नन्दु उप्रेतीको नियात्रा–प्रेमपूर्ण सम्झना प्रिय प्रेमसिंह


नन्दु उप्रेतीको नियात्रा–प्रेमपूर्ण सम्झना प्रिय प्रेमसिंह

अहा ! खोला किनारमा बसेको सुन्दर बस्ती । ढुङ्गाका साना साना घरहरू । छेउमा खोलो बगिरहेको । वरिपरि खेतैखेत । मलाई मन प¥यो गोकुलेश्वर । घर र बाटाका भित्ताहरूमा जताततै राष्ट्रवादी कम्युनिस्ट नेता प्रेमसिंह धामीका विचारहरू लेखिएका रहेछन् ।लामो सम्बन्ध नभए पनि छोटो तर प्रिय सम्बन्ध कायम भएको थियो प्रेमसिंहसँग मेरो । राष्ट्रियताको भावनाले सधैँ ओतप्रोत धामी लाग्थ्यो नेपाल आमाको सच्चा राष्ट्रवादी सपूत थिए । जीवनका हरेक पलहरूमा राष्ट्रका दुःखले पिरोलिने थोरै मान्छेहरू मध्येका मान्छे ठान्थँे म उनलाई ।

 नेपाली राष्ट्रियतालाई अन्तरह्दयबाट बुझेका नायक थिए उनी । निर्भिकता र स्पष्टवादिताका लागि उदाहरणीय व्यक्तित्व थिए उनी । अन्याय–अत्याचारका प्रखर विरोधी प्रेमसिंह धामी राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सम्प्रभुता जगेर्ना गर्ने आन्दोलनको अग्रिम पङ्क्तिमा उभिएका योद्धा थिए ।

मुलुकको धेरै जमिन भारतीय अतिक्रमणमा परेको छ भन्दै प्रतिनिधि सभामा पहिलो पटक जानकारी गराउने जनप्रतिनिधि प्रेमसिंह धामी नै हुन् । उनै हुन् भारतीय सेना नेपालको भूमि कब्जा गरी बसेको खबर देशभर सम्प्रेषण गर्ने व्यक्ति । लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रै भूमि हुन्, भारतीय सेनालाई फिर्ता पठाउनुपर्छ भनेर संसद्मा गर्जिने साहसी नेता उनै हुन् । कालापानी किन दुख्दैन काठमाडौँलाई ? भन्दै काठमाडौँलाई मात्र हैन, सिङ्गै मुलुकलाई नै झकझकाउने पहिलो लेखक पनि उनै हुन् ।

मैले सम्झिने प्रयास गरेँ—प्रेमसिंह धामीले २०५४ सालमा लेखेको कालापानी किन दुख्दैन काठमाडौँलाई  भन्ने लेखको मर्म । त्यो लेख छापिएपछि सहरिया राष्ट्रवादी र सहरिया मानव अधिकारवादीहरूमा एक किसिमको झड्का परेको थियो ।

“सिक्किम भारतमा विलय हुँदा आन्दोलन गर्छ काठमाडौँ । भियतनाममा अमेरिकी सेना जाँदा आन्दोलन गर्छ काठमाडौँ । तर कालापानीमा किल्ला जमाएर भारतीय सेना बस्दा किन मौन छ काठमाडौँ ? खै असन र इन्द्रचोक, लगनखेल र जाउलाखेलमा राष्ट्रवादीहरूले जुलुस निकालेका ? के कालापानीको आगोले दार्चुलालाई मात्र पोल्नुपर्छ ? कालापानी काठमाडौँलाई किन दुख्दैन ? कालापानी सुशील प्याकुरेललाई किन दुख्दैन ? कालापानी पद्मरत्न तुलाधरलाई किन दुख्दैन ?”

यस्ता गम्भीर प्रश्न उठाएका थिए प्रेमसिंह धामीले २०५४ को भदौ २५ गते प्रकाशित बुधबारको जनआस्था साप्ताहिकमार्फत । मलाई लाग्छ सायद उनको छातीभित्र पीडा, आक्रोश र जागरणको ज्वाला दन्दनी दन्किरहेको थियो यसरी लेखिरहँदा । पक्कै मातृभूमिको अगाध प्रेमले बलिन्द्रधारा आँसु झरिरहेका थिए ।

कस्तो आश्चर्य ! आफ्नो लेख छापिएको दुई दिनपछि २७ गते नुवाकोटमा सवारी दुर्घटनामा उनको मृत्यु भएको थियो ।

मन, मस्तिष्क, भावना र चेतना सबैतिरबाट उठाएर सम्मान छ तिमीलाई । सलाम ! यो भूमिको अमर सपूतलाई ।

पाटनमै छुटेछ औषधीको झोला । नवेन्दुको अनुहार अँध्यारो भएको थियो । अब लगातार हिँड्दा विभिन्न खालका समस्या आउने सम्भावना हुन सक्छ । तर हाम्रो सानो डाक्टरका साथमा एक थोपो औषधी बाँकी रहेन । केही सिटामोल, एमजिट, डिटोल, डाइजिन, मसाज जेल आदि पाएका ठाउँमा किन्ने निधो भएपछि उज्यालो देखियो उनको अनुहार । मोहन लुइँटेलका क्यामरा र कपडाहरू पनि हतारमै छुटेछन् पाटनतिरै । गोकुलेश्वरबाट हिमालय बिष्टले फोन गरे तर भेटिने सम्भावना कमै छ भन्ने जवाफ आयो । बिचरा मोहनको ठुलै नोक्सानी भयो ।

दाल, भात, तरकारी मिठो थियो गोकुलेश्वरमा । राजेन्द्र मैनाली, सागर नेपाल, तारा इङनामले धेरै खाऊँ है बाटोमा भोक लाग्ला छिट्टै फेरि भन्दै खाना थप्न ल्याए । गर्मी निक्कै भए पनि धेरै नै खाइयो, खाना थपीथपी ।

बिदा माग्याँै स्थानीय बासिन्दासँग धेरैधेरै धन्यवाद भन्दै । उनीहरूले दिएका शुभकामनाका शब्द गुच्छाहरू पनि सम्हालेर छातीभित्र राख्याँै । यहाँको खानाको व्यवस्थापनमा विशेष भूमिका निर्वाह गर्ने पूर्णानन्द जोशीलाई झन् धेरै धन्यवाद ! दार्चुलामा पाइला टेक्नासाथ कालापानी मार्चको अभियानप्रति यो जिल्लाको वल्लो छेउका बासिन्दाहरूले अत्यन्तै प्रेमपूर्ण स्नेह प्रकट गरे । सहभागीहरूलाई धेरै कुराहरू सुनाए र उनीहरूले पनि सुने धेरै कुरा । उनीहरूले एकै मनले भने, “हामीलाई जस्तै दुख्नुपर्छ कालापानी सम्पूर्ण नेपालीलाई ।”

एकै स्वरमा उनीहरूले नारा पनि घन्काए–
कालापनी हाम्रो हो !
भारतीय सेना फर्की जा !!

(नन्दु उप्रेती मूलतः कवि र बालसाहित्य लेखक हुन् । वि.स. २०७७ चैतमा भूँडीपुराण प्रकाशनले उनको कृति कालापानी यात्रा प्रकाशनमा ल्याएको छ । यस कृतिमा वि.स. २०५५ सालमा भएको ऐतिहासिक कालापानी मार्चका सन्दर्भमा लेखकका अनुभूति र घटनाको चित्रण सजीव बनेर आएको छ । यस लेखमा नन्दुले प्रखर राष्ट्रवादी नेता प्रेमसिंह धामीको सम्झना गरेका छन् ।)