स्याउको लागि प्रसिद्ध बैतडीको सतबाँझ बागबानि विकास केन्द्रमा द्वन्द्वकालपछि खडेरी


[ss_social_share]
लेखक : लेखापढी      ७ बैशाख २०७८, मंगलवार २१:२३ मा प्रकाशित     
स्याउको लागि प्रसिद्ध  बैतडीको सतबाँझ बागबानि विकास केन्द्रमा द्वन्द्वकालपछि खडेरी

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका-१ मुस्याचौरका ६२ वर्षीय जयसिंह टेरलाई दशरथचन्द राजमार्गमा छेउमै रहेको सतबाँझको डाँडामा लटरम्म स्याउ फलेको दृष्य सम्झिँदा अहिले इतिहास जस्तै लाग्छ। 

स्याउका लागि प्रसिद्ध मानिने बैतडीको सतबाँझको लेकमा पछिल्लो दुई दशकयता भने स्याउ फल्न छोडेको छ। “माथि डाँडामा रहेका स्याउका रुखबाट फलेर सडकमा खसिराख्थे उनले भने, “सडकमा टन्न खसिराख्थे, पेटभरि खान्थ्यौँ अनि स्याउमै खेलेर रमाउथ्यौँ, अब ती दिन इतिहास भएको छ, आजभोली यहाँ चाख्नलाई पनि स्याउ पाइँदैन।”

सतबाँझ क्षेत्र स्याउका लागि सुदूरपश्चिमकै प्रसिद्ध मानिन्थ्यो। टेरले भने, “एकै रुखमा एक क्विन्टलभन्दा बढी स्याउ फल्थ्यो, प्रतिकिलोको रु चार÷पाँचमा बेचिन्थ्यो, तर अब ती दिनको सम्झाना मात्र भयो, सतबाँझको स्याउ त इतिहास नै बन्यो।” जयसिंह जस्तै गुरुखोलाका ५६ वर्षीय देवदत्त भट्टलाई पनि सतबाँझको स्याउको अहिले पनि सम्झना भइरहन्छ। “त्यो बेलाको जस्तो स्वादिलो स्याउ अहिले बजारमा कतै देखिँदैन, भट्टले भने, “अब कल्पना मात्रै गर्न सकिन्छ।”

त्यो समयमा भर्खर सतबाँझ क्षेत्रमा खनिएको सडकमा चार पाङ्ग्रे गाडी चल्ने अवस्था नहुँदा यहाँ उत्पादन भएको स्याउ हेलिकप्टरमार्फत अन्यत्र ढुवानी हुने गरेको भट्टको भनाइ छ। उनले भने, “भर्खर सडक पुगेको थियो, यातायात सञ्चालन हुँदैनथ्यो, काठमाडौँ, धनगढी हेलिकप्टरमार्फत् स्याउ ढुवानी गर्ने गरिन्थ्यो।”

अगुवा कृषकसमेत रहेका उनले थपे, “कुनै कुनै दाना आधा केजीसम्म फल्थे, गाल्डेन जातको स्याउ राम्रो फल्थ्यो।” विद्यालय आउँदा जाँदा निर्माण हुँदै गरेको सडकमा खसेका स्याउका दाना टिपेर खाएको अनुभव स्थानीय रामबहादुर टेर सुनाउछन्। उनले भने, “लटरम्म फलिरहने स्याउ खसेर सडकसम्म पुग्थ्यो, पेटभर खान्थ्यौँ, अनि झोलाभरि घर लग्थ्यौँ।”

तत्कालीन राजा महेन्द्रको पहलमा विसं २०१९ मा सतबाँझमा वागवानी विकास केन्द्रको स्थापना गरिएको थियो। त्यसपछि तत्कालीन राजा वीरेन्द्र पनि सतबाँझ क्षेत्रलाई प्राथमिकतामा राख्दै विसं २०३६ मा यस क्षेत्रको भ्रमण पनि गरेका थिए। सोही बेलादेखि यस केन्द्रमा हेलिकप्टर बस्नका लागि सहज होस् भनेर हेलिप्याडसमेत बनाइएको थियो।

स्याउ फल्न छोडेपछि हाल सुख्खा फलफूल विकास केन्द्र भनेर यस क्षेत्रको नामकरण गरिएको छ। यहाँको २९ हेक्टर क्षेत्रफलको जग्गालाई सुख्खा फलफूल क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ। वर्षेनी भइरहेको जलवायु परिवर्तनले पारेको असरसँगै र यो क्षेत्रको संरक्षण हुन नसक्दा स्याउ फल्न छोडेको जानकारहरुको भनाइ छ । जलवायु परिवर्तनको असरका कारण स्याउ फल्न छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्का बताउछन्।

“जलवायु परिवर्तनले हिँउ पर्न छोडेको छ, चिसोको तापक्रम पुग्दैन् उनले भने, “स्याउ फल्नका लागि निरन्तर एक हजार ६०० घण्टासम्म सात डिग्री सेल्सियभन्दा कम तापक्रम चाहिन्छ।” उनले भने, “माओवादी द्वन्द्वका बेला कार्यालयमा नै आगजनी भयो, कार्यालय सारेर सदरमुकाम बस्नुप¥यो, २०५२ सालदेखि २०६२ सालसम्म कोही बसेनौँ, बगैँचाको हेरचाह भएन, रोगकिरा लाग्यो, द्वन्द्वकालमा कार्यालय सरेपछि स्याउका बोटको संरक्षण हुन सकेन, सबै नष्ट हुँदै गए।”

त्यो समयमा सतबाँझमा रहेको स्याउ फार्ममा ७८ जातका स्याउ फल्ने गरेका थिए। तर स्याउको पुरानो बगैँचा सकिँदा अहिले स्याउ फल्न छाडेको स्थानीय बताउँछन्।

हाल स्याउका अन्ना भेरिड, गोल्डेन डेलिसियस, रेड डेलिसियस, रोयल डेलिसियस, जुनाथन, मेनकन्टस, फुजी, गाला, होलीक्रिक्स, रेड ग्राभिप्टिन, क्रिस्पिन, काट्जा, रेडजोन, पिपिनलगायतका जातका स्याउका बिरुवा रोपिएकोमा यी बिरुवाले एक दुई वर्षमा फल दिने विश्वास गरिएको छ । स्याउको यो जात हिउँ नपरे पनि र सामान्य चिसो मौसममा पनि फल्ने जनाइएको छ। पुराना रुख सुक्दै गएपछि हाल स्याउको नयाँ बगैँचा निर्माणको काम भइरहेको केन्द्रले जनाएका छ।

परीक्षणका लागि नयाँ बिरुवा रोपिएको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बर भाट बताउछन्। उनले भने, “हाल विभिन्न फलफूलका ५०० जति बिरुवा रोपेका छौँ, परीक्षणका लागि रोपेका हौँ, राम्रो फल्यो भने अझै रोप्छौँ ।”

स्याउको विकल्प खोजी

कुनै समय लटरम्म स्याउ फल्ने सतबाँझको फार्ममा अहिले पुरानो स्याउको बोट एउटा पनि छैन। स्याउ उत्पादनका लागि चिनिएको यो फार्ममा स्याउ फल्न छोडेपछि अहिले विभिन्न प्रजातिका फलफूलको खेती विस्तार गर्न थालिएको छ।

वागवानी विकास केन्द्रबाट सुख्खा फलफूल विकास केन्द्र नाम राखेर काम थालिएपछि हाल स्याउको विकल्पको खोजीसमेत शुरु गरिएको हो। स्याउ फल्न छोडेपछि उत्पादन केन्द्रले स्याउको विकल्पमा सुख्खा फलफूलका बिरुवा लगाएको छ । केन्द्रले हाल स्याउको विकल्पमा ओखर नासपाति किबी, जैतुन, खुर्पानी, आरु, आरुबखाडा, सुन्तला, अमिलो, कागती अनारलगायतका बिरुवा उत्पादनसमेत गरिरहेको छ।

यीमध्ये पनि खास गरेर ओखरका बिरुवा उत्पादनमा जोड दिइएको प्राविधिक सहायक खड्काले बताए। हाल केन्द्रमा २६ वटा नयाँ निजी नर्सरी दर्ता भएको जानकारी दिँदै उनले भने, “निजी नर्सरीबाट पाँच लाख बिरुवा उत्पादन भएका छन्, केन्द्रले भने ५४ हजार बिरुवा उत्पादन गरेको छ, जसमा तीन लाख ७३ हजार मात्रै ओखरका बिरुवा छन्।”

केन्द्रले निजी नर्सरी स्थापना गरेका किसानलाई बगैँचा स्थापना, बिरुवा उत्पादनसम्बन्धी सीपमूलक तालीम पनि दिने गरेको छ। बिरुवा उत्पादनमा नमूनाका रुपमा चिनिन थालेको यो केन्द्रमा उत्पादित बिरुवा देशका विभिन्न स्थानमा निर्यात हुने गरेका छन्। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै देशका पूर्वी जिल्ला र काठमाडौँमा समेत यो केन्द्रमा उत्पादित बिरुवाको निर्यात हुने गरेको छ।

“स्थानीय तहले अनुदानमा किसानलाई वितरण गर्नका लागिसमेत यहाँबाट बिरुवा लैजाने गरेका छन्”, केन्द्रका प्रमुख भाटले बताए, “किसानलाई फलफूलखेतीतर्फ आकर्षित गराउँदै आत्मनिर्भर बताउन स्थानीय तहले योजना बनाउन थालेको पाइएको छ।”

केन्द्रले बिरुवा बेचेर प्रत्येक वर्ष राजश्व सङ्कलन वृद्धि भएको जनाएको छ। गत वर्ष विरुवा बिक्री हुँदा रु २३ लाख राजश्व सङ्कलन भएको थियो। केन्द्रले यो वर्ष फलफूलका बिरुवा बिक्री गरेर रु ३० लाख राजश्व सङ्कलन गरेको छ। केन्द्रका प्रमुख भाटले भने, “५४ हजार विरुवा बिक्री गरेर रु ३० लाख राजश्व सङ्कलन गरेका छौँ”, केन्द्रले सुख्खा फलफूलका बिरुवा उत्पादनमा जोड दिइरहेको भए पनि सिँचाइ सुविधा नहुँदा समस्या हुने गरेको छ।’’

सिँचाइ सुविधा जुटाउन केन्द्र परिसरमा १२ वटा पानी पोखरी निर्माण गरेर आकासे पानी जम्मा गर्ने गरिएको छ। पोखरीमा जम्मा हुने पानीले बोट बिरुवा सिँचाइ गर्ने गरिएको छ।

सिचाँइको भरपर्दो व्यवस्था गर्न माथिल्लो निकायलाई जानकारी गराएपछि हाल डीप बोरिङमार्फत् पानी निकाल्ने काम भइरहेको छ। यसका लागि १७ लाखमा बोलपत्र भइसकेको जनाइएको छ।

केन्द्रको सीपले किसान आत्मनिर्भर बन्दै

सुख्खा फलफूल विकास केन्द्रले दिइरहेको सीपमूलक तालीमबाट किसानलाई आत्मनिर्भरतर्फ लैजान सहज भएको छ। केन्द्रले समय समयमा सीपमूलक तालीम प्रदान गर्नुका साथै निःशुल्करुपमा बिरुवासमेत उपलब्ध गराउने गरेको छ। केन्द्रबाट पाइएको सीपमूलक तालीमबाट नै आफू आत्मनिर्भर बन्न सफल भएको जेएम बहुउद्देश्यीय निजी नर्सरी तथा कृषि फार्मका सञ्चालक रामबहादुर टेर बताउछन्।

उनले भने, “सीपमूलक तालिम र निःशुल्क रुपमा विरुवा प्राप्त भइरहँदा आत्मनिर्भर बन्न सजिलो भएको छ।” केन्द्रले दिएको सीपमूलक तालीमले विरुवा उत्पादन गर्न सहयोग पुगेको मात्र नभई अहिले निजी नर्सरीमा बिरुवा उत्पादन गरेर वार्षिक रु १० लाखसम्म आम्दानी हुँदा आफूलाई आत्मनिर्भर बन्न सहज भएको उनी बताउछन्।

सीप पाएपछि गुरुखोला गाउँका देशदत्त भट्टलाई निजी नर्सरी स्थापना गरेर सफल नर्सरी किसानको पहिचान बनाउनु भएको छ। “शुरुमा केन्द्रले हामीलाई विभिन्न सीप सिकायो, अहिले हामी आफैंले नर्सरीबाट विरुवा उत्पादन गरेर बिक्री गरिरहेका छौँ”, उनले भने, “निजी नर्सरी आम्दानीको स्रोत बन्दै गएको छ, आत्मनिर्भर हुन सफल भयौँ, हाल सीप हस्तान्तरणसमेत गरिरहेका छौँ।”

स्याउ नर्सरीमा जैतुनखेतीसमेत विस्तार गरिने भएको छ । किसानलाई जीविकोपार्जन हुने खालका बिरुवाको नर्सरी बनाएर वितरण गर्ने गरिएको छ। जैतुन तेल उत्पादनका लागि निकै प्रसिद्ध वनस्पति भएको र मूल्य पनि राम्रो रहेकाले त्यसको खेती गर्ने तयारी भएको हो। जैतुनको तेल बहुऔषधिका रूपमा समेत प्रयोग गरिन्छ।
-रासस 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •