गंगा कर्माचार्य पौडेलका दुई लघुकथा


लेखक : लेखापढी      १५ बैशाख २०७८, बुधबार १९:५२ मा प्रकाशित     
गंगा कर्माचार्य पौडेलका दुई लघुकथा

हस् हजुर
“ए बाबु ! मेरो काम छिटो गरिदेउन बा…” हिउँजस्तै सेतो कपाल भएकी वृद्धआमाले मालपोत कार्यालयका एकजना कर्मचारीलाई भनिन् ।

“हस् हजुर.. एकछिन उ..त्यहाँ बस्दै गर्नुस् । ” उसले बेञ्चतिर औंलाले देखाएर भन्यो । वृद्धाले बेन्चमाथि धुलैधुलो देखेर बस्नुभन्दा पहिले धुलो पुछेर हरि शरणम् भन्दै थाकेको शरीरलाई थ्याच्च बेञ्चमाथि बिसाइन् ।

उनीभन्दा पछि आउनेले फटाफट काम सकेर गए । त्यो देखेर वृद्धाले लठ्ठीको सहारामा थरथराउँदै गएर भनिन् “ए बाबु ! मेरो काम गरिदेउन बा ।”
“हस् हजुर..एकैछिन बस्नु है आमा । तपाइँको काम भैहाल्छ ।”
बृद्धा फर्केर फेरि बेन्चमै बस्न गइन् ।

धमाधम् अरु मान्छे आउँदै काम सकेर गए । वृद्धाले कतिबेल बोलाउन् भनि घरिघरि कर्मचारिको कोठामा हेरिन् । अँह बोलाउने छाँटै देखिनन् । समय पनि घर्किंदै गयो । अब उनी छटपटाउन थालिन् र फेरि गएर भनिन् “ ए बाबु ! ढिलो भयो लौन, घर पुग्न अबेर हुन्छ” ।
“हस् हजुर…अब एकैछिन बस्नुस् भैहाल्छ ।”

वृद्धवृद्धा असक्तलाई लाइन बस्नु पर्दैन भन्थे । यसले मलाई किन यसरि पर्खायो ? भनेर बृद्धाले चियो गरिन् । आफूभन्द अगाडिको मान्छेले टेबुलमूनि हात किन लान्छ भनेर हेरिन् । त्यसपछि पत्ताा लाग्यो आफूलाई पछाडि पार्नुको रहस्य । यसको भण्डाफोर नगरि छोड्दिन भनेर वृद्धा सरासर हाकिमको कोठातिर लागिन् । त्यो देखेर कर्मचारिले बेलाउँदै भन्यो “ए आमै ! तँपाईको पालो आयो काँ जान ला ? अब यता आउनुस्” ।

उसले बोलाको सुनेर वृद्धा टक्क रोकिइन् र फरक्क फर्केर औंलो ठड्याएर भनिन्–हस् हजुर..।

माटोको माया
अमेरिकाको न्युयोर्क सिटीमा राजुले रेष्टुँरा खोलेका थिए । व्यवसाय राम्रो चलेको थियो । नेपालबाट कामको खोजीमा यहाँ आइपुगेका केही नेपालीहरुलाई रोजगारी पनि दिएका थिए । धनदौलत, ऐसआराम सबै कुरा थियो उनीसँग ।

पहिले नेपाल छँदा भारी बोकेर गाउँबेसी गर्नुपर्थ्यो । उकालोओरालो हिंड्नु पर्थ्यो । अहिले फराकिलो सडकमा चिल्लो गाडी कुदाउँछन् । बिहान बेलुका गुन्द्रुक र ढिंडा, मकैको आँटोले छाक टार्नुपर्थ्यो । यहाँ थरिथरिका परिकार बन्छन् तैपनि पटक्कै स्वाद लाग्दैन । न त मनमा शान्ति हुन्छ । यस्तैमा एकदिन राजु बिमारी परेर बेहोहीमै बर्बराए “खान्न खान्न म त्यो चौरासी व्यञ्जन खान्न । बरु कोदोको रोटी देउ, बन्द गर पंखा, एसी एकछिन वर पिपलको चौतारीमा बसेर शितल हावा खान्छु”

राजु बर्बराएको सुनेर उनकी पत्नी शर्मिलाले राजुलाई झक्झकाइन् । राजु होसमा आएपछि पत्नीलाई हेर्दा आँखामा आँसु टिल्पिलाएको देखेर सोधे “शर्मिला ! तिमी किन अँधेरो मुख लाएकी ? म बिमारी भएँ भनेर ? औषधी खाँदैँँछु ठिक भैहाल्छु नी । तिमी पिर नगर”

शर्मिलाले “त्यो त हो के तर अघि तपाई बर्बराउँदा बोलेका शब्दले मेरो मन पनि विचलित बनायो”

“हो ? के भनें र मैले” उत्सुक हुँदै सोधे राजुले ।

“चौरासी व्यञ्जन खान्न । कोदोको रोटी देऊ । पंखा, एसी बन्द गर । एकछिन वरपिपलको चौतारीमा बसेर शितल हावा खान्छु भन्नुभयो” शर्मिलाले भनिन् ।

राजुले लामो सास तानेर आकाशतिर हेरेर भने “मलाई अचेल के भा छ कुन्नि । जतिबेलै घरकै सम्झना आइरन्छ । त्यहाँका हरिया डाँडापाखा, वनभरि ढकमक्क फुलेका लाली गुराँस, कलकल बगिरहने खोलानाला, छाँगाछहराहरू अाँखा वरिपरि नाचिरहेका हुन्छन् । त्यसैले मेरो मन एकतमासको भइरहन्छ”

“मेरो पनि हालत त्यस्तै छ । हजुरलाई नभनेकी मात्र हुँ । हामी आफू जन्मिएको माटोको मायाले गर्दा यस्तो भएको हो । अब घर फर्किन ढिलो गर्नुहुँदैन”


गंगा कर्माचार्य पौडेल


(गंगा कर्माचार्य पौडेल मूलतः बालसाहित्यकार हुनुहुन्छ । यसबाहेक उहाँका कविता, अनुसन्धानका कृति समेत प्रकाशित छन् । वि.स. २०७७ मा उहाँको मौन प्रश्न नामक लघुकथा कृति प्रकाशित भएको छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!