उद्धवप्रसाद प्याकुरेलको कथा: “आत्मसात”


[ss_social_share]
लेखक : लेखापढी      ११ बैशाख २०७८, शनिबार २२:५९ मा प्रकाशित     
उद्धवप्रसाद प्याकुरेलको कथा: “आत्मसात”

ग्रिष्मको उखुम गर्मी । उराठिलो उकालो । मन्दाकिनीको मन्दमन्द गति । पसिनाले निथ्रुक्क भिजेको शरीर । विरक्तिएर विचलित मन । बेलाबेलामा सुस्केरा हाल्दै गर्मी र उकालोसँग पङ्खेजोडी खेल्दै छिन् । बाहिरी ताप त छँदैथियो, भित्री तापले उनका हरेक अंङ्गप्रत्यङ्ग जलाइरहेका थिए, गलाईरहेका थिए ।

आजको त्यो उकालो दुईदिन अगाडि उनका लागि गोडा खाँदिने ओरालो भएको थियो । सयौं सुकिला मुकिलाहरू ख्यालठट्टा गर्दै अघिपछि थिए । पञ्चे बाजाले झ्याउरेको ताल दिइरहेको थियो । डोली र सुटकेसका भारी अघिअघि थिए । जीवनसाथीको रुपमा उभिएको जसलाई जन्मदाताहरूले ‘पाले पुण्य मारे पाप’ भनेर हातमा हात सुम्पिएका थिए । ऊ केके कल्पना बुन्दै केके सपना सजाउँदै पछिपछि लागिरहेको थियो । स्वच्छ पवनले पालुवालाई स्पर्श गर्दै थिए । पालुवाहरूले स्वागत सहित बाईबाईको सङ्केत गरेझै लाग्थ्यो । उनका मनमा सम्भावित सम्वेगहरूले डेरा जमाइहेका थिए ।

किनकिन आज उनलाई लागिरहेको छ, आफू लास, जीवनसाथी किरियापुत्री, सुकिलामुकिला मलामी, पञ्चेबाजा शङ्ख, डोली घारो, सुटकेसका भारी जलाउने कच्चा स्रोत थिए । अस्ति बहेका स्वस्छ पवन, स्वागत र विदाई गर्ने पालुवा आज स्तब्ध छन् । म घाटमा पुगेको लास फुत्केर भाग्दै भाग्दै उकालो चढिरहेको छु ।

एक पटक फोनको घण्टी बजिरह्यो बाल मतलब । दोस्रो पटक फेरि बज्यो । उनले उठाइन् र कानमा लगाइन् एकोहोरो सुनिराखिन् जुन उनको लागि गह्रुङ्गो भारी थियो, त्यो भारी थेग्न नसकेर घ्याच्च बसिन् र लामो सुस्केरा हालिन् । निकै बेरपछि गह्रुङ्गो शरीरलाई पाइलाहरूले घिच्याउँदैघिच्याउँदै डाँडाको टुप्पोमा पु¥याइन् । जहाँ वरपीपलका जोडी बर्सौदेखि सच्चाप्रेमको उदाहरण देखाउँदै बटुवालाई पाठ सिकाइरहेका थिए । बर्सौदेखि बटुवालाई शीतलताको सेवा र महानताको उदाहरण दिन उभिरहेका थिए ।

उनलाई वरपीपलको शीतलता र महानता फिक्का लागिरहेको थियो तर पनि थकान बिसाउन त्यही वरपीपलको चौतारोलाई सहारा लिइन् । घामले पश्चिमको क्षितिज पछ्याउँदै थियो । गन्तव्य चुम्न बाँकी एक घण्टाको उनलाई कुनै पर्वाह भएन् ।

उनले एकपटक माइती सम्झिन् । कमजोर आयश्रोत भएको परिवार, आडम्बरी बुबाको बानी, बर्सौदेखिको रैथाने रोगी आमा र उपचार, सानो भाई र सानी बहिनी, उनीहरूको पालनपोषण र शिक्षादिक्षा, अलिकति श्रीसम्पतिको नाममा रहेको जग्गाजमिन, फाइनान्समा धितो, तामझामसहितको आफ्नो विवाहको ऋणले माइतीको टुपी डुबेको, जोरीपारी छरछिमेक, नातागोता आदि ।

उनले फेरि लामो सुस्केरा हालिन्, आँखा चिम्म गरिन् । बिहेको कुराकानी छिनेर टिकाटाला, बिहे र दुलही भएर भित्रिएदेखि यहाँसम्म आइपुग्दाका कुरा ।

उनी जुरुक्क उठिन् । चारैतिर हेरिन् । हिजो स्वागत गर्ने पालुवा उजाडिएको थियो, धर्तीमा कम्पन आएर फाटेजस्तो, भासिएजस्तो,आकाशमा एक्कासी बादल उठेर हुरी चलेर रुखहरू गल्र्यामगुर्लुम् ढलेजस्तो, घाम कहिल्यै नझुल्कने जसरी अस्ताए जस्तो । स्तब्ध हुँदै कम्मरको सल हातमा लिइन् वरपीपलका हाँगा नियालिन, एकमनले वरपीपललाई पुकार गरिन्, “हे वरपीपल, म तिमीहरूको प्रेमलाप, सेवाभाव, महानताप्रति लालयित छु, त्यसैले तिमीहरूको संसर्गमा सेवा गर्ने अवसर मलाई पनि देऊ । म तिमीहरूसँगै विलिन हुन चाहन्छु । म यो दुःखको संसारबाट मुक्त हुन चाहन्छु ।”

उनको अन्तरआत्माबाट अर्को मन जुर्जमुरायो, “हे मूर्ख बालिके ! तँजस्तो कायरले कसैको सेवा गर्न सक्तैन् । तैँले सोचेको बाटो गलत छ । सेवाको लागि सही बाटो समाउँछेस् भने संघर्ष गर्न सिक । मृत्यु कायर हो भने संघर्ष नै जीवन हो । तँलाई जे समस्या परेको छ दुनियाँमा तँजस्ता धेरैलाई त्यही समस्याले पिरोलेको छ । तँलाई र दुनियाँलाई परेको समस्या समाधानको उपाय पत्ता लगा र त्यो समस्याबाट मुक्त गरा जसले तेरो जीवन महानताको उत्कर्षमा पु¥याउँछ । अनि मात्र तँ वरपीपल जस्तै महान हुन सक्छेस् । अब तँ कायरको बाटो रोज्छेस् या संघर्षको बाटो ?” उनी झस्याङ्ग भइन् । उनले मनलाई दरिलो बनाउँदै भनिन्, “म कायर हैन । म मेरो संघर्षले वरपीपल जस्तै महान हुन चाहन्छु ।” हातको सल कम्मरमा कसिँलो गरी बाँधिन् । संघर्षको लागि हिम्मत बटुलिन् र त्यहाँबाट हिँडिन् ।

“ओहो, ल छोरी आइपुगिन् । अनि ज्वाइँ खोइ त ?” उनको बुबा रामानन्दले खुसी व्यक्त गर्दे सोध्नुभयो ।

“ज्वाइँलाई अलि सन्चो भएन रे, म सोह्र दिनको साइतमा जाउँला, तिमी जाऊ भन्नुभयो, म मात्र आएँ ।” उनले बुबालाई ढोग गर्दै भनिन् । उनले आमालाई ढोग गरिन् । भाइबहिनीलाई चोकोपन चक्लेट दिइन् । मन्दाकिनी दुलही फिराउन आइन् भनेपछि केही छिमेकी पनि आए ।

दुलही फिराउन प्रायः दुलाहा दुलहीसँगै आउने चलन छ । मन्दाकिनीसँग उनका दुलाहा नआउनुले आमाबुबा र छरछिमेकमा एउटा छुट्टै कौतुहल नभएको त हैन तैपनि मन्दाकिनीको भनाइप्रति सबै विश्वस्त भएका थिए ।

बेलुका खाना खाएपछि आमाबुबा भडारको खाटमा उनी सँगै बसेर सोधपुछ गर्न लाग्नुभयो ।
“अनि छोरी ! तिमीलाई घर, सासूससुरा कस्तो लाग्यो ?” बुबाले सोध्नुभयो ।

“घर रमाइलो छ, सासूससुरा पनि असल हुनुहुन्छ बुबा ।” मन्दाकिनीले अलिकति नाक खुम्च्याउँदै भनिन् ।

“ल है नानी ! सासूससुराको मानमनितो गर्नुपर्छ । ज्वाइँलाई रिझाउन जान्नुपर्छ । उनीहरूले नराम्रै भनेछन् भने पनि सहन जान्नुपर्छ । ठाडो स्वर गर्नुहुन्न । उनीहरूलाई त भगवान ठान्नुपर्छ । उनीहरूको पूजा गरेर खुसी तुल्याउनु बुहारीको सबैभन्दा ठुलो धर्म हो । देखेको र परिआएको काम गर्नुपर्छ ।” आमाले सम्झाउनुभयो ।

“छोरी ! धर्मानन्दको परिवार त हामी जस्ता होइनन् । पहिल्यैदेखिका खानदानी हुन् । चार चौरासले उनीहरूलाई मान्छन् । उनीहरूको इज्जत त कहाँ हो कहाँ । लौ जे भए पनि मेरी छोरीको भाग्य इज्जत र खानदानले भरिपूर्ण भएको घरमा पर्न लेखेको रहेछ । म त धेरै खुसी छु छोरी ।” बुबाले भन्नुभयो । मन्दाकिनीले केही जवाफ फर्काइनन्, सुनेर मात्र बसिन् ।
……………..
अमृत उनको स्कुले असल साथी तर विकृत रुपको ब्वाइफ्रेन्ड र गर्लफ्रेण्ड जस्तो सम्बन्ध उनीहरूमा थिएन् । उनीहरू दुवै एउटै कक्षाका राम्रो पढ्ने विद्यार्थी । उनीहरू पढ्ने कुरामा छलफल गर्थे । अतिरिक्त क्रियाकलापमा सँगै भाग लिन्थे र जित्थे । जनचेतनाका कुरामा भाग लिन्थे । अमृतको समस्यालाई मन्दाकिनी आफ्नो समस्या जतिकै अपनत्व राख्थिन भने अमृत त्यसै गर्थे । उनीहरू दुवैको आचरण असल भएकाले दुवैलाई दुवैले उतिकै सम्मान गर्थे । उनीहरू दुवैले उच्च शिक्षासम्म सँगै पढ्ने सल्लाह गरेका थिए । प्लस टु सकेपछि अमृत उच्चशिक्षा पढ्न शहर गए । घरको आर्थिक अवस्था कमजोर भएका कारण मन्दाकिनीको पढाई प्लस टु सकेपछि रोकिएको थियो । मन्दाकिनीको आचरण र पढाई राम्रो भएको चर्चाले धर्मानन्दको खानदानी परिवार लोभिएका थिए नभन्दै प्लस टु सकेको दुईबर्ष पछि खानदानी परिवारले मन्दाकिनीलाई मागेर विवाह गरे । मन्दाकिनीको विवाहको कुराले अमृतलाई चोट नपुगेको भने होइन् । उसको विचार थियो—पढाई सकाएपछि मन्दाकिनीसँग मागी विवाह गर्ने ।

मन्दाकिनीको त्यो रात अनिँदोमै वित्यो । उनले आफूलाई परेको जटिल समस्या अमृतलाई सुनाएर सल्लाह र सहयोग माग्ने विचार गरिन् । मन्दाकिनीले भेट्न चाहेको कुरा म्यासेज गरिन् । रिप्लाईमा अमृतले ओके गरे । उनले बिहानै अमृतलाई भेट्न सहर जाने चाँजोपाँजो मिलाइन् ।

“बुबा, मेरो पेटमा केही समस्या परेको छ । शरीर पूरै झनझनाउने पोल्ने समस्या भएको छ । म आजै अस्पताल जान्छु र एकपटक पुरा शरीर चेकअप गराउँछु ।” मन्दाकिनीले बिहान झिसमिसमै बुबालाई सुनाइन् ।

अस्ति भर्खर बिहे गरेकी छोरी एक्लै सहर पठाउन बुबाले मान्नुभएन । साथमा कि म आफैं जान्छु कि ज्वाइँलाई साथ लिएर जा भन्नुभयो । उनले बुबालाई विश्वस्त बनाउन निकै समय लागेको थियो । उनी फुत्किछाडिन् ।

अमृतले मन्दाकिनीलाई क्याम्पसमै बोलाएको थियो । उनी सरासर क्याम्पसमै पुगिन् । अमृतले एक घण्टी मात्र पढेका थिए । त्यस दिनको बाँकी पढाई छाडेर उनी क्याम्पसबाट बाहिरीए र दुवैजना ठुलो चउरको एकान्ततिर लागेर बसे ।

मन्दाकिनीले आफ्नो इच्छा विपरित विवाह भएको, विवाहमा भएका गतिविधि, विवाह भएर गएको घर श्रीमानका कुरा, विवाह भएर घरमा गए पश्चातका समस्या सबै बेलिविस्तर लगाइन् । रोएर रात कटाएको कुरा बताइन् । दुलही फिराउन जाँदा आआफू एक्लै गएको, बाटामा जाँदा श्रीमानले फोनमा भनेको रेकर्डदेखि आत्महत्या गर्न तयार भएको कुरा समेत बेलिविस्तार गरिन् र अमृतको काखमा घोप्टो परेर रोइन् । त्यस बेला अमृत पनि बलिन्द्र धारासहित पीडामा डुबेका थिए । केही समयपछि दुवैले धैर्य लिए । मन्दाकिनीले आफ्नो योजना सुनाइन् । अमृतले मन्दाकिनीको योजनालाई सहर्ष स्वीकार गरे । योजना साकार पार्न चाँजोपाँजो मिलाउने जिम्मा लिए । मन्दाकिनी त्यसै दिन बेलुका माइती घर आइपुगिन् ।
………………………
सोह्रौं दिनको साइत आइपुग्यो । त्यसदिन मन्दाकिनीले केही सामान किनमेलको लागि भनेर बुबाआमालाई लिएर सदरमुकाम गइन् । बाटामा जाँदा बुबा भन्दै हुनुहुथ्यो, “बेलुका ज्वाइँ आउनुहुन्छ, छिट्टै घर फर्कनुपर्छ ।” आमाले भन्दै हुनुहुन्थ्यो, सामान त हिजो अस्तिकै दिनमा किन्नुपथ्र्यो ।” मन्दाकिनीले केही जवाफ फर्काइनन् । उनीहरू सदरमुकाम पुगेर सरासर एउटा हलमा छिरे । हलभित्र टनाटन मानिसहरू । रामानन्दले सम्धी र ज्वाइँलाई पनि देखे र भने, “ए सम्धी र ज्वाइँ पनि त आउनुभएको रहेछ, नमस्कार सम्धी, नमस्कार ज्वाइँ ।” सम्धी र ज्वाइँले नमस्कार समेत फर्काएनन् । बरु ठुला आँखा पल्टाएर हेरे । सबै जना मौन थिए ।

न्यायधिशले कामकारवाही अगाडि बढाउनुभयो ।

वादी पक्षका वकिलले मन्दाकिनीको बयानसहितको रिर्पोट प्रस्तुत गरे ।

प्रतिवादी पक्षबाट मन्दाकिनीका ससुरा धर्मानन्दले बोले, “यो सब झुठो हो । बिना प्रमाण आक्षेप लगाएर बदमान गराउन प्रपन्च रचिएको हो ।” भनेर वादी पक्षको बयानलाई अस्विकार गरे ।

एकछिन् वादविवाद चल्यो । न्यायधिशले अर्डर भन्दै मन्दाकिनीको विचार राख्न समय दिनुभयो ।

मन्दाकिनीले डेस्कमा उभिएर आफ्ना कुरा राख्न प्रारम्भ गरिन्, “श्रीमान ! यो मेरो विवाह इच्छाविपरित भएको हो । मेरो सोझो र गरीब बुबालाई सम्पति केही चाहिँदैन, तपाइँकी छोरी केराको पातमा गोडा धोएर दिए पनि हामी मञ्जुर छौ भनेर फकाउने काम भयो । मेरो बुबा पनि ठुलो खानदानबाट यसरी माग्न आएकोमा मख्ख पर्नुभयो । मलाई आमाबुबाले नाना कुराको लोभ देखाएर फकाउनुभयो । म गरीव भएपनि असल संस्कारमा हुर्केँबढेर पढेँ । मैले इच्छा नहुँदा नहुँदै आमाबुबाको आदर्श वचन नकार्न सकिन् । बुबाले जोरीपारीको मुखेन्जी इज्जत राख्नुपर्छ भनेर अलिअलि भएको जग्गाजमिन पनि फाइनान्समा धितो राख्नुभयो । ढ्याके ब्याजमा ऋण लिएर धुमधामसँग मेरो विवाह गरिदिनुभयो । बिहे गरेर भित्रिएँ । सबै पाहुना बिदावारी भइसकेपछि ससुराले भन्नुभयो, कस्तो छोटासँग बिहेबारी गरिएछ । न सुन छ, न जन्तीको मानसम्मान छ । सासुआमाले त्यस्तै व्यवहार गर्नुभयो । मेरा पतिले यो सामानको सूची दिँदै भन्नुभयो, यति सामान नआएसम्म यो घरमा तेरो बास हुने छैन । सामान यसप्रकार छ श्रीमान ! मारुती कार १, सुन १० तोला, ३४ इन्चको टेलिभिजन १, कम्युटर १ यसै गरी लिष्टमा ५० थरीका सामान छन् । म यो लिष्ट श्रीमानलाई टक्रयाउँछु । यतिका दाइजो दिन मेरो माइतीको हैसियत छैन । श्रीमान, मैले दुई रात त्यस घरमा रोएर बिताएँ । मैले आफ्नो पतिको कोठा देख्न पाइन् । गोठमा मेरो ओछ्यान लाग्यो । म कुमारी छु । श्रीमान, माइत जाँदै थिएँ, आधा बाटोमा पुग्दा मेरा पतिले फोन गर्नुभयो र भन्नुभयो त्यो रेकर्ड सुनाउन अनुमति चाहन्छु ।
मन्दाकिनीले मोबाइल अन गरिन र सुनाइन्, “यदि लिष्ट अनुसारको सामान १५ दिनभित्र आएन भने तेरो लास समेत गायब हुनेछ । श्रीमान ! अब म त्यस घरको कसैको बुहारी र कसैको श्रीमती भएर बस्न सक्तिन । मेरो ज्यानको सुरक्षा होस् र विवाहको बदर गरी पाउँ भन्दै श्रीमान समक्ष निवेदन गर्दछु ।”

रामानन्दका श्रीमान्श्रीमतीलाई छाँगाबाट खसे जस्तो भयो । रामानन्दका सम्धी र ज्वाइँले नतमस्तक हुदै घोसेमुन्टो लगाए, त्यहाँ उपस्थित सबैजना जिल्ल परेर हेरिरहे ।

त्यतिखेरै अमृतले बोल्ने समय मागे र अनुमति पनि पाए, “श्रीमान यो दाइजो प्रथाको अन्त गर्न, समाजमा नारीहरूले प्रेम र सम्मानपूर्वक जीवन यापन गर्न पाउनुपर्छ भनी समाजमा सचेतना अभियानको थालनी गर्नु आवश्यक छ । अभियानको शुभारम्भका निमित्त यदि मन्दाकिनीको विवाह बदरको सुनवाई भएको खण्डमा र उनको मञ्जुरी भएमा आजैका मितिमा म उनीसँग अदालती विवाह गर्न चाहन्छु ।”

न्यायधिशबाट मन्दाकिनी र आनन्द विचको विवाह बदर भएको सुनुवाई भयो ।

मन्दाकिनीले अनुमति माग्दै भनिन्, “श्रीमान ! म आजै अमृतसँग कानुनी विवाह गर्न मञ्जुर छु ।” हलमा गड्गडाहट ताली बज्यो ।

मन्दाकिनी र अमृतको राजीखुसीमा कानुनी विवाहको तयारी भयो । न्यायधिशले मन्दाकिनी र अमृतको हातमा विवाहको प्रमाणपत्र थमाउनुभयो । उनीहरूले एकअर्कालाई माला लगाए । एकअर्काले औंठी लगाएर विवाह सम्पन्न गरे ।

त्यसै समयमा प्रमाणसहित ज्यान मार्ने धम्की र अकुत सम्पति दाइजो मागेको अभियोगमा आनन्दकोे हातमा हतकडी लाग्यो । सबैका आँखा एउटै हतकडीमा थिए । मन्दाकिनी साहसको लामो स्वास फेर्दै संघर्षको प्रतिफललाई आत्मसात गर्दै थिइन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •