साहित्य संगम चितवनमा तीन पुरस्कार थप


साहित्य संगम चितवनमा तीन पुरस्कार थप

इन्द्र रेग्मी

चितवन । ७ वैशाख

चितवनको पुरानो साहित्यिक संस्था साहित्य संगम (२०४४) ले विगतमा तीन साहित्यिक पुरस्कार सञ्चालन गर्दै आएकोमा हाल तीन पुरस्कार थप भएका छन् । चितवनका सक्रिय साहित्यकार प्रकाश चापागाई, रामहरि श्रेष्ठ एवम् डा. धनेश्वर भट्टराईले आफ्ना मातापिताका नाममा एक लाख पचास हजारका अक्षयकोष राखेर पुरस्कार सञ्चालनका लागि साहित्य संगमलाई जिम्मेवारी दिएका छन् । साहित्य संगमले सञ्चालन गर्ने गरेर स्थापना गरिएका पुरस्कारमा प्रकाश चापागाईँको तर्फबाट गजाधर डिकुरी देवी चापागाईं स्मृति पुरस्कार, रामहरि श्रेष्ठको तर्फबाट खड्कनारायण गणेश लक्ष्मी श्रेष्ठ स्मृति साहित्य पुरस्कार एवम् डा. धनेश्वर भट्टराईको तर्फबाट नेत्रमाया मुक्तिनाथ भट्टराई स्मृति पुरस्कार रहेका छन् ।

यी पुरस्कार हरेक वर्ष पारिजात स्मृति दिवसमा प्रदान गरिने छन् । यस पटक २०७७ सालका लागि पुरस्कृत स्रष्टामा साहित्य संगम चितवनका अध्यक्ष मदनमोहन जोशी (मरणोपरान्त), घनश्याम शर्मा पौड्याल एवम् रञ्जना लिम्बु रहेका छन् ।