तारा केसीको कविता प्रिय छेकुडोल्मा


[ss_social_share]
लेखक : लेखापढी      १५ बैशाख २०७८, बुधबार १६:५० मा प्रकाशित     
तारा केसीको कविता प्रिय छेकुडोल्मा

फ्रकभरि चाँपका फूलहरू बटुल्न
कर्मकोठी कहिले फर्किन्छ्यौ तिमी ?
धुपी सल्ला लालीगुराँसको फेदमा बसेर
प्रकृतिसँग रमाउने
ती अन्तरमुखीसँग भेट्नु थियो ।

त्यो भुताहा घरको बाटो हुँदै अलि तल
लिम्बू बस्ती र भोटे बस्तीको बाटो छुट्टिँदै गर्दा
तिमीले भावुक हुँदै भनेकी थियौ–
जीवन त गाँठैगाँठोको सँगालो रहेछ
तिनै गाँठाहरू फुकाउन
मनभरि सपना बोकेर
कङ्क्रिट सहर पसेकी तिमी
सङ्घर्षको मैदानमा थलियौ रे
सुनेको थिएँ
तिमी हिँडेका ती बाटोहरू शून्य लाग्छ आज ।

तिम्रो याद बोकेर चोक बजारदेखि
उकालो लागेपछि
अग्लाअग्ला रूखहरूमा फुल्ने
कुखुराको चल्ला जस्तै सेतो
गुलाफी चाँपका रूखहरूसित ठोकिन पुग्छु

लाग्छ,
जीवन संस्मरण नै संस्मरणकोे सँगालो रहेछ
उनिएर आउँछ
तिमीसँग बितेका प्रत्येक पलहरू
अनिदो पहाड बनेर ।

बैसको मान्छे हराएको सुचना लेख्दालेख्दै
तोरीबारी र सपना हुँदै परिभाषित आँखाहरू
उसले रोजेको बाटो हिँडेपछि
शिरीषका निला फूलहरूमा प्रेम खोज्दाखोज्दै
थाकेकी तिमीलाई भेटेको थिएँ ।
कैयौं बर्षपछि आज
कन्चनजङ्गा साक्षी राख्दै
बारीका कान्लाहरूमा
चरिअमिलो खोज्न सल्बलाएका
तिम्रा पँहेला हातका औलाहरू सम्झिरहेछु ।

(तारा केसीको जन्म पनौती, काभ्रेमा भएको हो । उहाँ हाल गोगंबु, काठमाडौंमा बसोबास गर्दै नेपाली साहित्यका विभिन्न विधामा लेखन, साहित्यिक संगठन एवम् सम्पादन कर्ममा सक्रिय हुनुहुन्छ । यस कवितामा उहाँले सुप्रसिद्ध साहित्यकार पारिजातको सम्झना गर्नुभएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •