मृत बाघको पेटमा अजिङ्गरको ‘अस्थिपञ्‍जर’


लेखक : लेखापढी      १५ बैशाख २०७८, बुधबार २२:०९ मा प्रकाशित     
मृत बाघको पेटमा अजिङ्गरको ‘अस्थिपञ्‍जर’

चितवन — गत शनिबार चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पर्सा जिल्लाको निर्मल ठोरी उपभोक्ता समितिअन्तर्गतको रामबुद्ध मध्यवर्ती सामुदायिक वनमा मृत फेला परेको बाघको पोस्टमार्टम गर्दा पेटमा अजिङ्गरको अस्थिपञ्जर जस्तो बस्तु भेटिएको छ ।

मृत्युको कारण यकिन गर्न थप परीक्षणका लागि नमुना संकलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगाशाला काठमाडौं पठाएको निकुञ्जले जनाएको छ । 

बाघ नौ वर्ष जतिको थियो । ‘सरसर्ती हेर्दा प्राकृतिक कारणले नै मृत्यु भएको देखिन्छ । तर अन्य केही कारणहरु पनि हुन सक्ने भएकाले नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पनि पठाएको छ,’ चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले भने । त्यो बाघ सन् २०१४ मा पहिलो पटक पर्सा निकुञ्जमा क्यामेरा ट्रयापमा परेको थियो ।

बाघहरुको विवरण राख्न र गणना गर्न निश्चित ठाउँमा स्वचालित क्यामेराहरु राख्ने गरिन्छ । बाघहरु ओहरदोहोर गर्ने क्षेत्र र बाटो पहिल्याएर क्यामेरा राखेपछि त्यस अगाडिबाट जाने जीव जनावरहरु क्यामेरामा कैद हुन्छन् । जसलाई क्यामेरा ट्रयाप भन्ने गरिन्छ । सन् २०१८ को बाघ गणनामा त्यो बाघ चितवन निकुञ्जको दक्षिणी क्षेत्रमा कैद भएको थियो । त्यसपछि त्यतै थियो । बाघ विश्वबाट लोप हुने खतरामा रहेको दुर्लभ वन्यजन्तु हो । 
-कान्तिपुर 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!