हरिहर खनालका दुई लघुकथा


[ss_social_share]
लेखक : लेखापढी      ११ बैशाख २०७८, शनिबार २३:४७ मा प्रकाशित     
हरिहर खनालका दुई लघुकथा

लघुकथा एक

ब्ल्याकमेल
ठूला मानिसहरूले गरेका सबै काम राम्रै हुन्छन् भन्ने भ्रम पालेको थियो कविले । महाकवि देवकोटा निकै अम्मली थिए भन्ने सुनेको उसले चुरचेटको सर्को तानेपछि ह्वारह्वारती कविता फुर्छ भन्ने ठान्दथ्यो । पछि त कविता लेख्न बस्यो कि उसलाई तलतल लागिहाल्न थाल्यो ।

कोठाभित्र चुरोट पिउँदै कविता कोर्न तल्लीन कविको ध्यान एक्कासी हुर्रिँदै भित्र पसेको पाँचवर्षे छोराले खल्बल्याइदियो ।

‘बाबु, यो बाहिर लगेर निभाएर फाल् त ।’ सकिनै थालेको चुरोटको ठुटो छोराको हातमा थमाउँदै कविले भन्यो । बुबाको आज्ञा सिरोपर गर्दै छोरो बाहिर निस्क्यो र ढोकामा पुगेपछि एक सर्को तान्यो ।

‘बुवा, बाबुले चुरोट खायो ।’ बरण्डामा खेलिरहेकी छोरी कराई । कविको ध्यान भत्कियो र जुरुक्क उठेर बाहिर गयो । छोरो भने त्यहाँबाट भागिसकेको थियो ।

‘तँलाई बदमास ! घर त आउलास् नि, तेरा कानका जरा नउखेली ।’ सडकको पल्लो छेउमा पुगेर स्याँ स्याँ गर्दै बाबुतिर हेरिरहेको छोरालाई ताक्दै कविले हप्कायोे ।

कवि फेरि भित्र पस्यो । टेबुलमा अपुरो कवितामाथि खुलेको कलम थियो । कविले कलम बन्द गर्याे र हत्केलामा चिउँडो अड्याएर गम खानथाल्यो ।

‘विगार्ने त म पो हुँ । त्यो अवोध बालकको के दोस ?’ उसले आफैलाई ललकार्यो । त्यही क्षणबाट कविले धुमपान त्याग्यो ।

पाँच वर्षपछि । एउटा आमसभामा कवि पनि भाषण सुन्न पुग्यो । धेरै पुराना साथीहरू भेट भए । सुर्ती मल्दैगरेको एकजना साथीले कविलाई पनि एक जुम दियो । त्यो देखेर कविलाई एक्कासी तलतल लागेर आयो र उसले अलिकति खायो । त्यो दिनदेखि उसले फेरि लुकीलुकी सुर्ती खानथाल्यो । अर्को कार्यक्रममा जाँदा छोरो पनि पछि लाग्यो । कार्यक्रमकै बीचमा छोराका आँखा छलेर कविले अलिकति सुर्ती च्याप्यो ।

‘बुवाले फेरि सुर्ती खान थाल्नुभा ?’ घर फर्कँदैगर्दा बाटामा छोराले सोध्यो । कवि खङ्ग्रङ्ङ भयो ।

‘नभन् है कसैलाई । ला, चक्लेट किनेर खा ।’ छोराका हातमा पैसा थमाउँदै फकायो । छोरो चुप लाग्यो ।

“बुवा पैसा दिनुस् त ।” भोलिपल्ट स्कुल जाने बेलामा निर्धक्क साथ माग्यो ।

“तँलाई सधैँ पैसा, रुख छ पैसाको ?” कवि कड्कियो ।

छोरो बाबुको नजिकै गयो र विस्तारै भन्यो, “भन्दिम आमालाई ?”

कविको अनुहार कालोनीलो भयो । गोजीबाट पैसा निकाल्दै भन्यो, “ला, बदमास कहीँको ।”

छोरो चाहिँ बाउको अनुहारतिर हेरेर मुसुमुसु हाँस्तै बाटो लाग्यो ।

लघुकथा दुई

शनिबारको एक साँझ
शनिबारको एक शान्त साँझ, सुबोध बरण्डामा बसेर पुस्तकका पानामा डुबिरहेको थियो । टेलिफोनको घण्टीले त्यसको ध्यान खलबल्याइदियो । उसले रिसिभर उठायो ।

“नमस्कार है सर । म भूपेन्द्र ।” उताबाट आवाज आयो ।

“भन्नोस् के सेवा गरूँ ?”

“एकछिन भेट्न समय पाइन्छ कि भनेर सर । हाम्रो म्यानेजर साहेब सरसित परिचय गर्न चाहनुहुन्छ ।”

“हुन्छ, आउनोस् न ।” सुबोधले भन्यो ।

यिनीहरू कतै घर खोज्न आएका त होइनन् ? छ महिनादेखि खाली रहेको फ्ल्याटले भूपेन्द्रको मनमा यस्तो प्रश्न उब्जाइदियो ।

केही बेरपछि घर अगाडि रातो जिप्सी भ्यान आएर रोकियो, दुईजना युवक त्यसबाट तल झरे र उसलाई नमस्कार गरे । हात मिलाउँदा ती दुवैले आआफ्ना नाम पनि भने ।

सुबोधले ढोका उघारीवरि कोठाबारे बेलीबिस्तार लगाउँदा समेत भूपेन्द्र र विनोदले त्यसबारे खासै चासो नदेखाएपछि सुबोधले हल्का असजिलो महसुस गर्यो ।

“मैले तपाईहरूलाई बस्न पनि नदिएर कोठा देखाउन लगेँ ।” यसो भन्दा सुबोधको ध्यान तेस्रो व्यक्तिमाथि थियो ।

“यसअघि हाम्रो भेट भएको थियो कि थिएन कुन्नि ?” बैठकमा बसेपछि वार्ताको सुरुआत सुबोधले नै गर्याे ।

“यस्तै छ महिना अगाडितिर एक पटक म सरको अफिसमा पुगेको थिएँ । सरसित त्यै समयमा भेट भएको थियो ।” विनोदले भन्यो ।

“ए..।” सुबोधले टाउको हल्लायो ।

“सरले हामीलाई मदत गर्नुपर्यो ।” विनोदले आग्रहको स्वरमा भन्यो ।

“के सेवा गरुँ ?” सुबोधले जिज्ञासा राख्यो ।

“सरका स्टाफहरूको तलबी खाता हाम्रो बैंकमा खोलिदिनु पर्यो । हामी राम्रो सुविधा दिएर सेवा गर्न तयार र्छौँ ।” विनोदले संझाउन खोज्यो । सुबोधले बल्ल कुरो बुझ्यो ।

एकछिनको भलाकुसारीपछि तिनीहरू सुबोधसित बिदा मागेर उठे ।

 

(हरिहर खनाल नेपाली आख्यान लेखन क्षेत्रका विशिष्ट प्रतिभा हुन् । उनका दुई लघुकथा आज शनिवार साहित्य विशेषमा प्रकाशित गरेका छौ)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 134
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    134
    Shares