उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा: नयाँ बसपार्कमा घर जाने यात्रुको भीड


लेखक : लेखापढी      १४ बैशाख २०७८, मंगलवार १०:५४ मा प्रकाशित     
उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा: नयाँ बसपार्कमा घर जाने यात्रुको भीड

कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि सरकारले बिहीबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी निषेधाज्ञा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १६ गते बिहान ६ बजेदेखि राजधानीमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यससँगै गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । 

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।

बैठकले आन्तरिक उडान व्यवस्थित गरी सञ्चालन गर्ने निर्णय गरेको छ । उपत्यकाबाहिर बिरामी थपिँदै गए कतिपयलाई हवाई सेवा आवश्यक पर्नसक्ने भएकाले आन्तरिक उडान व्यवस्थित रूपमा सञ्चालन गर्न खोजिएको पनि उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “एक हप्तासम्म आन्तरिक उडान सञ्चालन गरेर हेर्न खोजिएको हो ।” बैठकले अन्तर्राष्ट्रिय उडानबाट आएका विदेशीलाई होटलमा राख्ने र नेपाली नागरिकलाई घरमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको जानकारी मन्त्री अर्यालले दिनुभयो ।बैठकले पठनपाठन अनलाइनमार्फत मात्रै सञ्चालन गर्न र अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

के के बन्द ?

प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेश अनुसार वैशाख १६ देखि एक हप्तासम्म खाद्य सामग्री औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् ।

काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ ।

अत्यावश्यक सेवा दिने बाहेकका सार्वजनिक र निजी सवारी साधन वैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्म बन्द हुनेछ ।

के के खुल्ला ? 

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायत ढुवानीका साधन पनि चल्न पाउनेछन् ।

सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाउनेछन् । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिशका आधारमा प्रमुख जिल्ला अधिकारीले दिनेछन् ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ । गाेरखापत्र

100% LikesVS
0% Dislikes
Spread Your Love !!!