मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने कर्णालीका तीन सांसद एमालेबाट निस्कासित


लेखक : लेखापढी      ४ बैशाख २०७८, शनिबार १९:१९ मा प्रकाशित     
मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने कर्णालीका तीन सांसद एमालेबाट निस्कासित

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले पार्टीको ह्विप उल्लंघन गर्ने तीन जनालाई कारबाही गरेको छ । शनिबार बसेको प्रदेश कमिटी बैठकले नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको प्रदेश इन्चार्ज गुलाबजङ शाहले जानकारी दिए ।

एमाले कर्णाली कमिटीका अध्यक्ष गोरख बोगटीले प्रेस वक्तव्य जारी गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेर उनीहरूले जघन्य अपराध गरेको बताएका छन् । 

“निजरूलाई प्रदेशसभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाट समेत निस्कासन गर्न भनी आएको सिफारिसलाई आधार बनाइ शुक्रबारदेखि लागू हुने गरी पार्टी सदस्यसहित पार्टी कमिटिका सबै जिम्मेवारीबाट निष्कासन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्कासन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार संसदीय दलको ह्विपविपरीत कर्णाली प्रदेशका चार जना एमाले सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरूले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीको सरकार जोगिएको हो ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!