इलाम वाङ्मय सङ्गोष्ठी–२०७८ भव्यताका साथ सम्पन्न


लेखक : लेखापढी      ८ बैशाख २०७८, बुधबार ००:१० मा प्रकाशित     
इलाम वाङ्मय सङ्गोष्ठी–२०७८ भव्यताका साथ सम्पन्न

इलाम । ८ वैशाख

नेपाल प्रज्ञा–प्रतिष्ठान र इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा इलाममा दुई दिने इलाम वाङ्मय सङ्गोष्ठी–२०७८ भव्यताका साथ सम्पन्न भयो ।

साहित्यकार पारिजातको २८ औँ स्मृति दिवसका सन्दर्भमा वैशाख ४ गते प्रारम्भ भएको उक्त दुई दिने सङ्गोष्ठीको समुद््घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले गरे । उनले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रसँग सम्बन्धित विविध विषयको गोष्ठी, अनुसन्धान र प्रकाशन गर्ने उद्देश्यका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानले कामहरू गरिरहेको हुनाले इलाम जस्तो किरात बाहुल््यता भएको सामाजिक संरचना भएको सुन्दर जिल्लाको सुन्दर नगरीमा यस्तो गोष्ठीको आयोजना हुनुको विशेष महत्व रहेको विचार व्यक्त गरे । उनले अहिले प्रज्ञा–प्रतिष्ठान विभिन्न गौरवशाली योजनाका साथ अगाडि बढिरहेको, हाम्रा पुर्खाहरूले छाडेर गएका अपार बौद्धिक सम्पत्तिको खोजीमा लागेको, नेपालमा उत्पत्ति भएका अनेकौँ दर्शनहरूलाई भारतीय दर्शन भनेर विश्वले पढाउँदै आए पनि प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली दर्शन’ नामक ग्रन्थ लेखन र प्रकाशन कार्यमा लागेको बताए ।

कार्यक्रमको औचित्यमाथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷ काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले प्रकाश पारे । उनले कोरोनाको त्रासदी रहिरहेको अवस्थामा पनि अहिले प्रज्ञा–प्रतिष्ठान गाउँगाउँसम्म पुगेर स्थानीय तह तथा वाङ्मयसेवी सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै साहित्यिक तथा सांस्कृतिक गौरवहरूको खोजीमा लागेको बताए । पौडेलले अहिले प्रतिष्ठानबाट नेपाली कविताको प्रादेशिक इतिहास लेखन कार्य भइरहेको हुनाले पनि यस गोष्ठीले उक्त योजनामा सहयोग पु¥याउने विचार व्यक्त गरे ।

प्राज्ञ परिषद् सदस्य तथा साहित्य (बाल साहित्य र लोकवार्ता) विभागका प्रमुख डा. देवी नेपालले हाम्रा हरेक जातजातिहरूसँग युगौँयुगसम्म विश्वलाई पढाउन सकिने लोकसम्पत्तिहरू भएको बताए । उनले पुराना लोकसम्पति नयाँ पुस्तासम्म हस्तान्तरण नहुँदा लोपोन्मुख अवस्थामा पुगेको, अहिले इलाममा रहेको अल्पसंख्यक लाप्चा जातिभित्रको लोकसाहित्यको खोजी गर्ने उद्देश्य रहेको हुनाले यस कार्यले प्रतिष्ठानबाट तयार हुँदै गरेको ‘लोकवार्ता कोश’ र ‘सृष्टिका कथा’लाई पनि सहयोग पुग्ने विचार व्यक्त गरे ।

इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेको अध्यक्षतामा सञ्चालित उक्त गोष्ठीमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, उपप्रमुख सुशीला नेम्बाङ, बेलबारी नगरपालिका उपप्रमुख कवि तारा पराजुली, नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ सभा सदस्यद्वय नन्दु उप्रेती, सुभद्रा भट्टराई, प्राज्ञ सभाका पूर्व सदस्य रविमान लमजेल लगायत इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर र ताप्लेजुङका विशिष्ट साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

गोष्ठीको उद्घाटनपछि पुस्तक विमोचन, स्रष्टा सम्मान र दुइटा कार्यपत्रहरूको प्रस्तुति रहेको थियो । उक्त अवसरमा कीर्तिशेष विष्णु नवीनद्वारा लिखित तथा नन्दु उप्रेती र इन्द्रनारायण सुवेदीद्वारा सम्पादित ‘सोझा नवीनका बाङ्गा निबन्ध’, ‘केही सोधी केही खोजी’ र ‘धेरै कुरा एकै ठाउँमा’ तथा डा. खगेन्द्रप्रसाद दाहालद्वारा लिखित ‘हिमस्पर्श’ यात्राकाव्य गरी चारओटा कृतिहरू विमोचन गरिएका थिए भने विमोचित कृतिहरूको धरणीप्रसाद गौतम, डा. देवी क्षेत्री दुलाल, केशबहादुर राई र सोम निरौलाले समीक्षा गरेका थिए । यस अवसरमा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने इलाम साहित्य कला सङ्गीत पुरस्कार–२०७८ नन्दु उप्रेती र इन्द्रनारायण सुवेदीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा मोहनसिंह थेबेले ‘लिम्बू जाति र मुन्धुम दर्शन’ विषयक र मुकुन्दप्रसाद गुरागाईंले ‘लाप्चा लोकसाहित्य’ विषयक कार्यपत्रहरू प्रस्तुत गरेका थिए भने कार्यपत्रहरूमाथि क्रमशः याम लिम्बू र वीरबहादुर लाप्चाले टिप्पणी गरे ।

नगरपालिकाको योजना र लगानीमा तयार भएको पारिजातको सालिकमा माल्यार्पण गरी सुरु भएको दोस्रो दिन वैशाख ५ गतेको कार्यक्रममा नगरपालिकाको बृहत सोच र दूरगामी योजनाका साथ निर्माण भएको अरनिको सांस्कृतिक सङ्ग्रहालयको अवलोकन भ्रमणपछि कार्यपत्र प्रस्तुति, विशेष कविगोष्ठी तथा समापन समारोहको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा डा. देवी क्षेत्री दुलालले ‘नेपाली कवितामा इलाम जिल्लाको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने इन्द्रनारायण सुवेदीले उक्त कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

यस अवसरमा आयोजित विशेष कवि गोष्ठीमा प्राज्ञ सुभद्रा भट्टराई, होम सुवेदी, जीवनहरि शर्मा, तिला लेकाली, मधु पोखरेल, सोम निरौला, कोमल निरौला, देवी गौतम, प्रतिभा पौडेल, शिवनारायण पण्डित सिङ्गल, नूरज भट्टराई नदी, बालकृष्ण लामिछाने, डा. खगेन्द्रप्रसाद दाहाललगायत तीन दर्जन कविहरूले कविता वाचन गरेका थिए ।

समापन समारोहमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नेपाल प्रज्ञा–प्रतिष्ठानको अहिलेको सक्रियताको प्रशंसा गर्दै स्थानीय बौद्धिक सम्पत्तिहरूको खोजी, संरक्षण र प्रवद्र्धनमा नगरपालिका निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले इलाम नगरपालिकाले गरेको अरनिको सांस्कृतिक सङ्ग्रहालय निर्माणसम्बन्धी कार्यको उच्च प्रशंसा गरे । उनले यस कार्यको अनुसरण अन्य स्थानीय निकायले समेत गर्नुपर्ने विचार व्यक्त गरे । नेपाल प्रज्ञा–प्रतिष्ठानका दर्शनशास्त्र, साहित्य (पद्य—काव्य) र साहित्य (बालसाहित्य) र लोकवार्ता तीन ओटा विभागको सहभागिता रहेको उक्त कार्यक्रमको कार्यपत्र प्रस्तुति सत्रमा सम्बन्धित विभागका प्रमुखहरूले अध्यक्षता गरेका थिए भने उद््घाटन र समापन सत्रमा टीका घिमिरेले अध्यक्षता गरे । सङ्गोष्ठीको समापनमा इलामको चिया र इलामे विशेषता अङ्कित कप चिनो प्रदान गरेर पाहुनाहरूलाई बिदाई गरिएको थियो ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!