दिव्य गिरीको लघुकथा “गोप्यता”


[ss_social_share]
लेखक : लेखापढी      ७ बैशाख २०७८, मंगलवार १०:४२ मा प्रकाशित     
दिव्य गिरीको लघुकथा “गोप्यता”

‘ल, यो रित्तै आएछ ! ग्यास खोई ?’

‘सक्यो रे, भोलि आएपछि दिन्छु भन्या छ ।’ कृष्णेले टाउको कन्याउँदै भन्यो ।

‘आज चाहीँ काँचै खानु रे ? शर्मिला रिसाई । काट्दै गरेको प्याजको रागले उसको आँखा पिरो मात्र होईन आँसुनै आइसकेको थियो ।

‘ए कृष्णे उ त्यो चार्जमा राखेको फोन ले, एक पटक फोन गरूँ’ सोफामा बसेर अखबार पढिरहेको शिवरामले भन्यो ।

‘भाइ म शिवराम दाइ बोल्दै छु । म कहाँ त तीनवटै ग्यास रित्तो भैसक्यो, आपतै पर्यो जसरी भएपनि यौटा दिनुस् न ।’

‘….’

‘के भन्यो ?’ शर्मिलाले लोग्नेले भन्नुभन्दा पहिले नै सोधी ।

‘भोलि मात्रै दिने कुरा गर्छ ।’ शिवरामले निराश हुँदै भन्यो ।

शर्मिलाले प्याज काटिसकेकी थिई,  सलको फेरले आँखा पुछी र भुतभुताउँदै टेबलमा राखेको मोबाइल लिएर फोन गरी–‘ए नरेश भाइ ! अघि मात्र तिम्रो पसलबाट ग्यास लगेको देखेथेँ । हिजो ल्याको ग्यास आजै सकियो ? मलाई चिन्छौ नि ? तिम्रा अरू बदमाशीका कुरा नि थाहा छ मलाई । सविना, तिम्री बुढीलाई पनि राम्रै चिन्छु म ।’

‘…’

ए कृष्णे ! जा ग्यास लेरा’ शर्मिलाले भनी । कृष्णे एकछिन अकमक्क परेर उभिइरह्यो ।
‘सुनिनस् ! ग्यास लिन जा भन्दैछु ।’

कृष्णे कोठाबाट निस्कियो ।

शिवरामले आश्चर्य मान्दै सोधे–’तिमीले तेसलाई थर्कायौ ! छैन भनेको ग्यास दिन्छु भन्यो नि ।’

‘अब तेसले अरूलाई जसरी मलाई ढाँट्न सक्दैन् । मैले तेसको चर्तिकला आँखैले देखेको छु ।’ शर्मिलाले हाँस्दै भनी ।

‘कस्तो चर्तिकला ?’

‘अस्ति हामी दक्षिणकाली मन्दिर गएको दिन नरेश पनि गएको रहेछ | ऊ एउटी केटीको हात समातेर मस्किँदै सिँढी ओर्लँदैथ्यो | मेरो र उसको जम्का भेट भो | मलाई देखेर नीलोकालो अनुहार पार्यो, बोल्नै सकेन | ‘

दिव्य गिरी,
कथाकार


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •