कर्णालीमा प्रदेश सरकारले विश्वासको मत पायो


कर्णालीमा प्रदेश सरकारले विश्वासको मत पायो

काठमाडौं । ३ वैशाख
कर्णाली प्रदेश सरकार विश्वासको मत प्राप्त गरेको छ । प्रदेश सरकार अल्पमतमा परेर सरकार ढल्ने र आफ्नो सरकार बन्ने भनेर मख्ख भएको नेकपा (एमाले) को चाहनालाई आफ्नै पार्टीका माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गरेर असफल बनाइदिए । आज मुख्यमन्त्री शाहीको पक्षमा २२ र विपक्षमा १५ मत खसेसँगै प्रदेश सरकारले विश्वासको मत प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन नेकपा (एमाले) को प्रधानमन्त्री ओली पक्षले पहिल्यै पनि प्रयास गरेपनि माधव नेपाल पक्षले त्यो योजना असफल पार्दै आएको थियो । आज मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका ६ र नेकपा (एमाले) का ४ सांसदले विश्वासको मत दिएर सरकार बचाइदिए ।

यस घटनासँगै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) भित्रको माधव नेपाल पक्षबिच सहमति निर्माण भएर राष्ट्रिय राजनीतिमै नयाँ गठबन्धनको प्रारम्भ भएको छ । नेपाली कांग्रेस प्रारम्भमा तटस्थ बस्ने मनस्थितिमा रहेपनि पछि माओवादी केन्दलाई साथ दिएको थियो । कर्णालीमा भएको सहमति केन्द्र स्तरमा उच्च नेताहरू बिचको सल्लाहबाट भएको थियो । यो सहमतिका असर अन्य प्रदेशका साथै केन्द्र स्तरमा पनि देखिने सम्भावना बढेको छ । कर्णालीमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाको नेतृत्वमा फ्लोर क्रस भएको छ ।

चार सांसदलाई कारवाहीको सिफारिश, एकलाई स्पष्टिकरण माग
नेकपा (एमाले) कर्णाली प्रदेशको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कारवाहीको सिफारिश गरेको छ । बैठकले चारै जनाको सांसद पद निलम्बन गर्ने र पार्टीको  साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गरेको छ । कारवाहीमा पर्ने प्रत्यक्ष निर्वाचित सांसदमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही रहेका छन् । चारै जनाले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिएका थिए ।

त्यसरी नै समानुपातिक सांसद देवी वलीलाई चौबिस घन्टाभित्र स्पष्टिकरण माग गरिएको छ । उनले पहिले विश्वासको मतमा मतदान गरेपनि पछि आवश्यक संख्या पुगेको भन्दै आफ्नो मत सच्चाएकी थिइन् । नेकपा (एमाले) को संशोधित विधानले तत्काल कुनै निर्णय लिँदा पार्टी र संसदीय दललाई गम्भीर क्षति हुने देखिएमा संसदीय दलको नेताले सांसदलाई निलम्बन गर्ने व्यवस्था गरेको छ ।