उपत्यकामा वैशाख १६ देखि सप्ताहव्यापी लकडाउन


लेखक : लेखापढी      १३ बैशाख २०७८, सोमबार २२:३६ मा प्रकाशित     
उपत्यकामा वैशाख १६ देखि सप्ताहव्यापी लकडाउन

काठमाडौं । चैत १३
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्य रात्रि १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणलाई ध्यानमा राखेर तीनवटै जिल्ला प्रशासन कार्यालयले यो आदेश जारी गरेका हुन् । यसै क्रममा यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएको छ । यस अवधिमा सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।

यस अवधिमा कुनै पनि प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, तालिम, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, व्युटिपार्लर, जिमखाना, समूहगत खेलकुद, पुस्तकालय, चिडियाखाना सञ्चालन गर्न नपाइने आदेश जारी गरिएको छ । बिहे, व्रतबन्ध जस्ता कार्यका हकमा बढी १५ जनासम्मलाई जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्ने निर्णय गरिएको छ ।

अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स (बढीमा दुई जना), स्वास्थयकर्मी तथा सुरक्षा निकायले प्र्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी जिल्लामा आउन प्रतिबन्ध लगाइएको छ ।अति आवश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने निर्णय समेत भएको छ ।