चिकित्सा शब्दसागर लोकार्पण


लेखक : लेखापढी      ९ बैशाख २०७८, बिहीबार ११:०६ मा प्रकाशित     
चिकित्सा शब्दसागर लोकार्पण

काठमाडौं । वैशाख ९
हिजो वैशाख ८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा. कमल शर्मा लम्साल र डा. विपिन नेपालद्वारा संयुक्त रूपमा सम्पादित Dictionary of Medical, Nursing & Allied Health  (चिकित्सा शब्दसागर) नामक बृहत शब्दकोशको लोकार्पण भयो ।

विमोचन समारोह प्रा. राजेन्द्र सुवेदीको अध्यक्षता एवम्् यादव भट्टराईको सञ्चालनमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र विभागकी डीन प्रा. डा. दिव्या सिंह थिइन् ।

पुस्तको लोकार्पण प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र विभागका डीन प्राडा. दिव्या सिंह, काठमाडौँ विश्वविद्यालय चिकित्साशास्त्र विभागका डीन प्राडा. राजेन्द्र कोजु, नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला, तथा नेपाल स्वाथ्य व्यवसायी परिषद्का अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठबाट भएको थियो ।

पुस्तकका सम्पादक विनयकुमार शर्मा नेपालले स्वागत गर्दै पुस्तकको गर्भको इतिहास बताए । पुस्तकका विषयमा प्रा..डा. लक्ष्मणप्रसाद गौतमले प्रकाश पारेका थिए ।

यस पुस्तकमा १७७६ पृष्ठ पाठ्यसामग्री रहेका छन् । १२८ पेज रङ्गीन चिकित्सासम्बन्धी चित्रहरूको एट्लस रहेको छ । पुस्तकमा १२ पृष्ठ भूमिका तथा शुभकामना सहित जम्मा १९२० पेज रहेको छ । पुस्तक साइज १८–२५ सेन्टिमीटर भएको हार्ड कभर रहेको छ । पुस्तकमा अङ्ग्रेजी र नेपाली भाषाको प्रयोग छ । यो पुस्तक संभवतः हालसम्मकै सबैभन्दा धेरै पृष्ठको शब्दकोश भएको र चिकित्सासम्बन्धी क्षेत्रमा कार्यरत, अध्ययनरत डाक्टर, नर्स, अस्पताल, कलेजका साथै प्रशासन, अदालत, प्रहरी आदिलाई पनि उपयोगी रहेको प्रकाशक संस्था शब्दार्थ प्रकाशनका प्रमुख एवम् पुस्तकका सम्पादक विनयकुमार शर्मा नेपालले बताए 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!