दमन्ता खनाल नारी स्रष्टा सम्मान प्रतिमा पोखरेललाई


दमन्ता खनाल नारी स्रष्टा सम्मान प्रतिमा पोखरेललाई

काठमाडौं । वैशाख ९
नेपाल स्रष्टा समाजले आज एक समारोहका बिच दमन्ता खनाल नारी स्रष्टा सम्मान भोजपुरकी स्रष्टा प्रतिमा पोखरेललाई प्रदान गर्यो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षतामा भएको सो समारोहकी प्रमुख अतिथि वरिष्ठ साहित्यकार रमा शर्मा थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव जानु धितालले गरेकी थिइन् । कार्यक्रममा सहभागी सम्पुर्णलाई स्वागत गर्ने काम उपाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका थिए ।

सम्मानित स्रष्टाको योगदानमाथि समाजका कोषाध्यक्ष नवराज तिमिल्सिना अवदोषीले प्रकाश पारे । उनले भोजपुर जस्तो विकट जिल्लामा रहेर शिक्षण, समाजसेवा एवम् साहित्य सिर्जनाका माध्यमबाट सामाजिक जागरणमा योगदान दिएकोमा प्रतिमा पोखरेललाई सम्मानित गरिएको बताए ।

सम्मानित प्रतिभा प्रतिमा पोखरेलले आफूलाई सानै उमेरदेखि समाजका विपन्न, कमजोर नागरिकप्रति सम्वेदना जाग्ने भएकोले आफूसक्दो सामाजिक सेवाका क्षेत्रमा कार्य गरेको बताइन् । उनले कुनै पुरस्कारको अभिलाषाले भन्दा मानवीय सम्वेदनाका कारण यो काम गरेको बताइन् । उनले आफूले गरेको कार्यको मूल्याङ्कन गरेकोमा स्रष्टा समाजप्रति आभार प्रकट गरिन् ।

प्रमुख अतिथि रमा शर्माले आफूलाई पहिलो पटक स्रष्टा समाजले योगमायाको नाममा स्थापना गरिएको सम्मान प्रदान गरेको स्मरण गर्दै समाजमा राम्रो कार्य गर्नेलाई सम्मान गरेर स्रष्टा समाजले राम्रो कार्य गरेको बताइन् ।

कार्यक्रमका सभाध्यक्ष एवम् नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले नेपाल स्रष्टा समाज, दमयन्ता नारी स्रष्टा सम्मान एवम् सम्मानकी संस्थापक पुष्पा खनालको लेखन यात्राका बारेमा प्रकाश पारे । उनले समाजमा योगदान दिने स्रष्टामाथि पुरस्कार राख्ने कार्यले ती स्रष्टाको सम्मान मात्र नभएर सम्मानित प्रतिभाले समेत गर्व गर्ने ठाउँ रहने बताए ।

कार्यक्रममा समाजकी महासचिव पुष्पा खनालको गीत सङ्ग्रह गह पोखिएरको विमोचन समेत भएको थियो ।