गैर आवासीय नेपालीले नेपालमा लगानी गर्नुस: केपी शर्मा ओली


गैर आवासीय नेपालीले नेपालमा लगानी गर्नुस: केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नयाँ वर्ष २०७८ का अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारबाट विभिन्न देशमा रहेका नेपालीलाई जुममार्फत सम्बोधन गर्दै उनले नेपालमा शान्तिपूर्ण र अनुकूल व्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैँले समेत नेपालमै लगानी गर्न विश्वरभरका गैर आवासीय नेपालीलाई आग्रह गरेका हुन् ।
 
प्रधानमन्त्री ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा नै गर्नु उपयोगी हुने सन्देश विदेशीसम्म पुर्‍याउनसमेत आग्रह गरे । “नेपालमा मजदूर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ, हडताल हुने अवस्था छैन भन्ने सन्देश आफू रहेको देशका लगानीकर्तालाई पुर्‍याइ दिनुहोस्”, उनले भने ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीले राजनीतिक अधिकारबाहेक सबै हक अधिकार समान ढङ्गले पाउनेसमेत बताए । “तपाईहरुले विदेशको नागरिकता लिनुभएको छैन भने स्वदेशमा राजनीतिक अधिकारसमेत पाइन्छ”, उनले भने । ओलीले आफू बसेको देश वा जन्मभूमि नेपालमध्ये कहाँको नागरिकता लिने भन्नेमा छनोट गर्ने अधिकार सम्बन्धित व्यक्तिकै रहेको बताए । 

ओलीले नेपाली जनता देशभित्र वा बाहिर जहाँ भए पनि सरकारले फरक भावनाले नहेर्ने बताए । “वर्तमान सरकार नेपाली डायस्पोराप्रति अत्यन्त प्रेमभाव र सहयोगी भाव राख्दछ तथा नेपाली हुनुको गौरव कायम रहोस् भन्ने चाहन्छ”, उनले भने । 

भर्चुअल कार्यक्रममा नेपालबाट प्रधानमन्त्री ओलीसँगै उनका परराष्ट्र मामिलाविज्ञ डा. राजन भट्टराई, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष भक्त गुरुङ, नेपालका लागि विभिन्न देशमा कार्यरत राजदूत, गैरआवासीय नेपाल सङ्घका पदाधिकारी सहभागी थिए । रासस