीक्षा आउँदै गरेको थियो । सुरू भैसकेको थियो । विद्यालय बन्द भयो । अब परीक्षा कहिले हुने हो ? पढेका कुरा बिर्सने पो हो कि ? अवश्य चिन्ता लाग्छ भने अर्काेतिर कोराना सङ्क्रमण हुने हो कि भन्ने चिन्ता ।

भाइबहिनीहरू, यो व्यक्तिगत नभई सामूहिक समस्या हो । राष्ट्रिय अन्तर्राष्ट्रिय समस्या हो । यस्ता समस्याहरू चुनौतीका रूपमा आएका छन्, आउँछन् । यस्ता चुनौती निश्चिन्त भएर निडर भएर सामना गर्नुको विकल्प पनि त छैन नि ।

भाइबहिनी हो, अब यो चुनौतीलाई अवसरमा कसरी परिणत गर्न सकिएला ? चुनौतीभित्र कयौं अवसरहरू लुकेर बसेका हुन्छन् । तपाईँहरूले त्यस्ता अवसरका कुरा केही देख्नु सोच्नुभएको छ ? म ती अवसरका केही कुरा कोट्याउने प्रयास गर्छु बाँकी तपाईँहरूको जिम्मामा छोड्छु है ?

हाम्रा बाजे बराजुहरूले ढिकी, जाँतो, ठेकी मदानी, गुन्द्रीका तान, आरन, घट्ट हलो जुवा, चर्खा, माटाका भाडा बनाउने साधन आदि जस्ता जीवन चलाउन सजिलो हुने धेरै प्रविधिको आविस्कार गरे । के उनीहरूले हामीले जस्तै स्कुल पढेका थिए त ? हो अवश्य थिएनन् र पनि धेरै प्रविधिको विकास गरेका रहेछन् । न्यूटनले पाकेको सुन्तला झरेको देखेर गुरुत्व बल पत्ता लगाए । राइट दाजुभाईले उडेको चरा हेरेर हवाईजहाजको आविष्कार गरे । यस्ता कुरा उनीहरूलाई न उनीहरूका आमाबुबाले अह्राए न स्कुलका गुरु र गुरुआमाले । यस्ता कयौं उदाहरण भाइबहिनीहरूले पढ्नुभएको होला । स्कुल जान नपाउँदा यस्ता अनुसन्धानका विषय अवसरका रूपमा आएका हुन्छन् । अर्काे कुरा हामीले पढ्नुको उद्देश्य जीवन र जगतमा खोजअनुसन्धान गरी आफू र आफ्नो परिवार, समाज र राष्ट्रको विकासमा सहयोग पुर्याई सुखमय जीवनयापन गर्न सक्ने हुनु हो । पढेर लगनशिल सिर्जनशिल, अनुशासित भई प्रतिभा देखाउन सक्ने हुनु हो तसर्थ तपाईं पढ्दैे हुनुहुन्छ । तपाईँ, तपाईँको परिवार, समाज र देशको भविष्य त तपाईँकै हातमा रहेछ होइन र ? त्यसकारण हामी कुनै न कुनै सिर्जनाको आविस्कारक किन नहुने । त्यसका लागि पढेर मात्र हैन खोज अनुसन्धान र प्रयोग पनि सँगसँगै गर्नुपर्छ हैन र ?

भाइबहिनी हो, तपाईँहरूले कक्षागत र तहगत रूपमा पाठ्यपुस्तक पढ्नुभएको छ । गुरु र गुरुआमाहरूले पढाउनुभएको छ हैन त ? पक्कै हो । पाठ्यपुस्तकका पाठ र अभ्यास के का आधारमा तयार भएका हुन्छन् ? तपाईँलाई थाहा छ ? पक्कै थाहा होला । पाठ्यक्रमको आधारमा बनेको हुन्छ । पाठ्यक्रममा हामीले पढेर गरेर पूरा गर्नुपर्ने विषयवस्तु हुन्छन् । हामीले पूरा गर्नुपर्ने उद्देश्यहरू हुन्छन् । उद्देश्य पूरा गर्ने तरिकाहरू हुन्छन् । उद्देश्य पूरा भयो या भएन भनेर जाँच्ने तरिकाहरू हुन्छन् । पाठ्यक्रमचाहिँ हाम्रै आवस्यकता, समाज राष्ट्र र अन्तर्राष्ट्रिय आवश्यकताका आधारमा तयार भएको हुन्छ । पाठ्यपुस्तक त पाठ्यक्रमको उद्देश्य प्राप्त गर्ने धेरै उपाय वा साधन मध्ये एउटा उपाय वा साधन हो । पाठ्यपुस्तकमा हामीले पढेका छौँ । त्यसकै आधारमा लेखेका छौ । तर हामी आफैँले अभ्यास गरेर हेरेका त छैनौँ नि । पाठ्यक्रमले त अभ्यास पनि गरेर हेर भनेको हुन्छ । पढेर लेखेर मात्र अभ्यास हुँदैन । त्यसैले यो स्कुल बन्द भएको समयमा के के अभ्यास गर्न सकिन्छ होला, सोचविचार गरौँ है त ।

हामी भाषा, विषय, किन पढ्छौँ थाहा छ ? पक्कै थाहा छ । हामीले धेरैभन्दा धेरै शब्दभण्डारको विकास गर्न, सहि सूचना आदानप्रदान गर्न, शुद्धसँग बोल्न, पढ्न, लेख्न, सुनेको पढेको कुराको भाव बुझ्न र अरूलाई बुझाउन, साहित्यिक रचना गर्न आदि । के यी कुराहरू हामी स्कुल गएर पढेर मात्र सिक्छौँ त ? अवश्य हैन । हैन भने स्कुल बन्द भएका बेला कसरी सिक्न सकिन्छ होला, विचार गरौँ त ?

म बन्दको बेलामा हरेक दिन बिहानदेखि बेलुकासम्म यो यो काम गर्छु भनेर योजना बनाउनुहोस् । आफूले बनाएको योजना र आफूले गरेका कामको अनुभव आमाबुबा वा परिवारका सबै सदस्यहरूलाई सुनाउनुहोस् । आमाबुबा, दाइ, दिदीभाइ बहिनी वा तपाईँका परिवारमा भएका अन्य सदस्यहरूले केके काम गर्नुभयो, अनुभवसहित सुनाउन लगाउनुहोस् ।आफूले देखेका सुनेका रमाइला, नरमाइला, प्रेरणादायी घटनाहरू परिवारका सदस्यहरूलाई सुनाउनुहोस् । परिवारका सदस्यले देखेसुनेका घट्ना पनि भन्न लगाउनुहोस् । घरव्यवहारमा सबै सदस्यहरूले गर्ने सम्पूर्ण कामहरू के, किन, कसरी, कहिले गरिन्छ, छलफल गर्नुस् गराउनुस् र आफूले जानेका भाषाहरूमा लेख्नुहोस् । आमाबुबाले जानेका लोककथा, गीत भन्न लगाउनुहोस् र जानेका भाषामा लेख्नुहोस । घरमा मनाइने चाडपर्व के के हुन् आमाबुबा वा जानकार व्यक्तिलाई सोध्नुहोस् र लेख्नुहोस् । तपाईँले गाउँघर, समाजमा देखेका, सुनेका समाज विकासका कुरा, विभेदका कुरा, कुरीतिका कुरालाई आधार बनाई कथा, निबन्ध, कविता लेख्नुहोस् । तपाईँको घरमा पालिएका जीवजनावार, तपाईँका घरमा भएका सामग्रीहरूको बारेमा निबन्ध, कथा, कविता लेख्नुहोस् । लेख्नका लागि पहिला कसरी कथा निबन्ध कविता लेखिँदो रहेछ नियम जान्नका लागि धेरै त्यस्ता विधाका पुस्तक पढ्नुहोस् । रेडियो, टेलिभिजनका समाचार हेर्ने सुन्ने गर्दा र पत्रपत्रिका पढेर घटना वर्णन गर्ने तरिका सिक्न सकिन्छ । तपाईँले काम कुराकानी गर्दा कर्ता, क्रियापद, विशेषण, अव्यय, विभक्ति, निपात, अनुकरण शब्द, जस्ता व्याकरणीय शब्दहरू प्रयोग भइरहेका हुन्छन् । ती शब्द के, कहाँ र कसरी प्रयोग भएका छन् विचार गर्नुहोस् । ती शब्दहरू सूची बनाउँदै जानुहोस् । हामीलाई जसरी पनि शब्दभण्डार बढाउनु छ नि हैन र ?

यसरी नै गणितका क्रियाकलाप पनि गर्न पक्कै सकिन्छ । तपाईँको घरमा आम्दानी भइरहन्छ होला । खर्च पनि भइरहन्छ होला । आमाबुबालाई सोध्नुहोस् । घरको आम्दानी खर्चको विवरण बनाएर हिसाब राख्नुहोस् । ऋण लिएको अथवा दिएको छ भने व्याज हिसाब गर्नुहोस् । भाँडाकुँडा नाप्नुहोस् । पानी भर्नुहोस् र लिटर मिलिलिटर कति अटाउँछ हिसाब राख्नुहोस् । भाँडाहरूको तुलना गर्नुहोस् । घरमा भएका हरेक वस्तु स्केल मिटर र टेपले नाप्नुहोस् । परिमिति, क्षेत्रफल, आएतन निकाल्नुहोस् । आलु, रोटी, फलफूल काटेर भिन्न, दशमलव, प्रतिशतको अभ्यास गर्नुहोस् । यो त थोरै उदाहरण हो । गणितको पाठ्यपुस्तक हेर्नुहोस् र कुनकुन हिसाब व्यवहारिक तरिकाबाट कसरी समस्या समाधान गर्न सकिन्छ बिचार गर्नुहोस् र अभ्यास पनि गर्नुहोस् ।

यसरी नै तपाईको गाउँ, वडा, गाउँपालिकाको नक्सा कोर्नुहोस् । बस्ती, खेतबारी, वनजङ्गल, नदीनाला, स्कुल, बाटो, पुल, मन्दिर जस्ता प्राकृतिक तथा साँस्कृतिक स्रोत साधनको संकेत भर्नुहोस् । गाउँबस्ती वडा र गाउँपालिकामा के के कुराको विकास भैरहेको छ ? वडा प्रतिनिधि वा जानेबुझेका मानिससँग सोधखोज गर्नुहोस् र प्रतिवेदन तयार गर्नुहोस् । गाउँबस्ती वडा र गाउँपालिकामा के के समस्याहरू छन्, खोजी गर्नुहोस् र प्रतिवेदन तयार गर्नुहोस् । घर, गाउँ, वडा, गाउँ नगरपालिको जातिगत, भाषागत, पेसागत, लिङ्गगत आयस्रोतका हिसाबले जनसङ्ख्या विश्लेषण गर्नुहोस् । गाउँ, वडा, गाउँ वा नगरपालिका भित्र मनाइने चाडपर्व, मेला, रहनसहन, चालचलन, रीतिजिवाज, भेषभूषा, खानपानको अवस्था सोधखोज गरि प्रतिवेदन तयार गर्नुहोस् । व्यवसायिक खेती, पशुपालन, फलफूल, तरकारी खेती अध्ययन अवलोकन गरि प्रतिवेदन तयार गर्नुहोस् । गाउँ, वडा र गाउँ वा नगरपालिका भित्र रहेका साना ठुला उद्योग, स्थानीय प्रविधिका साधन अवलोकन गर्नुहोस् र प्रतिवेदन तयार । माटोका अवस्था, प्रकार अवलोकन गर्नुहोस् ।

यसरी नै विज्ञानका पाठहरू हेर्नुहोस् र घरमा प्रयोग र अभ्यास गर्न मिल्ने क्रियाकलाप गर्नुहोस् । यसरी सिक्नसक्नु भयो भने तपाईं आफ्नो जीवन पढ्नुहुन्छ । सिकाई दिगो हुन्छ । जीवनको परीक्षामा सँधै पास हुनुहुनेछ । पढ्नुको उद्देश्य पूरा हुन्छ । तपाईं अनुसन्धानकर्ता, आविस्कार बन्न सक्नुहुन्छ । यो बन्दाबन्दीको चुनौतीभित्र लुकेको अवसर अवश्य पछ्याउनु हुने छ । यो त समग्रमा थोरै उदाहरण मात्र हो । भाइबहिनी हो । तपाईँहरू फरकफरक उमेर, क्षमता, तहका हुनुहुन्छ । उदाहरणमा दिएजस्तै आफ्नो उमेर क्षमता र कक्षा अनुसारको क्रियाकलाप गर्न सक्नुहुन्छ । भाइबहिनीहरूको बन्दाबन्दी समय सिकाइमय रहोस् शुभकामना ।


उद्धब प्याकुरेल 

(उद्धब प्याकुरेल हाल सानोठिमी भक्तपुरमा बस्नुहुन्छ । उहाँ बालसाहित्य एवम् लघुकथामा बढी सिद्धहस्त मानिनुहुन्छ । यसबाहेक उहाँका अन्य विधामा पनि कृति प्रकाशित छन् । बालबालिकाले लामो बन्दाबन्दीको उपयोग कसरी गर्न सक्छन् भन्ने विषयमा यो लेख उपयोगी हुने देखिन्छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!