मान्छे महोत्सव (निबन्ध)


[ss_social_share]
लेखक : लेखापढी      १३ बैशाख २०७८, सोमबार १५:३५ मा प्रकाशित     
मान्छे महोत्सव (निबन्ध)

एक झर पानी पर्न नसकेको कालो आकाशझैं लाग्छ मलाई आजका मान्छे । खुल्न नसकेको अँध्यारो । खुलेर पनि बन्द भएजस्तो । बादलजस्तो अस्थिर एब्स्ट्याक लाग्छ मलाई मान्छे । अरु पनि मलाई यस्तै भन्दा हुन् । आफूले आफैलाई कसले पो खराब देखिने गरी हेरिरहन्छ र ? देखिने सबैले अरुलाई नै हो । कोही ध्यानी ,योगी भए पनि बोल्दैनन् । भए पनि नभए पनि भन्नेहरु भनिरहन्छन् । यो एक प्रकारको नभनीकन गरिरहने पेशाजस्तै हो । भन्ने र नभन्नेहरुबीचको तात्विक अन्तर छुट्याउनेहरु पनि खासै छैनन् । भए पनि प्रदूषणको रङले रङ्गिएपछि पवित्रै भए पनि प्रदूषित बनिहाल्ने समय छ अहिले ।
मनले बोल्ने कुरा मुखैले बोल्ने कति छन् र हामी कहाँ ? गरेको जस्तै गरी भन्न सक्ने पनि कति न होलान् ? आँखाले भाका गरेजस्तै व्यवहार गर्ने पनि शायदै होलान् ? प्रश्न पनि अमूक र उत्तर पनि अमूक नै । मनजस्तो बोल्ने र बोलीजस्तो व्यवहार गर्नेलाई समाजले पचाउन गाह्राे छ अहिलेको समय ।

आफूले आफैलाई कसले पो खराब देखिने गरी हेरिरहन्छ र ? देखिने सबैले अरुलाई नै हो ।

साधुसन्तहरुले नै बन्नुपर्ने हो आदर्श । घर, परिवार र समाजबाट वैराग्य जागेर फरक रुप रङमा देखिएकाहरु त देखेजस्ता हुँदैनन् । भनेजस्ता गर्दैनन् र गरेजस्ता भन्दैनन् । अरुका के कुरा गरिरहनु ? मञ्चमा प्रदर्शन गर्ने युवतीहरुको फेशन शोजस्तै बनेको छ हरेक बस्त्र अहिले । भित्र जस्तोसुकै भए पनि सुकिलो देखाएर बाँच्ने एउटा कलाजस्तै ।

कानुनको तराजुमा समानता जोखिनै सकेको छैन । कर्मचारी नुनको सोझो गर्दा आफ्नो अपमान सम्झन्छन् ।

अहिलेको वातावरण, समय नै त्यस्तै भएर त होला नि मान्छे पनि मान्छेजस्तै बन्न नसकेका । सबैतिर उस्तै उस्तै । राजनीति गर्नेले भ्रष्टाचार त गर्छ गर्छ । राजनीति गर्नेहरुको गुरुमन्त्र नै बनिसकेको छ –भ्रष्टाचारको निम्ति राजनीति । हुन त अरु पनि कहाँ पवित्र छन् र ? शिक्षा क्षेत्र क्यासिनोको खालजस्तो बनेको छ । प्राइभेट हस्पिटल पैसा खर्चेर मर्ने ठाउँ बनेको छ । खेलतिर खेलाडी आफै पराजित हुन नोटकका विटा खान्छन् । व्यापारीको त कुरै भएन, इमान्दार बन्न नसक्ने भएकैेले सबैभन्दा पहिले भीमसेनसँग माफी माग्दै धूप बाल्छन् । पत्रकारितामा जति नै स्वतन्त्र भने पनि प्रायोजित नभएका कलम खोजेर कहीं पाइदैँन । कानुनको तराजुमा समानता जोखिनै सकेको छैन । कर्मचारी नुनको सोझो गर्दा आफ्नो अपमान सम्झन्छन् । खानेकुरा मिसावट विनाको कल्पनै गर्न सकिंदंैन । दाल धरीमा पालिस गरिएको छ । सागपातमा विषादी छर्किएको छ । लौका, काँक्राहरुमा इन्जेक्सन लगाइएको छ । ढलको पानीमा गाजर ,मुला पखालिएको छ । फर्मालिनमा माछा डुबाइएको छ । जाँचेर खाने हो भने शरीरलाई हुने केही छैन योग्य । तर बाँच्नको लागि भोकै बस्न सकिँदैन र बाँच्नकै लागि खाएका चिजहरुले मृत्यु नजिक्याउँदै छ झन् ।

राजनीति गर्नेहरुको गुरुमन्त्र नै बनिसकेको छ –भ्रष्टाचारको निम्ति राजनीति ।

यी सबै के आफै भएका हुन् र ? सबै मान्छैकै करामत त हुन् । आफ्नो फाइदाको लागि अरुलाई जे गर्न पनि तयार हुने मान्छे नै हुन् । मान्छेका लागि मान्छे जतिको खतरनाक अरु केही छैन र हुँदैन पनि । अरु त अरु बिरामी भएको बेलामा खुवाउने चिजमा पनि बेइमानी हुन्छ । सद्दे बनाउन खुवाउने औषधिमा समेत पाप बिर्सन्छन्् । औषधि बिरामीलाई छिटै मार्ने कारक बन्न थालेको छ । यो सानो अपराध होइन यो लोकको । हुन त अपराध कुन पो सानो हुन्छ र ?

बुद्ध जन्मेको देश भएकोले होला हामी करौडौं बुद्धहरु बनाउन सक्छौं र बनाइरहेका छौं तर एक जना पनि बुद्धजस्तो बन्न सकेका छैनौं ।

के गर्ने हामी पनि कम ठूलो वाध्यतामा छौं र ? बुद्ध जन्मेको देश भएकोले होला हामी करौडौं बुद्धहरु बनाउन सक्छौं र बनाइरहेका छौं तर एक जना पनि बुद्धजस्तो बन्न सकेका छैनौं । प्रतिलिपिमा धनी छौं र गौरव गर्छौं हामी । भुपीले भनेजस्तै बुध्दु भएर मात्रेै वीर भएका हामी । विश्वको सर्वोच्च भनेर सगरमाथाको गीत गाउन थालेको अहिलेदेखि होइन् हामीले तर चन्द्रबहादुर डाँगी र खगेन्द्र थापाहरु पनि हाम्रै रेकर्ड बनेका छन् गिनिज बुकको । स्वास्नी मार्ने डिआइजी अन्यत्र देशमा शायदै होलान् । फिरौतीको लागि अपहरण गर्ने पूर्व मन्त्री ,बहालवाला मन्त्री र पटकेमन्त्री भएर उपदेश दिनेहरु जेल परेको रेकर्डमा पनि हाम्रो देश गौरवान्वित छ । यस्तै गौरब ,वीरता र बहादुरीको प्रमाणपत्र पाएकै कारण खाडीक्षेत्रको मरुभूमिमा पोलिएर पनि छाना र माना जोहो गर्न सकिरहेका छौं हामी ।

हुन त समय नै यस्तै बनिसकेको छ । नत्र किन अपराध गर्नेहरु प्रतिष्ठा कमाइरहेका छन् । हिंसा गर्नेहरु घाँटीभरि माला थापिरहेका छन् ? बेइमानहरु नेै सधैँ सम्मानितका समाचार बनिरहेका छन् ?

मूर्तिकै नाममा भइरहेका खर्च मात्र जोगाउने हो भने लाखौँ लाख भोकाहरुले पेट भर्न पाउने छन् ।

करोडौं किलोमिटर टाढाको सूर्यलाई जल चढाएर पुन्य कमाएको विश्वास गर्ने हामी हाम्रो विश्वास र संस्कृतिले निथ्रुक्कै भिजेका छौं । तर हाम्रा कोटिकोटि देवदेवीहरु मूकदर्शकझैं भएका हुन् कि भन्ने आशङ्का हुन्छ । के यिनीहरु शक्ति क्षिण भएकैले बेइमानहरु उँभो लाग्न थालेका हुन् ? हुन् यदि भने किन मूर्तिको नाममा मूर्ख बनिरहने ? यही हाम्रो कमजोरीमा बेइमानहरुले नै फेरि यसैका लागि भनेर आन्दोलन गर्न सक्नेछन् र भन्नेछन् – यो विश्वासलाई मात्र पुछपाछ गर्न सक्यौं भने धेरै कुरा नभए पनि अहिलेको सबैभन्दा महँगो समय बचत हुनेछ । पूजाको समय, मन्दिरको समय, परम्पराको समय । मूर्तिकै नाममा भइरहेका खर्च मात्र जोगाउने हो भने लाखौँ लाख भोकाहरुले पेट भर्न पाउने छन् । जीवनजल नपाएर मर्नेहरुले औषधि पाउने छन् । तुइनमा झुण्डिएर जीवन तार्नेहरुले पुल पाउने छन् । हिँड्ने बाटो पाउने छन् । बच्चाहरुले पढ्ने स्कुल पाउने छन् ।

गाँस काटेर अक्षता चढाएर केही हुँदैन भने किन नबोल्नेलाई बोलाउन खोजिराख्नु ?

विश्वास हाम्रो चट्टानजस्तो जब्बर छ – भगवान् जे गर्छन् भलै गर्छन् भन्ने । यही विश्वासलाई नै हतियार बनाएर बेइमानहरु झन् बलिया हुनसक्छन् । आफूले केही गर्न नसकेपछि भगवान्लाई हतियार बनाएर बेइमानीको खेती गर्नसक्छन् । उनीहरुले भन्न सक्नेछन् – इमान्दारहरु यसरी कमजोर बन्दै जाने हो भने किन पुजिरहनु व्यर्थमा ? न्याय गर्न नसक्नेलाई किन शिर निहुर्याइरहनु आफैले कँुदेका मूर्ति र बनाएका मन्दिरहरुमा ? पाप छ भने सजाय हुनै पर्छ । धर्म छ भने पुन्य हुनैपर्छ । गाँस काटेर अक्षता चढाएर केही हुँदैन भने किन नबोल्नेलाई बोलाउन खोजिराख्नु ?

हो न हो, धर्म भैदिएको भए, संजाय भैदिएको भए वा न्याय भैदिएको भए राजनीतिको पसल खोल्नेहरु यति घीनलाग्दा फोहरी खेल खेल्न सक्ने थिएनन् कि ? मन्त्री भैसकेका सभासद् गुप्ताले यति ठूलो अपराध गर्न सक्ने थिएन कि ? त्यस्ताको नाम कसरी श्याम पनि सुन्दर पनि राखे होलान् आमाबाबुले ? हुन त उनले पैसाको लोभमा एउटा धनी व्यापारीको अपहरण गरे । पीडा दिए तर मार्न त मारेनन् नि । यो उनको सानो महानता होइन । पैसा मुला त बाँचेपछि कमाउनु कुन ठूलो कुरो हो र ?

रङ्गमञ्च पर्दा बन्द गर्नासाथ आफ्नो सक्कली रुप देखिने डरले नाटक लम्बाउन खोजिरहेका छन् ।

यही समय कैयौं अपराधीहरु नेपालीका मनलाई मारिरहेका छन् । आफ्नोपनलाई मारिरहेका छन् । स्वाभिमानलाई मारिरहेका छन् । योग्यतालाई मारिरहेका छन् । जनताको नाममा संबिधान बनाउन जानेहरु तलबभत्ताको पीङमा मच्चिरहेका छन् । जनतालाई मूर्ख बनाउने नाटकमा अनवरत अभिनय गरिरहेका छन् । रङ्गमञ्च पर्दा बन्द गर्नासाथ आफ्नो सक्कली रुप देखिने डरले नाटक लम्बाउन खोजिरहेका छन् ।

केही सिंगारपटार गरेर देखा परेकाहरु पनि नाङ्गा र अलछिना बनिसकेका छन् । त्यक्तिकै भन्न थालिएको होइन उखान बदल्ने कुरा । घरबाट बाहिर निस्कंदा कालो बिरालोले बाटो काट्यो भने अपसगुन हुन्छ भन्ने अन्धविश्वास अब घरबाट निस्कँदा सभासद् देखियो वा भेटियो भने दिन बिग्रन्छ भन्ने विश्वासमा परिणत हुन थालेको छ । यही कारण अहिले सबैले एक स्वरले भन्न थलिसकेका छन् – तिमीहरु हाम्रा प्रतिनिधि होइनौे । दुई वर्षको हाम्रो भोटअधिकार डब्बल बनाइएकोमा हाम्रो सहमति छैन । समयले हाम्रो सोच र मतलाई फरक बनाइसकेको छ । फरक मान्छे चुन्ने हाम्रो अधिकार हो । त्यसैले तिमीहरु हारिसकेका छौ हाम्रा मतबाट । तिमीहरु अब चुनिदैनौं भन्ने पनि जानेकै छौ । त्यसैले तिमीहरु आफै आफ्नो प्रतिनिधि बनिरहेका छाैं । हामीले पनि बुझेका छौं ,समयसीमा नाघेपछि तिमीहरु कोहीप्रति जिम्मेवार बन्दैनौ । त्यसैले त छाडा साँढेझैं मनपरी खेल खेल्न थालेका छौ ।

म त भनिरहेको छु । तिमीहरु आफ्नो जागिरलाई सक्दो छोट्याउ । तोकिएकै समयमा काम सकाएको भए पालैपालो तिमीहरुको हातमा हतकडी लगाएको हेर्नुपर्ने थिएन । पासपोर्ट बेचुवाहरुको अनुहार बढेको हेर्नु पर्ने थिएन । हत्या गराउन खोज्नेहरु चिन्न पाउने थिएनौं । भट्टीखाना र जुवाखानामा तिमेरुका फोटाहरु छापिने थिएनन् । आफू एसएलसी पास हुन छोरीलाई जाँच दिन पठाउनु पर्ने थिएन । देश टुक््रयाउने र नाकाबन्दी गरिदिन्छु भन्ने सुन्नु पर्ने थिएन । कर्मचारीले थप्पड खानु पर्ने थिएन , थुनिनु पर्ने थिएन । यसरी समय बढाउँदै जाने हो भने तिमीहरु अब रक्तचन्दनमा देखिन थाल्नेछौ, हिरोइन र चरेससँग पक्रिने छौ । चेलीबेटी बेचविखनमा समातिने छौ । र हतकडी लगाउन बाँकी तिमीहरुका हातहरु धेरै कम हुनेछन् । तिमीहरु भित्र जन्मन थालेको सद्दाम र हुर्किन थालेको गद्दाफीलाई त्यसरी नै देख्नेछौं जसरी तिमीहरुले पनि हेरेका नै छौ ।

जुलुसै निकाल्न सक्ने ठूलो दल नै बनाउन पुग्थ्यो होला वा अपराधी महोत्सवको नाममा मान्छे महोत्सव नै गर्न सकिन्थ्यो होला ।

साँच्चै यो देशमा भएजस्तै ,बनेजस्तै संजाय हुने दिन आए के हुन्थ्यो होला ? लगाउने हतकडीहरु कम हुन्थे होलान् । थुन्ने जेलहरु साना हुन्थे होलान् । जुलुसै निकाल्न सक्ने ठूलो दल नै बनाउन पुग्थ्यो होला वा अपराधी महोत्सवको नाममा मान्छे महोत्सव नै गर्न सकिन्थ्यो होला । सर्वत्र महोत्सव ÷मेला भएजस्तै अपराधी महोत्सव टुँडिखेलमा गर्न सकिन्थ्यो होला । टुँडिखेल वरिपरि अपराधीलाई घुमाएर प्रदर्शन गराउन सकिन्थ्यो होला । यस्तो महोत्सव निशुल्क नगरेर सशुल्क नै गर्न सकिन्थ्यो होला । किनभने हामी चिडियाखानामा जनावर हेर्न त टिकट काट्छौं भने अपराधीहरुलाई हेर्न अवश्य टिकट काट्नेछौं । यसले पर्यटन प्रबर्धनलाई पनि धेरथोर सघाउला नै ।

मान्छेका कुरा, महोत्सवका कुरा, मन्दिरका कुरा भएजस्तै प्रकृति पनि नेताहरुजस्तै भैदिएका भए फूलमा सुवासको सट्टा बारुद गन्हाउँथ्यो कि ? बच्चाहरु मुस्कुराउँदा पनि ठूला आँखा पारेर रिसाउँथे कि ? नदीमा पानीको सट्टा लाभा बग्न थाल्थ्यो कि ? माटोहरु अलकत्राजस्तै जम्थ्यो कि ? चराहरु बाघझै गर्जन थाल्थ्यो कि ? हावा विषालु भएर बहन्थ्यो कि ?

मान्छे मान्छेजस्तै भएर बाँच्न पाउनु पर्छ । हामीले भन्ने यत्ति हो ।

त्यसै पनि प्रकृति हाम्रो शोषण नगर भनिरहेको बेला । हिमालहरु धेरै नहोचाउ भनिरहेको बेला । बाग्मती ढल नबगाउ भनिरहेको बेला अरु केके सुन्न र देख्नु पथ्र्यो हाला ?

आहो ∕ कल्पना गर्न पनि कति गाह्रो ? गाह्रो माथि झन् किन गाह्रोंको भारी थप्नु ? मान्छे मान्छेजस्तै भएर बाँच्न पाउनु पर्छ । हामीले भन्ने यत्ति हो । मान्छेलाई नेताजस्तो बन्न दिनु हुदैन । बन्ने बेइमानहरुको महोत्सव गर्नै पर्छ । अरु महोत्सवहरु भैरहेकै छन् भने मान्छे महोत्सव किन नगर्ने ? मान्छे महोत्सवको नियमित परम्परा शुरु गर्न सकियो भने नेताहरु मान्छेजस्तै बाँच्न सिक्छन् कि ?


— श्रीओम श्रेष्ठ ‘रोदन’

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares