बढ्दो स्वास्थ्य संकट र हाम्रो दायित्व (सम्पादकीय)


[ss_social_share]
लेखक : लेखापढी      ९ बैशाख २०७८, बिहीबार १२:३० मा प्रकाशित     
बढ्दो स्वास्थ्य संकट र हाम्रो दायित्व  (सम्पादकीय)

विगत एक वर्षभन्दा लामो अवधिदेखि विश्व कोभिड-१९ संक्रमणका कारण समस्याको सामना गरिरहेको छ । यसै सन्दर्भमा कोरोनाको बेलायती भेरियन्टको आगमनसँगै जनमानसमा त्रास बढेको छ । विगतमा भएको जनधनको क्षतिका कारण मानव समाज नै त्रसित भएको बेला महामारी कम हुनुको विपरित नयाँ रुपमा झन् बढ्दै जानुले चिन्ता बढाएको छ । नेपाल आफैमा सानो मुलुक अझ त्यसैमा भारतसँगको खुला सिमानाका कारण थप समस्यामा परेको छ ।

भारतबाट दिनहुँ आउने नेपाली नागरिकको उचित व्यस्थापन नहुँदा सीमा नजिक रहेका क्षेत्रमा रोगको प्रकोप बढने र त्यसले सिंगो मुलुकमा नै असर गर्ने भएकोले स्वास्थ्य सजगता हुनु आवश्यक छ । सिमानाबाट आउने मानिसलाई आवश्यक चेकजाँच नगरेर भित्रिन दिँदा यसले ठूलो महामारीको रुप लिने देखिन्छ । सिमा क्षेत्रबाट विदेशिएका सर्वसाधारण  नेपालीलाई बन्देज लगाई मातृभूमि प्रवेश गर्न नदिनु उचित होइन । सिमा क्षेत्रहरुमा स्वास्थ्य संयन्त्रको बिशेष बृहत प्रबन्ध गरि भित्र्याउनु सम्बन्धित निकाय र सरकारको जिम्मेवारी हो ।

विगतमा लामो लकडाउनका कारण जनताको पेशा-व्यवसायमा प्रत्यक्ष असर परेको, विद्यार्थीको पढाइमा असर परेको, कतिपयले आफन्त गुमाउनु परेको कारण जनता आफैमा पीडा भोगिरहेका छन्, यस अवस्थामा राज्य पक्षका तर्फबाट उचित सम्बोधन हुनु आवश्यक छ । जनतामाथि कडाइ गर्ने तर जिम्मेवार तहमा रहेका व्यक्ति आफू विभिन्न सभा-समारोह, बैठकमा सहभागी भइरहने प्रवृत्तिले राम्रो सन्देश दिएको छैन । राज्यको महत्वपूर्ण निकायमा रहेका राजनीतिक नेताकार्यकर्ता, प्रशासनिक क्षेत्रका जिम्मेवार व्यक्तिहरूले अनावश्यक उत्ताउलो देखाउनु हुँदैन । सबैले स्वास्थ्य मापदण्ड पालन गर्नुपर्दछ ।

अरुलाई उपदेश दिनेले आफूले पनि अनुशासनमा बस्नु जरुरी छ । जनताको मनोबल उच्च बनाउने, प्रर्याप्त स्वाथ्य सामग्री एवम् जनशक्तिको व्यवस्थापन गर्ने, भीडभाड हुन नदिने, जनतालाई निरन्तर जागरुक बनाउने र स्वास्थ्य नियम पालन गराउन लगाउनु आवश्यक छ । जो, जहाँ जुन अवस्थामा भएपनि महामारी विरुद्धको संघर्षमा सबैको ऐक्यबद्धता आवश्यक छ । दोहोरिएर पुनः देखापरेको कोरोना संक्रमणलाई रोक्न सबै पक्षको सतर्कता खड्किएको छ ।

बहस, छलफल एवम् विवाद गर्न सकिने विषय अनेक हुनसक्छन् तर महामारी विरुद्धको अभियानमा शुन्य सहनशीलताका साथ स्वास्थ्य नियमको पालना गर्ने र गराउने तर्फ हामी सबैको ध्यान जानु आवश्यक देखिन्छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 2.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.3K
    Shares