प्रभा बरालको नियात्रा ”उडिसातिर उडेको मन”


[ss_social_share]
लेखक : लेखापढी      ११ बैशाख २०७८, शनिबार १०:१९ मा प्रकाशित     
प्रभा बरालको नियात्रा ”उडिसातिर उडेको मन”

सहकारीमा आबद्ध भएकीले लघुवित्तसम्बन्धी पाँच दिने अन्तर्रास्ट्रिय सेमिनारमा सामेल हुने मौका पाएँ । कार्यक्रम हुने स्थल थियो भारतको उडिसा । धेरै नै सुनेको नाम । भारत र नेपालका कतिपय सांस्कृतिक सम्पदादेखि भेषभुषा र अन्य कुराहरू मिल्दाजुल््दा भएकाले घुम्ने तीब्र इच्छा थियो । जान पाउँला त म त्यहाँ भन्दै आँखामा नाच्न थाले यात्राका अनेक विम्ब प्रतिविम्बहरू ।

जाने—आउने सबै समय हिसाब गर्दा त करिब नौ, दश दिन हुने रहेछ । घरमा अनुमति मिल्ने हो कि होइन् । अफिसमा बिदा मिल्ला कि नमिल्ला भन्ने द्धिविधाबीच मनको अदालतले भने जाने नै निर्णय गर्याे । सम्भावनाको क्षितिज उज्यालो देखेर मन एकपटक आफैसँग मुसुक्क हाँस्यो ।

खासै घर छोडेर सजिलै कतै पनि निस्किन पाइएको छैन । सम्बन्धित ठाउँमा लुरुलुरु जाऊ । फर्क । घरको सुसेधन्दामा लाग । मौका परे यसो साहित्यिक कार्यक्रमतिर जाऊ, नत्र घरमै बस । यो बाहेक अरू उल्लेखनीय केही हुन सकिरहेको थिएन् ।

नेट खोलेँ । गुगलमा उडिसा सर्च गरेँ । उडिसाका बारेमा मनै लोभ्याउने तस्वीर र जानकारीहरू रहेछन् । एउटा दुखद खबर पनि थियो । उडिसाको समुद्र अर्थात पश्चिम बंगालबाट केही समय अघि मात्र नेपालमा आएको ‘हुदहुद’ नामक बेमौसमी आँधीको प्रभावबाट नेपालभरि भारी वर्षा भई ठूलो धनजनको क्षति भएको थियो । अन्नपूर्ण हिमश्रङ्खलामा हिमपहिरो गएर कैयौँ पर्यटक हिउँमा पुरिएका थिए । यस्तो खालको भवितव्य त स्वदेश विदेश जता पनि भइरहन्छ । यसमा उडिसाको के दोष भन्ने लाग्यो । जे भए पनि हुदहुद आएको समुद्र हेरिन्छ भन्ने लाग्यो । उडिसालाई प्राचीनकालमा कलिग र उत्कल नामले चिनिने रहेछ । पर्यटन नगरीका रूपमा चर्चित छ भन्ने थाहा पाउँदा राम्रै ठाउँमा जान पाइयो भनेर दंग परेँ ।

बेलुका श्रीमानलाई आफूले सहकारीबाट उडिसा जान पाएको अवसर र पर्यटकीय नगर उडिसाका बारेमा बताएँ । कुरा सुनेपछि उहाँ पनि खुसी हुनुभयो ।

‘भारत त मैले पनि राम्ररी घुम्न पाएको छैन । अरु थुप्रै मुलुक घुमियो बरु छिमेकी राष्ट्र भइकन भारतका धेरै प्रान्त जाने मौका मिलेकोे छैन । फेमिली टुर जान पाए पो रमाइलो, एक्लै जान्छौ त ?’ ‘यो त अफिसियल कुरा पर्र्यो । मैले भनेर भएन । के गर्ने ?’ अनुहारभित्रको खुसी लुकाउँदै म बोलेँ । धेरै खुसी देखिँदा पनि, एक्लै जान पनि कति रमाएकी भन्नुहोला भन्ने पीर ।

‘यति लामो बिदा कलेजमा मिल्छ त ?’

‘जहाँ इच्छा त्यहाँ उपाय । जे त होला प्रयास गरिहेर्छु नि’

आखिर कलेजबाट पनि बिदा मिलाईछाडेँ ।

राम्रो कामका लागि पनि घरका अरु सदस्यबाट सहयोग नपाउने कुरै भएन । परिवारसँग विश्वासको वातावरण कायम गर्न सके, किन असहयोग मिल्थ्यो र ? अब भने म पुरै उडिसा जाने तयारीमा लागेँ । दिनहरू पनि उज्याला देख्न थालेँ । मन खुसी छ भने सबैतिर खुसी नै खुसी नै देखिन्छ भन्थे नभन्दै हो जस्तो लाग्यो ।

यात्रालाई कसरी रोचक बनाउने भनेर हामी सहभागी साथी सबै मिली सल्लाह गर्यौं । जाँदा कलकत्ता पनि घुमेर जाने सल्लाह भयो । तर घर फर्कदा भने पुरै एघार दिन हुने रहेछ ।

केही दिनका लागि स्वतन्त्र पंक्षी बनेर आकाशमा विचरण गर्न पाउँदाको खुसीले गीता दिदी र म अग्घोरै रमायौ ।
भारत छिमेकी राष्ट्र भए पनि यसको छेउछाउमा मात्रै पुगेकी थिएँ । सुनौली हुदै नौतनवाको रेल स्टेशनसम्म पुगे पनि भित्र भित्रसम्म पुगेकी थिइनँ । कुनै पनि ठाउँ घुम्नका लागि कति तारतम्य मिलाउनु पर्छ । आफु खुसी भ्रमणकै लागि भनेर पनि अहिलेसम्म त्यो दिन जुरेको थिएन । समयलाई कुर्दाकुर्दै कैयौँ महत्वपूर्ण क्षणहरू चिप्लिएका थिए । प्रमुख कुरा त आफ्नै उमेर समेत चिप्लिरहेको थियो ।

दिनहुँ भारतका समाचारहरू हेर्नु र पढ्नु । धार्मिक, सामाजिक र सांस्कृतिक हिसाबले समेत नेपाल र भारत एकै हुन् भन्ने सुन्दै आइरहे पनि भारतीय भूमिमा खुट्टा टेक्न नपाइरहेको अवस्थामा आफुले पाएको यो अवसर निकै लोभलाग्दो बनेको थियो मेरो लागि ।

मिति २०७१ कार्तिक २१ गते दिउँसो टाटा सुमो हामीलाई लिन हाम्रो घर नजिकै आउने भयो । काठमाडौ, दोलखा, धादिङ, नवलपरासी, विराटनगरका सहकारीसँग सम्बन्धित हामी सोह्र जनाको समूह थियौ । कार्यक्रमको आयोजना गर्ने सहकारीको छाता संगठन ‘नेफुस्कन’ थियो । नेफुस्कनकी कर्मचारी सोना गुरुङको नेत्तृत्वमा हाम्रो भ्रमण टोली दक्षिणकाली, कुलेखानी हँुदै हेटौडा निस्किने भयो ।

मेरो लागि त यो बाटो पनि नौलो नै थियो । छोटो दुरीको बाटो प्रयोग गरेर हेटौडा निस्किएकै थिइनँ बरू बारम्बार टेलिभिजनका स्क्रिनमा यहाँको घुमाउरो र ओरालो बाटोका कारण यात्रुवाहक गाडी दुर्घटना भएको र यात्रुहरूको अकाल मृत्यु भएको समाचार भने सुनिरहेकी थिएँ । कताकता मन पनि डराउँदै थियो । सबै जना भेला भएर गफ गर्दै खानेकुरा खाँदै गरेको उन्मुक्त यात्रा रमाइलो भइरहेको थियो । ड्राइभर पनि निकै रसिकलाग्दा रहेछन्् । ड्राइभिङ फिल्डमा लामो अनुभव भएका उनी दक्ष एवं कुशल चालक रहेछन् । हामीलाई लाग्यो आजको हाम्रो यात्रा पक्कै पनि शुभ हुनेछ । यति सिपालु त ड्राइभर छन् ।

हुन त दुर्घटना भन्ने कुरा कि सिपालुको हुन्छ रे कि सिकारुको हुन्छ । तर जे भएपनि सामना गर्ने भनेर यात्रामा निस्केपछि अरू सबै कुरा गौण नै हुने भए । कुलेखानी जलविद्युत आयोजनाको बाँध हेर्ने अवसर पनि हालसम्म मिलेको थिएन । सबै मिलेर एकछिन पैदल हिँडदै उकालो उक्लन थाल्यौं । आकर्षक लाग्दा सेता गोला ढुंगैढुंगाको पर्खाल लगाएर अग्लो बनाइएको शीर्ष आसनमा इन्दसरोवर ताल शान्तसँग बसेको रहेछ । अत्यन्त सुन्दर दृश्य लाग्यो । फोटो खिच्न नपाइने रहेछ । एकैछिनमा मन्त्रमुग्ध भएर दृश्यावलोकन गर्यौं ।

कोरियन सरकारको सहयोगमा निर्मित यो बाँध धेरै नै राम्रो रहेछ । सुन्दर, शान्त र स्वच्छ वातावरण थियो वरिपरि । कुलेखानी विद्यतगृह हेरेपछि नजिकै खाजा पसल रहेछ । गाडीहरूको खाजा खाने अड्डै रहेछ यो । तात्तातो बाफ आइरहेको चना र आलुको तरकारी देख्दै मुखै रसायो । प्लेटमा लिएर खान थाल्दा अचाक्ली पिरो रहेछ । साहुजीलाई किन यति खुसार्नी राखेको भन्दा त अकबरे खुर्सानी हो बहिनी ! केही पनि हुँदैन खानुस् भने । स्याँस्याँ र सुसु गर्दै नाकबाट पानी बगाएर भए पनि खाइयो ।

अकबरे खुर्सानी प्रयोग गर्न जाने औषधी हुन्छ भन्थे सही नै रहेछ कि जस्तो लाग्यो । एकछिन त पिरो भयो तर पछि केही असर देखाएन । यही पिरोले नै तरकारी भनेजस्तो भएको रहेछ कि ! मकवानपुरको भीमफेदी काटेर आनन्दसँग हेटौडा निस्कियौ । बेलुकासम्म वीरगंज पुग्ने हाम्रो योजना थियो ।

वीरगंजको मकालु होटल बुक गरेका थियौ काठमाडौँदेखि नै । तराईका फाँटहरु हेर्दै अघि बढिरह्यौँ । बीचबीचमा साथीहरुको हाँसो र ख्यालठट्टाले यात्रा गरेको पत्तै पाएका थिएनौँ । आरामले बेलुका ७ बजे पुग्यौ । पहिलोपटक वीरगंजमा पाइला परेका थिए । हपक्क गर्मीले टाउको उठायो । जे भएपनि घडीको सुईअनुसार चल्नु थियो । आफ्नाआफ्ना कोठाका चाबी बुझ्यौँ र खाना खाइवरी कोठाभित्र पसेर आराम गर्न थाल्यांै ।
पुरुष साथीहरू बजारतिर घुम्न निस्किनु भयो । हामी भने थकाइ लागेकोले बाहिर निस्कन मन लागेन । लुपुक्क सुत्यौँ ।

भोलिपल्ट बिहान मात्र सम्पूर्ण वीरगंज परिसर घुम्यौ । माइस्थान देवीको मन्दिर दर्शन गरेर फनक्क बजारको फन्को  मार्यौं  । काठमाडौ भन्दा पनि बढी फोहोर रहेछ वीरगञ्ज बजार । जता हेर्याे त्यतै फोहोर मात्रै छ । झिँगा पनि भन्केका । ढल र वर्षाको पानी बग्ने नाली फोहोरले भरिएका र त्यहाँ कालै झिँगा भन्किएका थिए । असाध्यै दिगमिग लाग्दो फोहोर थियो । त्यति फोहोरी वातावरणमा पनि मानिसले कसरी आफ्नो दैनिकी धानेका होलान् जस्तो लाग्दथ्यो ।

हामी बसेको होटल मालिकले इण्डियन प्लेट भएका दुई वटा टाटा सुमो गाडी हामीलाई झिकाएर ठूलो सहयोग गरे । पटनासम्म हामी बिहार राज्य हेर्दै गाडीमा जाने सल्लाह भएको थियो । ठीक १० बजे वीरगंजबाट रक्सौल हुँदै जाने तयारी गर्यौं ।

आँखाभरि जिज्ञासाका उरुङहरू बोकेर हामी भारत जाने खुसीमा बच्चाजस्तै फुरफुर प¥यौँ । मकालु होटलका सहयोगी कर्मचारीलाई र वीरगंजलाई बाईबाई गर्दै हामी गन्तव्यमा निस्क्यिौँ ।

नेपाल र रक्सौलको सिमानामा नै करिब ४५ मिनेट जति जाममा पर्यौं । टाँगा, अटोरिक्सा र बयलगाडीमा नेपालतिर सामान ओसार्नेको भीड थियो । तेलका ट्याङकर पनि उत्तिकै थिए । नेपाल र भारतका यस्ता खुला सिमानाबाट राजस्व छलेर पनि करौडौँको व्यापार हुने अनुमान गर्न सकिन्थ्यो । यहाँबाट यति सजिलै पेट्रोलियम पदार्थका गाडी छुटेका छन् जस्तो लाग्यो तर काठमाडौँमा भने कहिले के कहिले के बहानामा सधैँ पेट्रोलियम हाहाकार भइरहन्थ्यो । राजधानीका पेट्रोलपम्प र हजारौँ सवारी साधनका लामहरुका नक्शा आँखामा छाए । निराशाले अनुहारै मलिन भएझैँ लाग्यो ।

बल्ल जामबाट मुक्ति पायौ र रक्सौल पुग्यौ । ओहो ! रक्सौलको झिलिमिलि । मेरै विवाहमा पनि मेरो श्रीमान विवाहको लुगाफाटो किन्न रक्सौल गएको भन्नुभएको सम्झेँ । पछि लगाइने हो कि होइन एकैचोटी दर्जनभन्दा बढी साडी लगायत अरु कुरा किन्ने हाम्रो चलन । धेरै सामान किन्दा मिलाएर पाइन्छ भनेर बिहेबारीमा रक्सौल र रुपेडिया जानेको भीड थियो पहिलापहिला । आजभोलि अलि कम सुन्न थालेकी छु यस्ता कुरा । असन र इन्द्रचोकको मान्छेको जात्रा पनि यतिबेलै सम्झिएँ ।

परपर रेलका ठूलाठूला लिकहरू देखिए । हामी भने गाडीको रफ्तारसंगै कुदिरहेका थियौ । त्यो रेल चढ्न पाए भन्ने लाग्यो । तर हाम्रो रेलको टिकट पटनाबाट मात्र थियो ।

नेपालकै वीरगंजको जस्तो फोहोर, अव्यस्थित बसोबास, पिच नगरिएका सडक थिए यहाँ पनि । पटना पुग्न करिब ४ सय किलोमिटर लाग्छ भन्दै थिए सुमो ड्राइभरहरू । यकिन कुरो अन्त बुझन पाइएन् । भारतको मोतीहारीस्थित सुगौली भन्ने स्थान देखेपछि मलाई झट्ट इतिहासको कुरा याद आयो । पृथ्वीनारायण शाहले यहाँसम्म नेपालको क्षेत्रफल बढाएका रहेछन् । सन १८१६ मा मार्च ४ मा नेपाल अंग्रेजको युद्ध यही सुगौली सन्धीसँगै समाप्त भएको थियो । हाम्रो सीमा त हाम्रा पुर्खाले यति परसम्म पो पुर्याएका रहेछन् तर हाल आएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सीमित हुन पर्याे भन्ने लाग्यो । गाडीमा चर्र्कोसँग हिन्दी गीत बजिरहेको थियो । साथीहरू झोलाबाट मीठामीठा खानेकुरा झिक्दै बाँडदै गरिरहेका थिए । गीतको संगीत खानेकुरै खानेकुराले उक्सिएको टम्म पेट अनि नौलो वातावरणको यात्राले रमाइलो अनुभूति भइरहेको थियो ।

ड्राइभरहरूलाई खाजा खवाउन र हामी पनि तातो चिया पिउने उद्देश्यले आधाघण्टा जति बीचमा रोकियौ । निकै प्रफुल्ल मुद्राले हामीले चिया र नास्ता गर्यांै । लगभग १०० कि।मि। कच्ची बाटो सकिएको थियो । अब भने गुजरातका मुख्य मन्त्री नितिश कुमारले बनाएको आठ लेनको निकै राम्रो पक्की सडकमा आइपुगेका थियौ । विशाल विशाल फाँटहरू तिनमा उखुबारी, कार्तिकको महिना भएकोले धानको फाँट टाढा टाढासम्म फैलिएको थियो । बाटोमा खासै सवारी साधन पनि धेरै थिएनन् । कहीँ कहीँ रेलको लिक नजिक आउने बाटो पर्दा रोकिनु पथ्र्यो नत्र सरासर हाम्रो गाडी कुदिरहेको थियो । बेलका ८ः३० बजेको हाम्रो रेलको टिकट थियो । ७ः४५ बजे मात्र हामी पटनाको गंगा नदीको पुलमाथि आइपुग्यौ । पुल मात्रै साढे पाँच किलोमिटर लामो रहेछ । सबै मानिस अफिस समय सकिएर घर जाने हतारोमा यहाँ पनि निकै जाममा फस्न पुग्यौ । गाडी सर्दै सर्दैन । घडीको सुई सरेको सर्यै छ । जाम खुल््दैन । हेर्दाहेर्दै आठ बज्न थालिसक्यो, बल्ल गाडीले गति लिन थाल्यो । गंगा नदीको जाम पार गरेर पनि पन्ध्र मिनेट लाग्यो रेल स्टेसनसम्म पुग्न ।

८ ः १५ भइसकेको थियो । यसो रेलको टिकट निकालेर हेर्छौ त ड्राइभरले हामीलाई अर्कै रेल स्टेशनमा पो ल्याएछ । फेरि हामी जाने रेल स्टेशन पुर्याउन भन्यौ । एकैछिनमा साथी तितरबितर, सम्हालिनै पाँच मिनेट जति लाग्यो । यहाँ मिनेट र सेकेन्डको कुरा छ । फेरि बिचबिचमा अरु पनि जाम परिरहेको थियो । एक अरब पैतिस करोड जनसंख्या भएको देशमा मान्छे त कति कति । किरा सरी नै रहेछन् । फेरि पटना बिहारको राजधानी भएर होला, असाध्यै भीडभाड थियो । बडो बेचैन भइयो, अब रेल छट्ने भयो भनेर । रेल गाडी जस्तो हुदैन । को आए, को गए यहाँ कसैले ख्याल गर्दैन । आफैँ चलाख भएर चढे चढ्यो, नचढे रेल छुट्यो भन्ने हुन्छ । धन्न धेरै टाढा रहेनछ अर्को रेल स्टेशन । ८ ः २५ मै पुर्यायो । सामान झार्दा र त्यहाँको भीड छिचोलेर रेलको डिब्बा खोज्न हैरान फेरि ।

साथीहरू सामान निकाल्दै थिए । मैले एउटा भाइलाई टिकट देखाएँ र आफ्नो डिब्बाको गेट नम्बर पत्ता लगाउन सहयोग मागेँ । उनले सजिलै रेलको डिब्बा देखाइदिए । सय दुई सय वटा डिब्बा हुने भारतीय रेलमा आफ्नो प्रवेश गर्ने ढोका भेट्टाउनु अनुभव नभएकालाई गारै हुने रहेछ । धन्न त्यो भाइले तुरुन्तै देखाइदिइहाल्यो र पो । उसलाई हामीले चिया खाने पैसा दिन समेत भ्याएनौ । पछि भने निकै थकथकी लागिरहयो । हामी पस्ने प्रवेशद्धारमै नाम टाँसेको रहेछ शायद नेपाली यात्रुले मेसो नपाउलान् कि भनेर हो कि जस्तो लाग्यो । आआफ्नो नाम देखेपछि सासै नफेरेर भित्र पस्यौं ।

पसेको एकैछिनमा रेल हिँडन थालिहाल्यो । दुई मिनेट मात्र ढिला भएको भए हामी आज अलपत्र पर्ने रहेछौ । रेल छुटेको भए रातभरि चिसोमा कहाँ बस्नु । फेरि कलकत्ताबाट उडिसा जाने रेल पनि छुट्ने । धन्न नेपाली समयको हाम्रो घडीमा ८ ः ४५ भएकोले मात्र हामीले भ्याएका रहेछौ । नत्र बिहानभरि वीरगञ्ज घुमेर बस्यौ । एक घण्टा अघि मात्र हिँडेको भए यो सास्ती खेप्नु पर्ने थिएन । जाममा पनि फसिने थिएन् । बिना गृहकार्य र सबै उस्ताउस्तै मिलेर जानुको फल राम्रो भोगिएको थियो । ‘हाम्लाई पुरै थाहा छ । तपाईहरू केही चिन्ता लिनु पर्दैन’ भन्ने पुरुष मित्रहरू हामी भन्दा पनि काँचा र अव्यावहारिक देख्दा नमच्चिने पिङको सय झट्का लाग्यो । संगत नगरी मान्छेलाई कहाँ चिनिन्छ र ?

रेलभित्र पसेपछि भने बल्ल हाम्रो सास आयो । अब तिर्खा पनि लाग्यो । भोक पनि लाग्यो । फेरि खोल्न थाल्यौं आफ्ना झोलाहरू । रेलको गति बढिरहेको थियो । एसी वाला रेल भएकोले आधिकारिक बाहेक अन्य पसले पस्न पाउँदा रहेनछन् । यात्रुको पनि १०० प्रतिशत सुरक्षा हुने रहेछ । चोरको डर केही हुने रहेनछ । पानी र चिया किन्दै खायौं अरू कुरा किन्न मिलेन ।

भोलिपल््ट बिहान रातको चार बजे हामी कलकत्ताको शालिमार रेल स्टेशनमा झर्याैं । बेलुका ३ बजे मात्र उडिसाका लागि प्रस्थान गर्दै थियांै । कलकत्ताबाट उडिसाको भुवनेश्वर भने आजै राति पुग्दै थियौ । हामीसँग अब भने पुरै नौ दश घण्टाको समय बाँकी थियो । यो बीचमा कलकत्ताका महत्वपूर्ण ठाउँहरू घुम्ने र उडिसा जाने योजना बन्यो । तीन वटा ट्याक्सी भाडामा लिएर हामी कलकत्ताको कालीघाटको मन्दिर, भिक्टोरिया म्यूजियम, प्रसिद्ध पार्कहरू र अन्य मन्दिरहरू घुम्ने विचार ग¥यौँ । यसका लागि सबैभन्दा राम्रो विकल्प ट्याक्सी र ट्याक्सी चालकले नै गाइडको काम गरिदिए राम्रो भन्ने लाग्यो । यी यी ठाउँहरुमा घुमाइदिनु, रिजर्भमा जान्छौँ भनी ट्याक्सी चालकलाई भन्यौँ । उनीहरुले महङ्गै भने । केही घटाइ माग्यौँ नयाँ देखेर खास घटाएनन्, होस् जताततै लगिदिन्छन । नबुझेका कुरा सोधाँैला, यस्ता बेला दुई चार पैसा बढी गए पनि केही हुन्न भन्ने लाग्यो र थपक्क बस्यौँ ट्याक्सीमा । निकै भव्य रहेछ कलकत्ता । सरसर्ती घुम्दा पनि धेरै कुरा देखिए । हावडा रेल स्टेशन, हावडा ब्रिज र सुन्दर पार्कहरू छिचौल्दै कालीघाटको दर्शन गर्न गयौँ । भीड रहेछ । एउटा मानिस हामीतिर खुसुक्क आए र यति पैसा दिनुस््, लाइनमा नबसी देवीको समीप पु¥याइदिन्छु भने । धर्मका नाममा गरिएको यो घुसखोरीमा हामी संलग्न भयौँ र कालीको दर्शन ग¥यौँ । रातो जिभ्रो निकालेकी, पुराणमा वर्णित दुष्टको वध गर्न कस्सिएकी काली न काली माताको रौद्र रुपको भव्य प्रतिमा रहेछ । दर्शन गरेर धन्य भइयो जस्तो लाग्यो । हुन पनि कलकत्ताको विशेष दर्शनीय मन्दिर रहेछ कालीघाट ।

भिक्टोरिया म्युजियम आइतबार बन्द हुने रहेछ, हेर्न पाइएन । तस्वीर खिच्यौँ । अगाडिको विशाल चौर थियो । ‘हाम्रो देशका प्रधानमन्त्री मोदीले भाषण गर्ने ठाउँ यही हो’ भनी ट्याक्सी चालकले भने । भोकले प्याकप्याकी परेका थियौँ । ‘यहाँ वरिपरि राम्रोे खाना खुवाउने ठाउँ कहाँ छ, त्यहाँ लैजानुस् न’ भनेर उनै ट्याक्सी चालकलाई भन्यौँ । कठै बरा ! आफैले खाइरहेको अति सामान्य ठाउँमा लगे । खाऊँ कि नखाऊँ भयो सबैलाई । एक अर्काका मुख हे¥यौँ । ‘नयाँ अनुभव लिऊँ अब’, साथीहरूले भने । लौ त भनेर हामी खान कस्सियौँ । मोटामोटा चामलको भात आइपुग्यो । कहिले खाइएको थिएन, यस्तो चामल । देख्दै खान मन लागेन । आलुको मसिनो रातो भुजुरी । फर्सीको तरकारी, पातलो दाल ।

खान बस्दा भने जति मोटा चामल थियो, खाँदा भने नरम लाग्यो । भोक मीठो थियो कि भोजन कुन्नि, खायौँ खाना । जतिसुकै मनले नमानेपनि यतिका मान्छेलाई जानेबित्तिकै खुवाएकोमा पसलेप्रति आभारी बन्यौँ र फेरि ट्याक्सीमा बाँकी स्थान घुम्न थाल्यौँ । मानिसको धुइरो थियो यहाँ पनि । नौला मानिसका भावभङ्गिमा नियाल्दानियाल्दै समय फुत्त चिप्लियो ।

निश्चित समयमै अर्को सातरगाछी रेलस्टेशन पुग्यौ । आफ्नो डिब्बाको नम्बर रेल आउने आउने बेला मात्र डिस्प्ले बोर्डमा देखिने रहेछ । कहाँ देखाउँदै छ भनेर मानसिक तनावमा यता र उता भौतारिनु पर्दा रेल चढ्न पनि दुखै रहेछ भन्ने लाग्यो ।

बल्ल बल्ल पत्ता लाग्यो । उडिसाको सदरमुकाम भुवनेश्वर जाने रेलको डिब्बा रोकिने ठाउँ र सबैजना चढ्यौ । एकछिनसम्म त उज्यालो थियो, हेर्दाहेर्दै अंध्यारो भयो वातावरण । रेलको लिकको घत्रयाकघुत्रुक आवाज, डिब्बाभित्रका अस्पष्ट स्वरहरु र हामीबीचकै कुराकानी हाम्रा साथी बन्न थाले ।

बेलुका दश बजे मात्रै पुग्यौं भुवनश्वेर । हामीलाई कार्यक्रम आयोजकले गाडी लिएर लिन आएको थियो । छ दिनसम्म हामी बस्ने स्थान भुवनेश्वरको प्रसिद्ध किट युनिभर्सिटी थियो । भुवनेश्वरकै प्रसिद्ध युनिभर्सिटी रहेछ यो । डाक्टर र इन्जिनियरिङ दुवै पढाइ हुने यस कलेजको ख्याति टाढासम्म फैलिएको छ रे ।

हामी बस्ने गेस्टहाउस पनि तारे होटलभन्दा कम्ती रहेनछ । अति मीठो खानासँगै थकित शरीर लिएर रातको १ बजे बल्ल हामी सुत्यौं ।


प्रभा बराल 

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.9K
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.9K
    Shares