‘बालपुस्तकका पाठकहरू’ विषयक अन्तरक्रिया सम्पन्न


[ss_social_share]
लेखक : लेखापढी      ४ बैशाख २०७८, शनिबार १५:३२ मा प्रकाशित     
‘बालपुस्तकका पाठकहरू’ विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं । वैशाख ४
हिजो वैशाख ३ गते विश्व बालपुस्तक दिवसको अवसरमा नेपाल बालसाहित्य समाज र रुम टु रिडको संयुक्त आयोजना तथा श्री जनविकास मा.वि, बल्खुसँगको सहकार्यमा ‘बालपुस्तकका पाठकहरू’ विषयक अन्तरक्रिया कार्यक्रम भव्यतामा साथ सम्पन्न भएको छ ।

श्री जनविकास मा.वि. बल्खु, काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणको  कार्यक्रममा ‘पाठक तथा समीक्षक क्लब’अन्तर्गत बालसाहित्यकार शान्ति सापकोटाद्वारा लिखित “टलक्क आँखा” बालकथा सङ्ग्रहको पाण्डुलिपिमाथि समीक्षा भएको थियो । ‘पाठक तथा समीक्षक क्लब’ कार्यक्रम नेपाल बालसाहित्य समाजले विगत निरन्तर रूपमा संचालन गर्दै आइरहेको कार्यक्रम हो । यस क्लबले बालपुस्तक तथा पाण्डुलिपिमाथि चर्चा÷समीक्षा गर्ने गर्दछ ।

नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरेको अध्यक्षतामा भएको यस चरणको कार्यक्रममा उक्त बालकथा सङ्ग्रहभित्र रहेका ५ ओटा बालकथामाथि बालबालिका तथा प्रौढ समीक्षकहरुले समीक्षा गरेका थिए । बालबालिकाहरू सम्झना चौधरी (कक्षा ८), सङ्गीता कालिकोटे (कक्षा ८), समीक्षा भण्डारी (कक्षा ७), मनिषा पुलामी (कक्षा ७) र गौरी धामी (कक्षा ७) तथा बालसाहित्य सर्जक ध्रुव घिमिरेले पाण्डुलिपिमाथि समीक्षा गर्दै महत्वपूर्ण सुझाव दिएका थिए । लेखिका शान्ति सापकोटाले महत्वपूर्ण सुझावहरुप्रति खुसी व्यक्त गरिन् । समीक्षक बालबालिकालाई पुरस्कार स्वरूप बालपुस्तक प्रदान गरिएको थियो । यस चरणको कार्यक्रम समापन गर्दै सभाध्यक्षले बालबालिकाका लागि लेखिने बालसाहित्य सामग्री बालबालिकालाई नै समीक्षा गराउनुको उद्देश्य, महत्वमाथि प्रकाश पारेका थिए ।

दोस्रो चरणको कार्यक्रम नेपाल बाल साहित्य समाजका उपाध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा शुभारम्भ भएको थियो । ‘बालपुस्तकका पाठकहरू’ विषयमा अन्तरक्रिया गरिएको उक्त  कार्यक्रममा नर्सरीदेखि कक्षा आठसम्मका उपस्थित सम्पूर्ण बालबालिकालाई बालपुस्तक वितरण गरिएको थियो । उक्त  कार्यक्रममा नेपाल बाल साहित्य समाजका कार्यसमिति सदस्य सजनी नौबागेले बालपुस्तक पठनका बारेमा आफ्ना अनुभव बताएका थिए । नेबासासका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेले विद्यालयमा बालपुस्तकालय र कक्षाकोठामा बालपुस्तकको आवश्यकतामाथि प्रकाश पारेका थिए ।

नेपाल बाल साहित्य समाजका महासचिव यशु श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । उनले बालबालिका, शिक्षक तथा अभिभावकका लागि बालपुस्तकको महत्व, आवश्यकताको चर्चा गरेका थिए । विद्यालयका प्र.अ. सीतादेवी ढकालले कार्यक्रम भव्य र प्रभावकारी भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरी बालबालिकाहरूलाई उत्प्रेरित गर्न आग्रह गरेकी थिइन् । कार्यक्रममा नेबासास कार्यसमिति सदस्य उद्धवप्रसाद प्याकुरेल, मञ्जु ज्ञवाली, आजीवन सदस्य लालबहादुर भुजेललगायत शिक्षक÷विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

बालपुस्तकले आपूलाई कसरी सकारात्मक परिवर्तन ग¥यो ? पठन संस्कृतिको विकास कसरी हुन्छ र किन आवश्यक छ ? बालपुस्तकको अपरिहार्यता किन र कस्तो रहेको छ भन्ने आफ्ना अनुभवसहितको मन्तव्य राख्दै यस सत्रका अध्यक्ष प्रमोद प्रधानले कार्यक्रम समापनको घोषणा गरेका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •