प्रस्तावित निजामती संघीय ऐनको विरोधमा सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन


प्रस्तावित निजामती संघीय ऐनको विरोधमा सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन

काठमाडौँ- देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै कर्मचारीहरुले विरोध प्रदर्शन गरेका छन् । बिहीबार राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाइमा कर्मचारीले विरोध प्रदर्शन गरेका हुन् ।

प्रस्तावित संघीय निजामती सेवा ऐनमा राखिएका प्रावधानहरूले कर्मचारीको वृद्धि विकासमा बाधा पुग्ने भन्दै त्यसलाई सच्याउन दवाव दिने उद्देश्यले प्रदर्शन गरेको कर्मचारीहरुले बताएका छन् । ‘ऐनमा राखिएका कतिपय प्रावधानले कर्मचारीहरुको वृद्धि विकासमा मार्ग अवरुद्ध हुने किसिमका छन् । यसैको विरोधस्वरुप सांकेतिक रुपमा कार्यालयको कामलाई बाधा नपर्नेगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छौँ, आन्दोलनमा उत्रिएका कर्मचारी प्रकाश भट्टराईले बताए । 

ऐनमा निजामती सेवामा बहाल रहेका कर्मचारीहरुले अर्को तहमा खुल्ला प्रतिस्पर्धाबाट पास गरेमा त्यसको सेवा अवधि गणना नगर्ने, उमेर हद र विभिन्न श्रेणीमा आन्तरिक प्रतिस्पर्धा नै गर्न नपाउने जस्ता व्यवस्था गरिएको छ ।

 उक्त व्यवस्था गरिएको निजामति संघीय ऐन संसदको राज्य व्यवस्थाबाट पारित भई प्रतिवेदनसहित प्रतिनिधिसभामा पुगेको छ ।