कल्यान ओझाको कविता, कविता कहाँ गईन् ?


लेखक : लेखापढी      १५ बैशाख २०७८, बुधबार १६:२१ मा प्रकाशित     
कल्यान ओझाको कविता, कविता कहाँ गईन् ?

कविजी प्रश्न ठड्याउँदै थिए
प्रिय कविता कहाँ गइन् ?
मैले भनेँ घाँस काटन् ।
कविको चित्त दुख्यो
फेरि प्रश्न थपे–
घाँसको पनि अस्तित्व छ र यहाँ ?
घाँस खाने वस्तुभाउ त
सडकमा ग्वारग्वार्ती हिँडदैछन् ।
ठिक त्यसैबेला सडकबाटै आवाज आयो
हजुर ! कविजी म यता ?
अब दुध डेरीमा उपलब्ध हुन थालेपछि
ध्यु कम्पनीमा पाइने भएपछि
मख्खन होटलमा बन्ने भएपछि
हजुर ! कविजी मेरो यहाँ कामै नभएपछि
अनि त म विस्थापित भएँ
हजुर ! कविजी मेरो कुनै अस्तित्व नै नरहेपछि
अनि मैले कुलेलम ठोकेँ यहाँबाट ।
अनि त के गर्नु ?
आजकल म घरमा होइन, सडकमा भेटिन्छु
अनि यस्तै
गाउँमा होइन, सहरमा भेटिन्छु
होटलका सभाहलमा होइन, रेष्टुँरामा भेटिन्छु
सुनसानमा होइन, कोलाहलमा भेटिन्छु
पुस्तकहरूमा होइन, फेसबुकमा भेटिन्छु ।
अनि त कविजी ! के भनुँ र खै ?
यस्तै छ दुनियाँ । यस्तै छ संसार ।
अनि यही दुनियाँको एउटा जन्तु म पनि
के भनुँ र खै ? यस्तै छ यहाँको चलन
यस्तै छौ. यहाँका हामीहरू ।

(कल्यान ओझा कञ्चनपुर जिल्लामा बसोबास गर्दै नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकार हुन् । उनको सहिद भीमदत्त पन्त नामक जीवनीको कृति प्रसिद्ध छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!