बिदेशी बस्तीभित्र स्वदेशी मन


बिदेशी बस्तीभित्र स्वदेशी मन

स्तब्ध बने आँखा । विश्वास धरमराउन खोज्यो । अठोट उत्साहको पाटो खन्ने तरखरमा लाग्यो । तम्तम्माइलो लाग्यो वर्तमान । तृष्णा हरायो । विचार चुलियो । भावले परिवर्तन खोज्यो । पछि आफैं समालियो । कताकता दुःख्यो मुटु । तथापि आस्था धर्मराएन । अठोट संगालियो । पग्लियो दृढताका पर्खालहरू । हिजो, आज र भोलिमा टक्क अडियो जिन्दगीका  श्रृङ्खलाहरू ।

जिजिविषामा चुर्लुम्म डुबेको छ मान्छे । पाइलाहरू पलपलमा दुःखेका छन् । चोइटिएका छन् । धुलिएका छन् तर पनि जीवनदेखि हारेको छैनन् । सिङ्गो परिधिभित्र घुमिरहेछन् । सुखद् अन्तेष्टिमा पाइलाहरू डोबिरहेछन् । हिजो विश्वासको अर्को नाम । क्षितिज भित्रको मन हिजो, आज र भोलिमा क्रमशः विभाजित बनिरहेछ र निरन्तरता पाइरहनेछ भन्दा सम्भवतः शंका गर्न नमिल्ला ।

अप्ठेरा र असजिला परिस्थितिको आहालमा चुर्लुम्म डुबेको तृष्णालाई शून्य परिधिको पर्खालबाट उँभो लगाएर हिंडिरहेछ आज । विचारशून्य परिधि पहिल्याउन हिंडेको वर्षौंबर्ष भयो । तथापि यात्राबाट न हारेको छ न त पछाडिनै फर्किएको छ ।

अँ, हो त यसैले । आजसम्म अस्तित्व कायम छ । ऊ विश्वास हो । हिजोको जङ्गली बर्बरताबाट आजको तथाकथित आधुनिक र सभ्य मानिने परिधिको घेरासम्म आउन अत्यन्तै कठिन यात्रा तय गर्यो। गोरेटोमा बिच्छिएका काँढा पन्छाउँदै सरल मार्ग निर्माण गरायो जीवन सुख र खुशी तुल्याउन । पछिपछि लाग्यो । चेतना काँध बोकेर अन्त्यहीन गन्तव्यको खोजीमा हिँड्यो । अनगिन्ती प्राप्ति भए । सफलतापछि लागे । चिन्तन र चेतनाको परिणामले धेरैलाई पछाडि छाड्न सक्यो तर आफु कहिल्यै सुखी र खुसी भएन । किन ? प्रश्न आज पनि ज्यूँका त्यूँ प्रश्न बाँचिरहेछ ।

मान्छे गतिशील प्राणी । गतिशीलताकै कारण अवस्थासम्म लर्यांङ्तर्यांङ्ग गर्दै आइपुग्यो । यदि मस्तिष्कभित्र गतिशीलताको पाटो नभइदिएको ऊ र अन्य जीवमा कुनै भेद रहँदैनथ्यो । गतिभित्र थियो । त्यसैले त यो अवस्थामा आइपुग्न सक्यो । अप्ठेरा र असजिला परिस्थितिको आहालमा चुर्लुम्म डुबेको तृष्णालाई शून्य परिधिको पर्खालबाट उँभो लगाएर हिंडिरहेछ आज । विचारशून्य परिधि पहिल्याउन हिंडेको वर्षौंबर्ष भयो । तथापि यात्राबाट न हारेको छ न त पछाडिनै फर्किएको छ । जीवनबाट हारेर विश्वास बगाएको दिन सम्भवतः धराबाटै सधैंको निम्ति अस्ताउने छ । पक्का हो, साँच्चै शङ्का गर्ने ठाउँ छैन ।

चौवन्न सालको कार्तिक पाँच गते मंगलबार । म झापाको दमक नगरपालिकास्थित शान्तिटोलमा छु । मन हराइरहेछ । कुदिरहेछ । क्षितिज पारीको बस्ती खोजीरहेछ । अलिकति उत्साह, अलिकति रोमाञ्च, अलिकति जिज्ञासा र धेरै लज्जाले टन्न छ । जीवनको सिंगो परिधि कति हो त ? प्रश्न उमारिरहेछ ।

आस्थाको पर्खाल अगाडि ठिङ्ग उभिन्छ । सोच्छ । फुल्छ । मुस्कुराउँछ । जिज्ञासा बोक्छ । अगाडि बढ्छ । कहाँ पुग्छ थाहा छैन । तैपनि हिँडिरहन्छ । हिंडेको थियो पनि । यस्तै पोको बोकेर अलिकति मन पोख्ने प्रयत्नमा छु । भगिरथजीको घर दमक नगरपालिका वडा नं. १३ को शान्तिटोलबाट कल्पनाको धरातलमा पोखिइरहेछु । उठाउने जाँगर छैन । छरिइरहेछु । विचारको पुलबाट खस्न सकिन्छ भन्ने भय समेत छैन । सकेजति गलिरहेछु । फित्कौली छ मन र विश्वास । सोच फित्कैली किन बनिरहेछ ? उत्तरविहीन अवस्थामा हिंडिरहेछु । छायासंगै मायाविहीन संसार कस्तो होला वा प्रेमबिना जीवनको अन्त्य कसरी हुन्छ, हरदम प्रश्न आँखाको डिलभित्र उठिरहेछ ।

आज दुईहजार चौवन्न सालको कार्तिक पाँच गते मंगलबार । म झापाको दमक नगरपालिकास्थित शान्तिटोलमा छु । मन हराइरहेछ । कुदिरहेछ । क्षितिज पारीको बस्ती खोजीरहेछ । अलिकति उत्साह, अलिकति रोमाञ्च, अलिकति जिज्ञासा र धेरै लज्जाले टन्न छ । जीवनको सिंगो परिधि कति हो त ? प्रश्न उमारिरहेछ । धरोधर्म उत्तर छैन । आँखा शान्त छन् । भावना सलबलाइरहेछ । कार्तिकको सयपत्री जस्तै छ मन । घरघरमा फुलेका मखमली र गोदावरी अनि तिहारको रमाइलो वातावरण आँखाभित्र नाँच्छन् । उफ्रन्छन् र कुद्छन् पनि । एउटा विचारको थैलो बोकेर आस्था बेलगाम कुदिरहेछ ।

नेवार, धिमाल, बाहुन, क्षेत्री, राई, लिम्बु, तामाङ र मगरहरू आस्थाबिन्दु हुन् उसका । ऊ वरिपरिका गाउँबस्तीलाई मालमत्ता बिक्री गर्छ । प्रत्येक बुधबार छातिमा पशुहरूको डङ्गुर लगाउँछ । खरिद बिक्री दुवै गर्छ । उसको छातिमा भूटानले खेदेका नेपाली मूलका भुटानीका दुई शिविरहरू छन् । “अलिकति विकृति र विसंगति बढ्यो ।” दुःखेसो गर्छ दमक । “हाम्रो श्रम सस्तो भयो, छोराछोरीको भँडी चाउरिए, खै के भन्नु ? हुन त उनीहरू पनि हाम्रै दाजुभाइ नै हुन् ।” सुनाउँछन् एक श्रमिक ।

दशैंले कुम्लो कुटुरो बोकेर भर्खरै डाँडा काट्यो । चहलपहल थोरै बाँकी छ । भेटघाट र आउनेजाने क्रम करिब करिब सकिएका छन् तर विचार ओइलाएका छैनन् । तिहारको रमझमले बस्ती बस्तीलाई आकर्षित गर्ने काम पनि सुरु भइसकेको छ । मान्छेहरू पोखिने क्रममा छन् । मनहरू अलिकति जाँगर, धेरै बाध्यता, थोरै विश्वास अनि केही उत्साहमा भरिँदै छन् । आस्थाले जरो गाडिसकेको छ । फुल उमारेको छ । शुभारम्भका चालहरू अस्तित्व खोज्ने क्रममा छन् । तिरस्कारको पर्खाल उठिरहेछ । लडिरहेछ । ढलिरहेछ । उठाइ रहेछन् । उचालिरहेछन् । प्रयासहरू लहराउने तरखरमा छन् । विकृतिको पर्खाल लडिरहेछ । ढलिरहेछ । उठाइरहेछन्, ठड्याइरहेछन् । आदिकालदेखि नै विनास र निर्माणले सँगसँगै यात्रा तय गरेका हुन् । अनि मान्छे ती दुवैलाई मुटुमा राखेर गन्तव्य हिँडिरहेछ । दौडिरहेछ । कुदिरहेछ ।

मौन छ दमक । शान्त छन् उसका आँखा । अभिवादन स्वीकार्दै हात हल्लाउँदैछ । हो त उसको हाँसो रतुवाले खोसेको छ अलिकति । शरणार्थी शिविरले घाउ बनाएको छ मनमा । मान्छे–मान्छेका बिच वैमनस्यताले दुःखाएको छ आस्था । मावा खोलाले तड्पाएको धड्कन र मस्तिष्क । नेवार, धिमाल, बाहुन, क्षेत्री, राई, लिम्बु, तामाङ र मगरहरू आस्थाबिन्दु हुन् उसका । ऊ वरिपरिका गाउँबस्तीलाई मालमत्ता बिक्री गर्छ । प्रत्येक बुधबार छातिमा पशुहरूको डङ्गुर लगाउँछ । खरिद बिक्री दुवै गर्छ । उसको छातिमा भूटानले खेदेका नेपाली मूलका भुटानीका दुई शिविरहरू छन् । “अलिकति विकृति र विसंगति बढ्यो ।” दुःखेसो गर्छ दमक । “हाम्रो श्रम सस्तो भयो, छोराछोरीको भँडी चाउरिए, खै के भन्नु ? हुन त उनीहरू पनि हाम्रै दाजुभाइ नै हुन् ।” सुनाउँछन् एक श्रमिक । “अनावश्यक काम कुरा भइरहेछन्” खुसुक्क कान फुसफुसाउँछन् स्थानीय बुद्धिजीवी ।

“शरणार्थीको नामको अस्पतालले दमकबासीलाई उपचारमा पनि सघाइरहेछ नि ।” मुख खोल्छन् अर्का सज्जन । अँ, आम्दानीको नामले सञ्चालित त्यस अस्पतालले स्थानीयवासीहरू लाई सहयोग गरिरहेछ म सम्झन्छु । “शरणार्थी कोही रहरले बन्दैनन्, यो बाध्यता हो” बताउँछन् अर्का बटुवा । “अनि हाम्रो व्यापार पनि त बढेको छ नि किन विकृति र विसंगति मात्र” एक किसान भावना पोख्छन् । “कृतघ्न बन्नुहुन्न । आफन्तै हुन् तिनीहरू । हाम्रो भावनात्मक नाता छ । त्यो पीडामा त छाति दुःख्नुपर्छ । मानवताको नाताले चिन्दैनचिनेका र जान्दै नजानेकाहरूप्रति त हामीले छाति खोल्नुपर्छ भने ती त हाम्रै जात बन्धु हैन त हजुर ?” हामीलाई नै साक्षी राखेर अर्को बटुवा प्रश्न गर्छन् ।

कस्ता होलान् हँ भुटानीहरू ? नेपाली भाषा नै भए पनि पहिरन, रहनसहन खानपान र भेषभुषामा पक्कै पनि अन्तर होला, सोच्थ्यो मन । मेरै देशभित्र एक ठाउँबाट अर्को ठाउँमा बोलिने नेपालीमा आनको तान भिन्नता छ । नुवाकोटे र काठमाडौंली नेपालीमा विभेद छ । अझ वीरगन्ज, कलैया, गौर, जनकपुर र राजविराजमा बोलिने नेपालीको रूप त कुरूपै मान्नुपर्छ ।

बोलिहीन हुन्छ मन । छ्यालव्याल बन्छन् आँखा । निरुत्तर हुन्छु । उत्तर र प्रश्न दुवै छैनन् । भुल्छु आफैंलाई । बिर्सन्छु । सम्झन सक्दिनँ । हराउन मन लाग्छ एक्लै । टुसुक्क बस्छु चौरमा । वरिपरिको परिवेशसमेत ग्रहण गर्दैनन् आँखा । भावना हावाको झोक्कासँगै कावा खाँदै बग्ने अनुमति माग्छ । सहमत–असहमत, श्रद्धा–अश्रद्धा, कृतज्ञ–कृतघ्न जे पनि हुनसक्छ मान्छे । विचरण गर्न मन लाग्छ एकान्तमा र कराएर निराकार बस्ने इच्छा समेत जागृत हुन्छ छातिमा । ओहो मन लाग्दैमा कहाँ सकिन्छ र मर्यादाको जङ्घार तर्न । विश्वासको खहरे नाघ्न नसकिएजस्तै तृष्णाको पहरो उक्लन पनि सकिन्न त्यति सजिलै । त्यसैले तरल आँखालाई सरल गोरेटोमा हिँडाउने प्रयत्नमा लाग्छु । सफलता र विफलता दुवै हो जिन्दगी । दुवै हातमा पर्न पनि सक्छ र नपर्न पनि । रहरमा बग्दै मान्छेले पूर्णताको गन्तव्य समाएर हिँड्न सकेको छैन आजसम्म ।

सोझ्याइरहेछु शरणार्थी शिविर जाने बाटो । मनले साथ दिने प्रण गरेको छ । मित्रहरू रघुनाथजी र भगीरथजीले साथ दिइरहनु भएको छ । बाटो एक्लै हिँडिरहेछ । मोटर गुडिरहेछ । घाम पारिलो छ । प्रशस्त आवत–जावत छ । विगत लामो समयदेखि भुटानको डुक्पा सरकारको अमानवीय यातना, हत्या, लुट र बलात्कार श्रृंखला खप्न नसकेर नेपाली मूलका करिब एक लाख शरणार्थीले शरण लिइरहेका छन् नेपालमा । त्यसको निक्कै ठूलो हिस्सालाई आफुमा समाहित गरेको छन् बेलडांगी एक र दुईले । मनमा त्यी बेलैदेखि एउटा उत्सुकता उर्लिरहेको थियो । कस्ता होलान् हँ भुटानीहरू ? नेपाली भाषा नै भए पनि पहिरन, रहनसहन खानपान र भेषभुषामा पक्कै पनि अन्तर होला, सोच्थ्यो मन । मेरै देशभित्र एक ठाउँबाट अर्को ठाउँमा बोलिने नेपालीमा आनको तान भिन्नता छ । नुवाकोटे र काठमाडौंली नेपालीमा विभेद छ । अझ वीरगन्ज, कलैया, गौर, जनकपुर र राजविराजमा बोलिने नेपालीको रूप त कुरूपै मान्नुपर्छ ।

हामी आफ्नोपनलाई छाडिरहेछौं । मनलाई पर सारेर बाँचिरहेछौं । स्वार्थलाई भजाएर दुगुरिरहेछौं । भाषा,संस्कृति र परम्परालाई कुल्चिएर थुकिरहेछौं । परायको इसारामा आफ्नो चटक्क बिर्सिएर सभ्य बन्ने अभिनय गरिरहेछौं । देश दुःखोस्, माटो बगोस्, भावना गलेर फतफती झरोस् मतलब छैन । मात्र आफु बाँच्ने अभियानमा लागेका मान्छे । हुन त नेपालभित्र अर्कै नेपाल नभएको हैन । वास्तविकताको नेपाल विश्वासमा बाँचिरहेछ । आस्थामा फुलिरहेछ । सगरमाथाको माया छातिमा उमारेर हाँसिरहेछ । तर कतिपय अर्काथरिहरू आफुलाई मारेर आत्माको बिक्रीमा लागिरहेछन् । केवल आफु बाँच्ने उपक्रममा आमाको हत्या गरिरहेछन् । रगतमा पौडिइरहेछन् ।

बाहिर देखिने र नदेखिने नेपालमा तात्विक भिन्नता छ । विश्वासमा पोखिने र पराइको बुइ चढेर आफ्नो विरुद्ध धावा बोल्नेहरूको बिचमा फरक छ । विभेदको पर्खाल ठड्याएर एकथरी बाँचिरहेछन् । अर्काहरू विवशतापूर्वक भोलिको सुनौलो बिहानी सम्झेर आजलाई विदाइको हात हल्लाइरहेछन् । आफु बाँच्न पाए भयो, अरूको जेसुकै होस् यही मान्यताले जरो गाडी रहेको छ । त्यसैले त विश्वास दुःखिरहेछ । भरोसा छटपटाइरहेछ । तृष्णा चौतारोबाट नियालिरहेछ चारैतिर । फुल खिल्न सकिरहेको छैन । एउटा आस्था विश्वासमा र अर्को विश्वासघातमा दनदन बलिरहेछ ।

आफैंलाई बिक्रीको लाममा उथ्याइरहेको सिंगो चित्र छ मेरो आँखामा । त्यसैको विपक्षमा लाग्नेहरू हरक्षण हारिरहेछन् । विवशताको पर्खाल गाडिरहेछन् । विश्वास चिराचिरा बनेको छ । तथापि मृत्यवरण गर्न सकेको छैन । आस्था झिनै भए पनि जित उसकै हुनेछ यो ध्रुवसत्य हो र म विश्वस्त छु । आँखा अलिकति बग्न खोज्छन् र भाँचिएर टुक्रने प्रयासमा लाग्छ मन । तर सहमतिको टाउको हल्लाउन मन मान्दैन । त्यसैले टोलिन्छ । विचारका शृंखलाहरू ठिङ्ग उभिन्छन् । हामी र आफ्नो भाषा, चालचलन, परम्परा र संस्कृतिप्रति मरिमेट्ने भुटानी शरणार्थीहरू दुवैको तुलना गर्छु । म र शरणार्थीको बिच कति अन्तर छ हगी ? म व्यक्तिगत फाइदाका लागि मेटिन तयार छु तर ती जातीय संस्कृति, परम्परा, रीतिरिवाज र प्रचलन उत्थानका निम्ति ज्यान अर्पण गर्न तयार छन् । मूल्य–मान्यता बिक्री गरेर आफ्नो दाहसंस्कार गर्दै बाँच्न अँह मरेकाटे राजी छैनन् । छाति बज्न सुरु गर्छ, ओ हो ! कस्तो भिन्नता म नेपालको खाँटी बासिन्दा नेपाली हुँदाहुँदै पनि नेपालीपनको अन्त्यको लागि मरिमेटिरहेछु । उनीहरू विदेशी नागरिक । भाषा र संस्कृतिमा समान छौं । ती जातीय संस्कृति तथा परम्परा रक्षाको लागि मरिरहेछन् । आँसुको पोखरीभित्र नुहाइरहेछन् । यही त छ मैले बुझ्न नसकेको अस्वभाविकता ।

पुर्ख्यौली सम्पत्ति लुटिएको छ । विश्वासको धरातलमा आगो झोसिएको छ । आत्मीयता हराएको छ पारोमा । पन जलिरहेछ । पन बलिरहेछ । तैपनि बाँच्नु एउटा सिंगो आस्था भएको छ । रगत पसिनाले आर्जेको जमिनमा आफ्नो देशबासीले पर्खाल लगाएका छन् । आफैंलाई बिर्सिएर भाग्नु आस्था भएको छ । सबै गुमाएर एक्लै हिंड्नु यथार्थ देखिएको छ । पुर्खाको रगतमा आगो लागेको टुलुटुलु हेर्न परिरहेछ ।

लौन अचम्म ! सम्झनाको सागरमा चुर्लुम्म डुब्दाडुब्दै शरणार्थी शिविरको माथिल्लो भागमा पो आइपुगिसकिछु म त । नजिकै सिसौघारी र खुल्ला आकाश । माझको खाली ठाउँ बासको निम्ति प्रयोग भएको । केही अन्तर्राष्ट्रिय संस्थाहरू विशेषगरी अक्सफाम र लुथरन विश्व सेवाको सहयोग । प्रत्येक आवास गृह छेउछाउमा रोपिएका निक्कै ठूला भइसकेका आँप र केराका बोटहरू । करेसाबारीमा तरकारी खेती पनि देखिन्छन् यत्रतत्र । पानीको अभाव । जिन्दगीको सङ्कटजस्तै । धारा अगाडि गाग्रा, घैंटा र ग्यालिनका लामा लस्कर । जीवन जस्तै दुःखी रहेछन् ग्यालीन र घैंटाहरू । मन आलेटालेमा लागे पनि पाइला गति लिंदै जान्छन् । देखिने वातावरणभित्र पोखिएका छन् आँखाहरू । वृद्धा, युवा र बालबालिकाहरू हिंडिरहेछन् परिवेश वरिपरि । विद्यालयमा पढाइ भइरहेछ । बालबालिकाहरू आवत–जावत गरिरहेछन् । खरको छाना, बाँसको गार्हो र ढोका आफ्नो छुट्टै पहिचान साथ उभिएका छन् । लाममा हराइरहेछन् । जीवनको परिधि खोज्न तल्लीन भाइबहिनीहरूको देश हराएको छ । परिस्थितिबाट थोरै मात्र अवगत होलान् कल्पना गर्छु । आफन्तहरूका आश्रय वर्तमान च्यापेर निर्वाध बाँचिरहेछन् । केही राशन र मट्टितेलको लाइनमा छन् । कति साँघुरा घर र कोठाहरू ? तन्नेरी बाबु आमा र जवान छोराछोरीसँगै बस्न सम्भव छ त ? प्रश्न सोध्छ मन तर विषम परिस्थितिभित्र त जस्तो पनि त सहनुपर्छ हैन र ? मनको अर्को पाटो समस्या समाधान गरिदिन्छ तुरुन्तै । नचाहेरै आश्वस्त बन्न कर लाग्छ ।

पुर्ख्यौली सम्पत्ति लुटिएको छ । विश्वासको धरातलमा आगो झोसिएको छ । आत्मीयता हराएको छ पारोमा । पन जलिरहेछ । पन बलिरहेछ । तैपनि बाँच्नु एउटा सिंगो आस्था भएको छ । रगत पसिनाले आर्जेको जमिनमा आफ्नो देशबासीले पर्खाल लगाएका छन् । आफैंलाई बिर्सिएर भाग्नु आस्था भएको छ । सबै गुमाएर एक्लै हिंड्नु यथार्थ देखिएको छ । पुर्खाको रगतमा आगो लागेको टुलुटुलु हेर्न परिरहेछ । त्यसैले अलिकति आटलाई पनि स्वागत गरिरहेछन् । चोटलाई सहिरहेछन् । सहनु एउटा अकाट्य नियति बनेको छ । बाच्ने उपक्रममा दुःख्दै ओइलिंदै विश्वास छियाछिया तुल्याएर ठिङ्ग उभिएका छन् । परिस्थितिले पल्टा खाइरहेको छ । र, बेरिएरै बाँचिरहेछन् । जीवनको अर्थ बुभ्ने अथक प्रयत्नमा झिनामसिना विचारहरू रासमा डुबिरहेछन् । धुमधामसंग नजिकै धार्मिक अनुष्ठान चलिरहेछ ।

जीवन आस्थाको अर्को नाम पनि हो । त्यसैले पाकाहरू जीवनको खातिरदारी गरिरहेछन् विदेशमा समेत । भिन्न प्रवृत्ति, भिन्न रुचि भिन्न इच्छा यस्तै यस्तै होला । अनुमान गर्छु र सोच्छु । नजिकैबाट बगिरहेको फोहोर पानीमा माछा समात्ने प्रयासमा जुटेका छन् केही केटाकेटीहरू । शरणार्थीहरू नै होलान् । शंका लागे पनि अड्कल गर्न सकिंदैन । आफ्नै तालमा टाउको हल्लाउँछु र विचारको सागरमा चुर्लुम्म डुब्छु । ओहो ! कति नमिठो शब्द शरणार्थी मुखबाट सजिलै प्रस्फुटित भएपनि अत्यन्तै अप्ठेरो लाग्छ उच्चारण गर्न । घोरिन्छु । मेरैजस्तो परिवेश, भाषाशैली, रहनसहन, बोलिवचन र भर्खरै देखिएको धार्मिक अनुष्ठानमा मन अलमलिन्छ । टक्क अडिन्छ एकछिन मुटुको धड्कन समेत ।

कसरी प्रयोग गर्नु त्यस्तो शब्द । मन स्वीकृति दिँदैन । शरणार्थी ! अत्यन्तै दुरस्थ जनाउने शब्द । तर ध्रुवसत्य नै हो भन्नेहरू भनिरहेछन् । भनिने परम्परा पनि छ । यथार्थ त्यहीं हो । तर पनि किन हो किन ? मन पटक्कै मान्दैन । यो शब्द उनीहरूका लागि उपयुक्त होला त ? आफैसँग प्रश्न राख्छु । बिल्कुल मेरै जस्तो लवाईखवाई, रहनसहन, बोलिवचन, संस्कृति, परम्परा, भाषा र प्रचलन मान्नेहरूलाई कसरी आभूषित गर्नु, कल्पना अप्ठरोमा पर्छ । जोड गर्छु । धाकधम्की देखाउँछु । बल गर्छु । सोच उड्छ । भावना पोखिन्छ छताछुल्ल । त्यो शब्दहरूको नाममा अर्पण गर्न मन मरिहत्ते हाल्दा पनि मान्दैन ।

भोटो–कछाड, दौरा–सुरुवाल, घाँगर, ढाकाटोपी, इस्टकोट, ज्वारीकोट, कोट, कम्मरपेटी, चौबन्दी चोली, गुन्यू, फरिया, लस्करी मुन्द्रा सिसिफुल, कर्नफुल, रिङ्ग, बुलाकी, अठजल, नौगेडी, सिउँदोमा सिन्दुर, दुई चुल्ठा बाटेकाहरू । अनि आमा भाउजुहरूका कपाल बाटेका दृश्य । टोल्लिन्छु अनायास । कल्पनाको सागरमा हराउँछु । भावनाको जंघार तर्ने प्रयासमा लाग्छु । निधारमा चौको आकारको ठूलो सिन्दुरको टिका, घुँडासम्म फरिया लगाउने हजुरआमाहरू र बाबा तथा दाजुभाइहरूको आधा टाउको देखिने घेरो फाटेको टोपीले पनि अलमल्याइरहेछ । ओ हो ! कसरी भन्नु विदेशी ? सक्दिन मात्र हैन कल्पना गर्नसमेत निक्कै अप्ठेरो परिरहेछ ।
सभ्यताको नाममा आफूलाई बिर्सिरहेको एक जमात र अन्धविश्वासको नाममा आफ्नोलाई जम्मै छाडेर परायलाई स्वीकार गरिरहेकाहरूको जत्था आँखा अगाडि झलझली नाच्छन् । बोल्ने कुनै शब्द निस्कदैँन छातिबाट । आफ्नोपन सबै सिध्याएर बाँच्ने मुर्कट्टाहरूको जमातमा म निरीहता बाँचिरहेछु । सिङ्गो विवशता एक्लै हाँसिरहेछ । आफुलाई नेपाली भने पनि नेपालीत्वको एक अंशसमेत नभएका मुर्कट्टाहरूको देशको म मान्छे मेरोपनलाई ज्यूँकात्यूँ जीवन्त राख्नेहरूलाई विदेशी मान्न सतोसत आफैं भन्न नपाउँ मरिकाटे तयार हुँदैन् ।

चसचस्ती मन घोच्छ । पोल्छ । चह¥याउँछ । दुःख्छ तर दुःखेर मात्र पनि त केही हुनेवाला त छैन । म त उनीहरूलाई नै पो साँच्चैको नेपाली देख्छु । हामीहरू त बाँच्ने नाममा मरिरहेछौं । मारिरहेछौं । हामीबीच सांस्कृतिक सीमाना नभए पनि भौगोलिक सीमाना त छँदैछ क्यारे । देशबन्धुहरू गाँसबासको, सीमाना रक्षाको र सुन्दर जीवनको लागि त्यहाँका बञ्जर र बाँझा जमिन फोड्नको निम्ति, खेतीपाती, पशुपालन तथा नयाँ बस्ती बसाउन वा लडाइँमा योद्धा भएर सयौं वर्षदेखि त्यतै बसिरहेका छन् । त्यसमा केही जीवन रक्षाको चाहना सामाजिक शोषण र थिचोमिचोले पनि काम गरेको होला ।फराकिलो परिवेशले रमाए पहिले । हाँसे-हँसाए । जीवन देखे । विश्वास रोपे । आसाम, मेघालय, भुटान, बर्मा र मलायसम्म पुगे । तर आज आसाम, भुटान, मणिपुर, जताततै नेपाली मन दुःखिरहेछन् । पनहरू ओइलिइरेछन् । अनि पितृभक्ति भनाउँदा मूल देशका हामी मात्र टुलुटुलु हेरिरहेछौं । रमिते भएर ङिच्च दाँत देखाइरहेछौं । लाज खोकिलामा थन्किएको छ । खुम्चिएको छ । चेप्टिएको छ । थेप्चिएको छ ।

केही असमान सुगौली सन्धिका कारण विदेशी बन्नपुगे । केही त्यसअघि र पछिका अमैत्रीपूर्ण गठबन्धनले गर्दा । “हो हजुर, साँच्चै हो, भौगोलिक दुरीले टाढा भयौं । राजनैतिक सीमारेखाले छुट्यायो तर संस्कृति, परम्परा, भाषा, रहनसहन चालचलन, धर्म र रीतिस्थिति भने छाड्न सकेनौं । भानुलाई बिर्सन सकेनौं, त्यसैले हामीसँगै उनी पनि हिँड्न थाले । परदेशमा स्वदेशको माया बढी हुन्छ क्यारे, त्यै भएर भानु नेपालमा भन्दा भारतीय नेपाली क्षेत्रलगायत बर्मा र भुटानको नेपाली बाहुल्य भागमा बसोबास गरिरहेछन् । त्यहाँ बेसी चिनिन्छन् र पुजिन्छन् पनि । हामीले पितृभूमिलाई बिर्सन नसकेकै कारण यति विघ्न दुःख पाइएको हो । आफ्नोपन नबिर्सदा देशै छाड्नुपर्यो । यस्तो नियति भोग्दै रहेका भए पनि कुनै गुनासो छैन एक अधबैंसेले आँखाभरि आँसु पार्दै प्रत्युत्तर दिए ।

ती दाइको विचारले ढक्क फुल्यो छाति । हो त नि, आफ्नोपन छाड्न नचाहेको कारण उहाँहरूले दुःख्न परिरहेछ । नत्र डुक्पाहरूको यति विघ्न ताडना सहनुपर्ने थिएन । सायद, उहाँका आँखाभित्र पीडाको अलापहरू बढ्दै थिए । अँ, मातृभूमि छाडेपछि अनेकौं विशेषण सहनुपरेको छ । विसङ्गति भित्रियो । विकृति जन्मियो । गलत प्रवृत्तिको सुरुवात भयो । श्रमसस्तो बन्यो । तिनीहरूले सस्तोमा काम गरिदिए । शिविर छाड्न दिनुहुन्न । यस्तैयस्तै आवाजहरू निःशुल्क सुनिरहनु भएको छ । “वाक्य भइसकियो सुन्दासुन्दा । के गर्नु हजुर ? उताकाले नेपाली भन्छन् । यताले भुटानी ।” आँखा हातले पुछ्नु हुन्छ दाइ । त्यसपछि प्रश्न सोध्न सकिंदैन । एक हुल केटाकेटी थुप्रिइसकेका छन् । हाम्रो लागि केही छ कि दाइ सोधिरहेजस्तो लाग्छ । तर मन पग्लिन पटक्कै मान्दैन ।

आँखामा दुई शिविरहरू नाचिरहेछन् झापा र मोरङका । अन्यत्र पनि यस्ता शिविरहरू छन् । सम्झन्छ र सोच्छ मन । यहाँको भन्दा पक्कै पनि भिन्न छैन होला त्यहाँको परिस्थिति । सोच्दासोच्दै क्याम्पको पुछारमा आइपुगेको छु । सूर्य बास खोजिरहेछन् म पनि पछि लाग्छु । भोलि घरको बाटो समात्नु छ । बन्धुहरूले गुमेको मातृभूमिको स्पर्श शीघ्र गर्न पाउन कामनाका साथ दमकको शान्ति टोलतिर तम्कन्छन् पाइला ।

मुटु आफसे आफ बोझिल बन्छ । बिचरा दाइ कति पीडा छ उहाँको छातिमा । यता र उता दुवैतिरको हुन सकिरहनु भएको छैन । शरणार्थीका नाममा यताको कर्के आँखा र नेपालीको नाममा उताको छड्के आँखा । दुईतिरबाट तिरस्कार तर पनि अभिलाषाभित्र हराइरहनु भएको छ । म अन्योलग्रस्त आँखा बोकेर भुटानभित्र छिरिरहेछु । नेपाली भाषी विवशता र बाध्यताको खाडलभित्र पुरिइरहेछन् । यता आउनेहरूको स्थिति पनि सन्तोषप्रद छैन । असन्तुष्टि छन्, दुवैतिर ठिङ्ग उभिइरहेका छन् । उताकालाई सुख न यताकालाई । एउटा जीवनको अर्थ जन्मन सकिरहेको छैन कतै पनि ।

आँखामा दुई शिविरहरू नाचिरहेछन् झापा र मोरङका । अन्यत्र पनि यस्ता शिविरहरू छन् । सम्झन्छ र सोच्छ मन । यहाँको भन्दा पक्कै पनि भिन्न छैन होला त्यहाँको परिस्थिति । सोच्दासोच्दै क्याम्पको पुछारमा आइपुगेको छु । सूर्य बास खोजिरहेछन् म पनि पछि लाग्छु । भोलि घरको बाटो समात्नु छ । बन्धुहरूले गुमेको मातृभूमिको स्पर्श शीघ्र गर्न पाउन कामनाका साथ दमकको शान्ति टोलतिर तम्कन्छन् पाइला । आँखा अचेल पनि प्रश्न गर्छन् यदाकदा, हैन साँच्चै ती विदेशी जस्तै छन् त ?


नवराज रिजाल


(नवराज रिजाल नेपाली साहित्य लेखन एवम् साहित्यिक पत्रकारिताका क्षेत्रमा सिद्धहस्त प्रतिभा हुन् । मूलतः आख्यान एवम् बालसाहित्यमा कलम चलाउने रिजाल पछिल्ला समयमा निबन्ध एवम् नियात्रा लेखनमा सक्रिय भएर लागेका छन् ।)