हरियाणा, मनुमुक्त मानव मेमोरियल ट्रष्ट र म


हरियाणा, मनुमुक्त मानव मेमोरियल ट्रष्ट र म

डा.पुष्करराज भट्ट

वि.स. २०७४ मा दशैं तिहारमा कीर्तिपुरबाट घर धनगढी गएको थिएँ । त्यसबेला मलाई कञ्चनपुरको गुगुल्डी डोटेली मासिकले सम्मानित गरेको थियो । त्यसबेला गुगुल्डी पत्रिकाका प्रधान सम्पादक वीरबहादुर चन्द महाकाली साहित्य संगमको अध्यक्ष हुनुहुन्थ्यो । उहाँहरुको खटिमा (भारत) का साहित्यकार राज सक्सेनासँग निकटतम सम्बन्ध थियो । नेपाल भारतको सीमा क्षेत्रका साहित्यकार एकआपसमा मिलेर साहित्यिक गोष्ठी गर्ने गर्दथे । त्यसै क्रममा महाकाली साहित्य संगम सम्बद्ध साहित्यकारको टोली हरियाणामा रहेको मनुमुक्त मेमोरियल ट्रष्टको कार्यक्रममा सहभागी हुने भएछ । यसै क्रममा जाने भनेर तोकिएका केही मानिस नजाने भएपछि त्यस टोलीमा मेरो पनि नाम थपियो । कार्यक्रम पहिल्यै तय भएपनि मिति तोकिएको थिएन । कार्यक्रमको सुचना आउँदा तिहारको भोलिपल्ट कार्यक्रम हुने भएछ । जाउँ कि नजाउँ भन्ने मलाई लागिरह्यो । घरमा सल्लाह भएपछि जाने नै निर्णय गरियो । म, वीरबहादुर चन्द, हरिशप्रसाद जोशी र लक्ष्मीप्रसाद भट्ट खटिमामा पुग्यौं । खटिमाबाट राज सक्सेना सम्मिलित टोली रुद्रपुर सम्म बसमा, रुद्रपुरबाट ट्र्नमा दिल्ली, दिल्लीबाट नारनौल (हरियाणा, भारत) राति ११.३० मा पुग्यौं ।

हामीलाई लिन संस्थाका प्रमुख डा. रामनिवास मानव आफै तीन जीप लिएर आउनु भएको थियो । यसप्रकार त्यस रात विश्राम गरेपछि हामी अर्कोदिन एक कलेजमा भएको मनुमुक्त मेमोरियल ट्रष्टको कार्यक्रममा सहभागी भयौं । सो दिन भारत र नेपालका विभिन्न प्रतिभालाई सम्मान गरिएको थियो । सो समारोहपछि मनुमुक्त मेमोरियल ट्रष्ट प्रमुख डा. रामनिवास मानवसँगको भेटघाटमा उहाँ पनि लघुकथा लेखक भएको कुरा थाहा भयो । त्यस भेटघाटका क्रममा नेपाल र भारतका स्रष्टा मिलेर लघुकथा सम्मेलन गर्ने सल्लाह भयो । त्यही सल्लाहको फलस्वरुप नेपाल र भारतका स्रष्टा सम्मिलित लघुकथा सम्मेलन हुन थाले ।

सन् २०१८ मा पहिलो पटक हरियाणामा इन्डो नेपाल लघुकथा सम्मेलन भयो । सो कार्यक्रमको अध्यक्ष म स्वयं र प्रमुख अतिथिमा सिंहानिया विश्वविद्यालयका कुलपति डा. उमाशंकर यादव थिए । त्यस कार्यक्रममा म र वीरबहादुर चन्द नेपालको तर्फबाट सम्मिलित थियौं । हामीलाई मनुमुक्त मानव लघुकथा गौरव सम्मान प्रदान गरियो ।

सन् २०१९ मा हरियाणामै दोस्रो इन्डो नेपाल लघुकथा सम्मेलन सम्पन्न भयो । यस सम्मेलनमा नेपालबाट ध्रुव मधिकर्मी, हरिप्रसाद भण्डारी, नवराज रिजाल र म गएका थियौं । श्रीओम श्रेष्ठ रोदन विविध कारणले कार्यक्रममा जान नसकेपनि उहाँको सम्मानपत्र आयोजकले नेपालमै पठाएको थियो । यस कार्यक्रममा यस संस्थाले मनुमुक्त मानव अन्तर्राष्ट्रिय लघुकथा सम्मानको प्रारम्भ गर्यो । सो सम्मान पहिलो पटक मलाई एघार हजार भारु नगद सहित प्रदान गरियो । यो मेरो लागि गौरवको कुरा थियो । यस समारोहमा ध्रुव मधिकर्मी, हरिप्रसाद भण्डारी, नवराज रिजाललाई लघुकथा गौरव सम्मान प्रदान गरिएको थियो ।

      यस पटक कोरोनाका कारण भौतिक उपस्थितिमा कार्यक्रम हुन नसकेपनि अन्तर्राष्ट्रिय भर्चुअल लघुकथा गोष्ठी कार्यक्रम तय गरियो । यस कार्यक्रममा विश्वका १३ देशका हिन्दीभाषी साहित्यकार एवम् नेपालका साहित्यकारको सहभागिता थियो । यस कार्यक्रममा प्रमुख अतिथि सरुभक्त, विशिष्ट अतिथि श्रीओम श्रेष्ठ रोदन एवम् सहभागीमा डा. पुष्करराज भट्ट एवम् भागीरथी श्रेष्ठ थियौं ।

      मनुमुक्त मेमोरियल ट्रष्टको कार्यक्रममा धेरै नेपाली लेखक, साहित्यकार जोडिएका छन् र भविष्यमा पनि जोडिने क्रम जारी छ । नेपाली साहित्यलाई भारतको भूमिमा चिनाउन यसले मद्दत गरेको छ र संसारका विभिन्न भागमा रहेका साहित्यकारलाई पनि जोडन मद्दत गर्नेछ ।