महाकाली पारि दोधारा-चाँदनी सुख्खा बन्दरगाहको गुरुयोजना तयार


लेखक : लेखापढी      ७ बैशाख २०७८, मंगलवार १९:४९ मा प्रकाशित     
महाकाली पारि दोधारा-चाँदनी सुख्खा बन्दरगाहको गुरुयोजना तयार

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने आशा गरिएको दोधारा-चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना तयार भएको छ । तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको परियोजनाको पहिलो फेजको लागत ६ अर्ब ९८ करोड १६ लाख रुपैयाँ बराबर हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

कञ्चनपुरको महाकाली पारी दोधारा-चाँदनीको गौरीशंकर र मायापुरी सामुदायिक जंगल क्षेत्रमा बन्ने परियोजनाका लागि २८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भएको परियोजनाका इन्जिनियर कमल प्रसाद जोशीले बताए । ‘यो परियोजना नेपाल सरकारकै लगानीमा निर्माण हुनेछ । पहिलो फेज अन्तर्गत रेलबाहेकको संरचना निर्माण तीन वर्ष १० महिनामा सक्ने र लागत ६ अर्ब ९८ करोड १६ लाख रुपैयाँ भन्दा केही बढी देखिएको छ,’ इन्जिनियर जोशीले भने । परियोजना निर्माणका लागि स्थानीयको सहमति रहेको र सरकारले पनि बन्दरगाह निर्माण प्राथमिकतामा राखेका कारण परियोजनाले गति लिने विकास समितिको दाबी छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको प्राविधिक समितिको सिफारिसअनुसारको क्षेत्रमै आधारित रहेर परियोजनाको गुरुयोजना तयार भएको विकास समितिले जनाएको छ । गुरुयोजना बनाउन तीन महिना, वातावरणीय प्रभाव मूल्यांकन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न तथा ठेक्का आह्वान गर्न १५ महिना लाग्ने गुरुयोजानामा भनिएको छ । यस्तै टेण्डर छनोटमा ४ महिना र निर्माण अवधि २४ महिना गरी ३ वर्ष १० महिनामा परियोजना निर्माण सकिने मास्टर प्लानमा उल्लेख छ । ईआईए र डीपीआरका लागि पूर्वस्वीकृति लिन वन मन्त्रालयसँग स्वीकृति मागिएको तथा सो कार्यका लागि नयाँ बजेटमा थप आर्थिक साहायताका लागि अर्थमा प्रस्ताव गरिएको विकास समितिले जनाएको छ ।
अनलाईनखबरबाट

100% LikesVS
0% Dislikes
Spread Your Love !!!