नायिका शिल्पा पोखरेलले गरेको उजुरीका कारण ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ स्थगित गर्ने निर्णय


नायिका शिल्पा पोखरेलले गरेको उजुरीका कारण ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ स्थगित गर्ने निर्णय

काठमाडौं । एपीवान एचडी टेलिभिजनले आफ्ना दुईवटा कार्यक्रम प्रशारण नगर्ने भएको छ । टेलिभिजनले प्रशारण हुँदै आएका कार्यक्रम ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ स्थगित गर्ने निर्णय गरेको छ । 

नायिका शिल्पा पोखरेलको मानमर्दन गरेको भन्दै चलचित्रकर्मीहरुले व्यवस्थापन पक्षलाई कार्यक्रम बन्द गराउन आग्रह गरेको र शिल्पाको मौखिक उजुरीपछि एपीवान एचडीले अर्को निर्णय नभएसम्मका लागि ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ स्थगन गर्ने निर्णय गरेको निर्देशक सुरेश पौडेलले जानकारी दिए । 

“बन्द गराउने निर्णय गरिएको होइन । अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको हो”, निर्देशक पौडेलले भने । 

नायिका पोखरेल र छवी ओझाको विषयलाई लिएर कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले शिल्पाको मान मर्दन गरेको भन्दै उनका आफन्तहरु कार्यक्रम नै बन्द गराउन माग गर्दै आइतबार व्यस्थापकसमक्ष पुगेका थिए । शिल्पाले छवीविरुद्ध अदालतमा माना–चामल दाबी गर्दै मुद्दा दायर गरेको विषयलाई लिएर सुवेदीले कार्यक्रम तयार पारेका थिए । 

‘रजतपट’ र ‘ग्ल्यामर गफ’ क्रमशः शनिबार र बिहीबार राति ८ बजे प्रशारण हुँदै आएका थिए । 

व्यस्थापकले शिल्पाको पक्ष नलिएर सुवेदीको बचाउ गरेको खण्डमा सुवेदीविरुद्ध उनी अदालत जाने तयारी गरिरहेकी थिइन् ।  

यसअघि नायिका पूजा शर्मालाई पनि अपमान गरेको भन्दै शर्मासहति चलचित्रकर्मीहरु कार्यक्रम नै बन्द गराउन माग गर्दै एपीवान पुगेका थिए । तर, कार्यक्रम सञ्चालक सुवेदीले माफी मागेपछि समस्याको सामाधान भएको थियो । 
१२खरीमा प्रकाशित