पुष्पा खनालको गह पोखिएर गीत सङ्ग्रहको विमोचन


[ss_social_share]
लेखक : लेखापढी      ९ बैशाख २०७८, बिहीबार २०:४४ मा प्रकाशित     
पुष्पा खनालको गह पोखिएर गीत सङ्ग्रहको  विमोचन

काठमाडौं । वैशाख ९
गीतकार पुष्पा खनालको गीत सङ्ग्रह गह पोखिएरको आज राजधानीमा विमोचन भएको छ ।

नेपाल स्रष्टा समाजकी महासचिव रहेकी पुष्पा खनालको कृतिको विमोचन सोही संस्थाद्वारा आज आयोजित स्रष्टा सम्मान एवम् कृति विमोचन समारोहमा भयो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको सभापतित्वमा सञ्चालित सो समारोहकी प्रमुख अतिथि वरिष्ठ साहित्यकार रमा शर्मा थिइन् । कार्यक्रमको सञ्चालन समाजकी सचिव जानु धिताले गरेकी थिइन् । समारोहमा सहभागी सम्पुर्णलाई समाजका उपाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्वागत गरेका थिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा गीतकार पुष्पा खनालले आफ्नो गीत लेखनको पृष्ठभूमिका साथै आजसम्म लेखन यात्रामा साथ दिने अग्रज एवम् समकालीन लेखकप्रति आभार प्रकट गरेकी थिइन् ।

कृति विमोचनमा नेपाल स्रष्टा समाजका पदाधिकारी, गीतकार पुष्पा खनालका पिता अम्बिकाप्रसाद खनाल, परिवारजन एवम् लेखककलाकारको ठुलो उपस्थिति थियो । आजको कार्यक्रममा पुष्पा खनालले आफ्नी आमा दमन्ता खनालको नाममा स्थापना गरेको दमन्ता खनाल नारी स्रष्टा सम्मान भोजपुरकी स्रष्टा प्रतिमा पोखरेललाई प्रदान गरिएको थियो । सो पुरस्कार नेपाल स्रष्टा समाजले सञ्चालन गर्दै आइरहेको छ ।

गह पोखिएर कृति यस अघि प्रविधिका माध्यमबाट विमोचन भएपनि भौतिक रुपमा आजै विमोचन भएको छ । यो कृतिको प्रथम संस्करण २०७६ मा आएको र दोस्रो संस्करण २०७८ वैशाखमा आएको छ । नेपाल स्रष्टा समाज प्रकाशक रहेको यस कृतिमा विभिन्न भावका ९२ गीत रहेका छन् । यस कृतिमा गीतकार पुष्पा खनालले प्रेम, विछोड, निराशा, कुण्ठा, मायाप्रितीका अनुभूतिका साथै राष्ट्रप्रेम, समाजबोध, मातृ स्मरण, नेपाली वीरताभाव, राष्ट्रियताबोध, प्रकृतिप्रेम, उत्साहबोधसँग सम्बन्धित रचना प्रस्तुत गरेकी छिन् । यस कृतिमा रहेका रचना गायनमा समेत गइसकेका छन् ।

गीतकार पुष्पा खनालको गीत लेखन यात्रा बारेमा प्रकाश पार्दै वरिष्ठ गीतकार रत्नशमशेर थापाले “गीतकार पुष्पा खनालका गीतहरू विविधता, मौलिकता, गहनताका साथै नवीनता र गीतमा हुनुपर्ने सबै गुणहरुले सम्पन्न भएको पाएँ ।” भनेर उनको लेखनको प्रशंसा गरेका छन् ।

गीतकार पुष्पा खनालले यस कृतिमा आफ्नो दृष्टिकोण राख्ने क्रममा “मेरो गीत मेरो कथा हो । मैले बाँचेको परिवेश, मैले भोगेको जीवनको, मैले देखेको सपनाको । यहाँहरुले पनि यसलाई आफ्नो ठान्नुभयो भने त्यो मेरो सफलता हुन्छ । अपनाउनु भयो भने मेरो जीत हुन्छ ।” भनेर आफ्नो गीतसम्बन्धित धारणा प्रस्तुत गरेकी छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •