गंगा खडकाको लघुकथा “दूरी”


[ss_social_share]
लेखक : लेखापढी      ४ बैशाख २०७८, शनिबार २२:०८ मा प्रकाशित     
गंगा खडकाको लघुकथा “दूरी”

म गाउँदेखि हतारिएर मेरी बाल्यकालकी साथी कमलालाई हेर्न काठमाडौँ आएँ । उनी स्तन क्यान्सरले गर्दा अन्तिम अवस्थामा पुगेकी थिइन् । उनले मलाई असाध्यै सोधेकी थिइन् रे । मैले त उनको घर देखेकी थिइन् । मेरो भाइले देखेको छु, लगिदिन्छु भन्यो ।

म कहिल्यै काठमाडौँ नआएको मान्छे, मलाई त्यति मेलोमेसो थिएन । शनिबार भाइको पनि छुट्टी भएकाले दिदीभाइ कमलालाई भेट्न बानेश्वरतिर लाग्यौँ । भाइले पनि धेरै अगाडि घर देखेकाले कुन चाहिँ घर हो भनेर अलमलियो ।

“म आउँदा त यतिका घर नै थिएनन्, खै कुन हो कुन ?” उसले यही घर हो कि भनेर मोटरसाइकल रोक्यो । मैले घरको गेटबाट चियाएँ ।

“कसलाई खोज्नुभएको हो ?”

मैले उनको प्रश्नको उत्तर नदिइकन प्रतिप्रश्न गरेँ, “तपाईँ यो घरको घरबेटी हो ?”

“हो, मैले तपाइँलाई चिनिन नि ।” उनले भने ।

मैले भनेँ  “म कमलालाई भेट्न आएकी । उनी निकै बिरामी छिन् रे ।”

“यहाँ त कोही कमला नाम गरेको मान्छे छैन । बिरामी पनि कोही छैन ।” उनले गेट लगाउन खोजे ।

“मैले पनि धेरै अगाडि देखेको हो । घर बिर्सेँ । यतै हुनुपर्छ । हजुरले यतातिर कोही कमला नाम गरेको मान्छेलाई चिन्नुभएको छैन ?” भाइले रोक्दै सोध्यो।

“कमला त कति हुन्छन् कति । छैन मैले चिनेको ।” उनले झर्कँदै गेट बन्द गरे

हामी अलमलमा पर्यौं । नजिकैको घरको कौसीबाट एकजना महिलाले भनिन् “कमलाको घर त यो हो तर उहाँलाई हिजै लगेर हस्पिटल भर्ना गरिएको छ । आइ सि यु मा हुनुहुन्छ रे । घरमा कोही छैन, म चाहिँ यहाँ कोठामा बस्छु ।”

“उफ ! सहरमा घरहरूको दूरी यति नजिकै भएर पनि सम्बन्धको दूरी कति टाढा । महिनौँदेखि छिमेकी बिरामी भएको कुरा नि थाहा छैन भने मर्दाको मलामी जिउँदाका जन्ती कसरी बन्लान् ?” म सोच्दै गएँ ।


गंगा खडका

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.7K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.7K
    Shares