लेखापढी अनलाइनको प्रधान सम्पादकमा डा. पुष्करराज भट्ट नियुक्त


लेखक : लेखापढी      २ बैशाख २०७८, बिहीबार १७:०५ मा प्रकाशित     
लेखापढी अनलाइनको प्रधान सम्पादकमा डा. पुष्करराज भट्ट नियुक्त

लेखापढी डटकमको प्रधान सम्पादकमा डा. पुष्करराज भट्ट नियुक्त भएका छन् । नयाँ वर्ष २०७८ वैशाखदेखि लागु हुने गरि हेरिटेज मिडिया प्रा.लि. द्वारा संचालित “wwww.lekhapadhi.com” मा उनलाई नियुक्त गरिएकाे हाे । 

डा. भट्ट त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्य विषय लिएर आधुनिक नेपाली लघुकथामा युगचेतना विषयमा विद्यावारिधि सम्पन्न गरिसक्नु भएको छ । उहाँ नेपाली लघुकथामा एमफिल एबं विद्यावारिधि गर्ने नेपालकै  प्रथम अनुसन्धानकर्ता हुनुहुन्छ ।

भट्टलाई स्वागत गर्दै हेरिटेज मिडिया नेटवर्कका अध्यक्ष बिबिज जंग शाहले बढ्दो  प्रविधिको विकाससँगै लेखापढी अनलाइनलाई अझ प्रतिस्पर्धी बनाउन व्यवस्थापनले प्रधान सम्पादक नियुक्त गरेको जानकारी दिए। शाहले भने ‘प्रधान सम्पादकको  रूपमा भट्टकाे नियुक्त भएपछि व्यवस्थापनले लेखापढी अनलाइन अझ बढी प्रतिस्पर्धी र व्यवस्थित हुने अपेक्षा गरेको छ।’ 

डा. पुष्करराज भट्ट नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने समकालीन साहित्य त्रैमासिकका सम्पादकका साथै गोरखापत्र दैनिक अन्तर्गत डोटेली पेजका संयोजक हुनुहुन्छ । उहाँले लामो समयदेखि समसामयिक विषयका साथै साहित्यकला सम्बन्धित विषयमा कलम चलाउँदै आउनु भएको छ ।

डा. पुष्करराज भट्ट नेपाली साहित्य, समालोचना, बालसाहित्य, लोकसाहित्य एवम् अनुवादका क्षेत्रमा विगत दुई दशकभन्दा बढी समयदेखि सक्रिय हुनुहुन्छ । विशेषतः नेपाली आख्यान एवम् समालोचनाका क्षेत्रमा विशेष दखल राख्नुहुने डा. भट्टका दुई दर्जनजति पुस्तक प्रकाशित छन् भने उहाँले चार दर्जन जति पत्रिका एवम् पुस्तकको सम्पादन गरिसक्नु भएको छ ।
उहाँले ‘नेपाल विद्याभुषण क’, ‘क्षेत्रीय प्रतिभा पुरस्कार’, ‘युवा वर्ष मोती पुरस्कार’, ‘भानु स्वर्ण पदक’, ‘प्रश्रित प्रतिभा सम्मान’, ‘लघुकथा सम्मान’, ‘मनुमुक्त मानव लघुकथा गौरव सम्मान’, ‘मनुमुक्त मानव अन्तर्राष्ट्रिय लघुकथा सम्मान’ लगायत देशविदेशका तीन दर्जन जति प्रतिष्ठित पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।

नेपाली साहित्यका साथै हिन्दी एवम् डोटेली साहित्यका क्षेत्रमा क्रियाशिल डा. पुष्करराज भट्टले देशविदेशका अनेकन गोष्ठीमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।


नेपाली पत्रकारिता एवम् साहित्यका क्षेत्रमा उहाँले पुर्याउनु योगदानबाट लेखापढी अनलाइनले पक्कै पनि लाभान्वित हुनेछ भन्ने विश्वासका साथ उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!