रोपारहरू पानी पनि माग्छन्, घाम पनि: प्रेमसिंह धामीका साहित्यिक रचनाहरू पुस्तकबाट


[ss_social_share]
लेखक : लेखापढी      ४ बैशाख २०७८, शनिबार २३:३३ मा प्रकाशित     
रोपारहरू पानी पनि माग्छन्, घाम पनि: प्रेमसिंह धामीका साहित्यिक रचनाहरू पुस्तकबाट

दुई घडी रात बाँकी छँदै घरकी बुढी माउ रोटी पकाइ तयार पार्छिन् । घरको मुली हलो गोरू लिएर खेतमा गइसकेको हुन्छ । केटाकेटीहरू उठदैछन कोही, उठी सके झुकमुक हुने बेला भयो । माउ बुढी घडी आकाशतिर हेर्छिन् । आँगनको रूखबाट ढुकुर कराउन लागेको छ, पानी नपर्ने सन्देश बोकेर । कर्मीहरू छमाछम आउन थालेका छन् । पर्म प्रथाले रोपाइँ हुने भएकोले गाउँ भरिकन लाठे र रोपारहरू एकै जनाको खेतमा भेला गर्न आउने गर्छन् ।

रोटी पकाई सकेर माउ बुढी आफ्नो नातनी हाँसालाई बुझाएर कर्मीहरूको लागि खेतमा रोटी लैजान अह्राउँछिन्, स्थानीय भाषाको गीतमा यसरी–
“झानु झानु हाँसा शालीखेत झानु
बारबिसो रोपनार दस बिसी हल बौस्या
भोक भोकाया सासा भोक भोकाया”

दस बिसी हली र बार बिसी रोपनारीहरू भोक लागि सक्यो हाँसा । रोटी लिएर जानु भन्ने माउको आदेश सुनेपछि नातनी हाँसा भन्छिन्, लोकगीतमै–
“मुइले नाइ धेक्या आमा शालीको बाटो
आमा शालीको बाटो”

आफूले नदेखेको बाटो आफ्नो बुवासित सिकाइ माग भन्दै माउ बुढी, फेरि लोकलयमै–
“तैइँले नाइ धेके तेरा बुवा सोध हाँसा
तेरा बुवा सोध”

हाँसा फेरि लोकभाषामा जवाफ दिन्छे–
“बुवाकी बलायाल्डुलो मुइ झौलो,
आमा मुइ झौलो”

यसरी हाँसा कर्मीहरूलाई कल्यौ, आन (बिहानको खाजा) लिएर गइसकेपछि सबैजना खेतमै बसेर रोटी खान्छन् । आकाश सफा भएकोले पोल्ने घाम लागिसकेको छ । हलीहरू आफ्नो काममा लागिसकेका छन । आली लाएर तयार भइसकेको छ । यतिकैमा बाह्रबिसी रोपनारी (यो संख्या तलमाथि पनि हुनसक्छ) एकै भाकामा लोक लहरको झन्का सुसेल्छन, यसरी–

“कसुकी खेताली साई छ रोपाई छ कसुका छोडिया बल छ ?”

उत्तर पनि सामूहिक रूपमा यसरी गाउँछन्–
“भुमिराज देवाकी सा“ई छ रोपाँई छ
रानीको छोडीया बल छ”

यसपछि सामुहिक रूपमा पहिलेकै प्रश्न गरिन्छ र उत्तरमा मुलीको नाम राखी लोकगीतमै–
“फलानाकी साई छ उसकी रोपाई छ
उसकी रानीको छोडिया बल छ”

काम गर्ने बेला भो, बुहारी आऊ भन्ने आफ्नो गीतमा यसरी दिन्छिन्–
“भाइर निकल पुतन बुहारी खेतमै छ
पति सार्ने बेला”
बुहारी सोध्छिन् काम गर्ने ढंग नपुगेर–
“के बौली समौली सिन्नुन्या पिठायो कै
बौली पतिब सारी द्यँुलो सासुरे माया को बौलो पति सारी द्युँलो”
सासु फेरि बताउँछिन् उचित तरिका–
“वौ बोली समाल्नु सिन्नुमा पिठायो दानौ बौलो पति सारी दिए”

यति भइसकेपछि सामुहिक रूपमा रोपाहा नारीहरू वातावरणको व्याख्या यसरी गर्छन्–
“ऐतिर रानी पति रे सारन्नी पैतिर घोडी
पुछ बालो, पायन घोडीका चोगर खाकर शरीर घोडी मोतीकी हार”

यसरी वातावरणको व्याख्या भइसकेपछि रोप्ने कार्य थालिन्छ । लोकगीत–
“भुमिराज देवा अख्यान चल्था गौल पडी
घमासान गौल पडी घमासान छुरीकी
छम्मछयाट छुरीकी छम्मछमाट डिला
सैनी बन्दुक पहडाट डिला
सनी चौली पडी झनीकार”

यसरी भूमिराज देवतापछि आफ्ना कुलदेवता, ग्रामदेवताहरूको गाम भन्दै पुरै गीत गाइन्छ ।

यही रीतले दिनभरि रोपाइँ गरिन्छ, कुनै वीर पुरुषको चैत, जुन वियोगान्त हुन्छ त्यही भैनको रूपमा गाइन्छ । धुत्र्याइँ, पोल्याइ र कुटनीतिक र पारिवारिक षडयन्त्रको विभत्स कथा हुन्छ भैनमा, भैन गाउनमा तन्मय, रोप्नामा व्यस्त रोपनारी समूहलाई जब घामले पोल्छ, उनी वरूणसित पानी माग्न लोकगीतका झन्काहरू झन्काउँछन्, यी कथाहरू साह्रै करुण हुन्छन् । इन्द्रवरूण सूर्यको मन पग्लेर आउँछ, गीत थालिन्छ–

“सरक लोग लेखिया कागज भन्दा लोक आया
भन्दा लोक आया कागजको त रानीले बाच्या
पहाडी शाहीले लेख्या कागज रूपा रानीले बाच्या
पहाडी शाहीको रूपा रानीसित ब्याह भयो
पहाडी शाहीको छोरा जन्मी गयो
छोरा जन्म्यो न्वारन भयो बहादुर शाही नउँ छोडियो
पहाडी शाहीले धर्मै पात्यो जोगी
दुध पात्यो बादुर शाही उनी बाड लाग्यो
छाची पात्यो जोग्यालो उवी बाड लाग्यो
भैरी पात्यो जोग्यालो उवी बाड लाग्यो
तमु हमु बादुर शाही गौडी चरौनौँ
तमु हमु बादुर शाही गुलेली खेलौनौँ
धर्म बाबु पहाडी शाही हो कारतोस खोज
हेर हेर बादुर शाही सरग जति हेर
इति सम्म राती तारा हुन्थ्या आज दिउस तारा लाग्या
बादुर शाही त काटौ पर खित्यो
धर्म यति जोग्यालो त कोट पुगि गयो
रूपारानी सोधन लागी
जोगी जति धाकडा बादुर शाही कथ गयो
धर्म जति माया मेरा भोल औछ
रूपारानी ढाल तरवार हेरन लागी
ढाल तरवार लोइ भौजी रैछ
बादुर शाहीको बागे त लोस भिजी रैछ
माथ कि साथ लोइ भिजी रैछ
पाउ जुतन लोह भिजी रैछ
जंगल बाद्रा कागले खाइ
जसी चैतको चौली झुर तसो बादुरको माया झुर
जसो असोज धुधुती धुर तसी बादुरको भैनी झुर
लाशको हाथी लाश झुर
खोडमा घोडा खोड झुर
फागको भौरी फाग झुर”

यो गीत गाइसक्दा नसक्दै रोपनारी हुल बौस्या, वरूण, इन्द्र सूर्य सबका सब रून्छन् । वातावरण करुणाले लबालब भरिन्छ । एकैछिनमा आकाशमा बादल आई पानी पर्छ । यो पानी पार्न कथा यसरी शुरू भएको छ— स्वर्गलोकबाट पहाडी शाहीले मृत्युलोकसम्म रूपा नामक सुन्दरीलाई प्रेमपत्र पठाउँछ, रूपाले उक्त पत्र पाएपछि प्रेमको आदान–प्रदानपछि विवाह हुन्छ, छोरा जन्मिन्छ, बादुर शाही नाम राखिन्छ, पहाडी शाहीले एउटा जोगी बालक धर्मपुत्र पालेको हुन्छ । अपेक्षाकृत नमीठो खाएर पनि बादुर शाहीभन्दा जोगी बाल ज्यादै बलियो भएर छिटछिटै बढ्छ । एकदिन जोगी बालक र बादुर शाही शिकार खेल्न जान्छन् । जोगीले झुक्याएर बादुर शाहीलाई मार्छ, यो दुखान्त कथा गाईसकेपछि रोपनारीहरू विलाप गर्छन् र पानी पर्छ । यो दुःख सुन्न नसकी यसरी निकैबेर पानी परिसकेपछि आषाढमै भए पनि जाडो हुन्छ । रोपनारीहरू लुगलुग काँप्छन्, जाडोले काममा बाधा पर्छ । अनि रोपनारीहरू आफूलाई परेको मर्का आकाशमा उड्ने चरा मार्पत् इन्द्र कहाँ पुर्याउन पठाउँछन्, यसरी गीत शुरू गरिन्छ–

“आघान सरग पियालो चडी दिए चडी सियालो बिनो
सेडला विदा कि बातु लैन जाण्डो बिदो दिन्ना भुमिराज देवा
विदो दिन्ना भुमिराज देवा
सेडला विदाकि बातुलैन बातुलैन जाण्यो”
यसपछि आ–आफ्नो कुलदेवता, ग्रामदेवता आदिको नामसितै गीत गाइन्छ–
“पचन देवाकी सेवा पुरी भैछ,
दिय गुसाइ सियालो बिदो”

लोकभाकामा इन्द्रको मुटुमा प्रभाव पार्ने शक्ति भएर हो वा आषाढको मौसम नै अस्थायी भएर हो अथवा रोपनारीहरूको सभ्यता, आराधना, विश्वास, आकाशले, प्रकृतिले हार मानेर हो पानी पर्छ । मागे सेलो बिदो हुन्छ । यसरी त विश्वास गरेका छन्, यतिका जनताले यी परम्परागत लोक लहरीहरूमा पानी पर्नु र बिदो हुनु प्रकृतिको धर्म र कर्म हो । पानी जुरे पानी पर्छ, घाम लाग्छ । गीतसित घाम पानीको सम्बन्ध नहोस नापनि यो गीतको जनजीवनमा विशिष्ट महत्व रहिरहन्छ । यो ढुकुटी जनतामा आफ्ना सुख सम्झाउने, दुःख सम्झाउने, रीत जगाउने, मेलापात, पर्व, चाडमा आफू रमाइ–रमाइ बाँच्ने ।


प्रेमसिंह धामी


(प्रेमसिंह धामी पश्चिम नेपालका एक कुशल राजनीतिज्ञ, राष्ट्रियताको आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो । यो रचना पुष्करराज भट्टले सम्पादन गर्नुभएको प्रेमसिंह धामीका साहित्यिक रचनाहरू पुस्तकबाट लिइएको हो ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares